निजगढ विमानस्थल बनाउने क्यानको मोडालिटीमा मन्त्रिपरिषद् सहमत, ५ सदस्यीय समिति गठन

बिजमाण्डू
२०८० माघ १८ गते १५:०६ | Feb 1, 2024
निजगढ विमानस्थल बनाउने क्यानको मोडालिटीमा मन्त्रिपरिषद् सहमत, ५ सदस्यीय समिति गठन

काठमाडौं। सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा दिने गरी निजगढ विमानस्थल निर्माणका लागि विदेशी लगानीकर्ता आकर्षित गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रस्ताव अघि बढाएको छ। क्यानको प्रस्तावबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्‍को बिहिबार बसेको बैठकले पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी विज्ञ घनश्याम ओझा, लगानी बोर्डका सहसचिव र क्यानका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य छन्।

क्यानले करिब एक महिनाअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कम्पनीलाई योसहित त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर्न दिने कार्ययोजना स्वीकृत गरी मन्त्रालयमा पेस गरेको थियो। क्यानको योजना अनुसार नै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका थिए।

अब अधिकारी संयोजक रहेको समितिले यस विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिनेछ। स्वदेशी वा विदेशी कम्पनीलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिन विद्यमान कानुन संशोधन गर्नुपर्छ। समितिलाई कुन कुन कानुनमा के कस्तो सुधार आवश्यक छ भनी सुझाव दिने कार्यदेश दिइएको मन्त्री किरातीको सचिवालयका एक सदस्यले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

कानुन अनुसार विमानस्थल निर्माण, संचालन र व्यवस्थापन अहिले क्यानको क्षेत्राधिकारभित्र पर्छ। निजगढ विमानस्थल निर्माणमा विदेशी लगानीकर्ता आकर्षित गर्न भन्दै निर्माण कम्पनीलाई थप तीन विमानस्थल व्यवस्थापन गर्न दिनुपर्ने क्यानको प्रस्ताव छ।

‘निजगढ विमानस्थल बनाउने कम्पनीलाई चार वटै विमानस्थल व्यवस्थापन गर्न दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो। तर यसका लागि कानुनमा सुधार गर्नुपर्छ। अब सरकारले गठन गरेको समितिले आवश्यक सुझाव देला,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘सरकारले फटाफट निर्णय गरी कानुनका व्यवधान हटाइए हामी एक वर्षभित्रै निर्माण सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाउन तयार छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत क्यानको प्रस्तावमा सहमत भएकाले मन्त्रिपरिषद्‍ले अध्ययन समिति गठन गरेको हो। ‘प्रचण्ड’ले सहमति दिएपछि क्यानको सञ्‍चालक समितिले मोडालिटीलाई अन्तिम रुप दिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण

आफ्नो सञ्‍चालक समितिबाट मोडालिटी पारित गर्नुअघि क्यानका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीलाई भेटेर प्रस्तावबारे ब्रिफिङ गरेका थिए। प्रस्ताव निकै राम्रो रहेको भन्दै ‘प्रचण्ड’ले यसमा राष्ट्रिय सहमति जुटाउने आश्‍वासन दिएका थिए।

क्यानको प्रस्ताव बाहिरिएपछि भारतीय अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको अडानी समूहले निजगढ विमानस्थल निर्माणमा चासो देखाएको छ। अडानी समूहका प्रतिनिधि अनिल पटानीले पुस अन्तिम साता काठमाडौं आएर क्यानका महानिर्देशक अधिकारीलाई भेटी निजगढ विमानस्थल निर्माणबारे क्यानको योजना सम्बन्धमा सोधेका थिए।

अडानी समूहले भारतमा ७ वटा विमानस्थलको व्यवस्थापन हेर्दै आएको छ। पटानीले विमानस्थल निर्माणका लागि अडानी समूहसँग पुँजी जुटाउने क्षमता र व्यवस्थापनका लागि आवश्यक अनुभव रहेको बताएका थिए।

पुस अन्तिम साता भारतको गुजरात पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अडानी स्वयंले पनि यस सम्बन्धमा चासो राखेका थिए।

मन्त्रिपरिषद्‍को गत कात्तिक २३ गतेको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउन पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यसको एक महिनापछि मन्त्रालयले क्यानलाई निर्माणको खाका तयार पार्न भनेको थियो।

क्यानले तयार पारेको मोडालिटीमा ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउने प्रस्ताव गरिएको छ। मोडालिटी अनुसार पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा मात्र विमानस्थल बनाइनेछ। यसका लागि सवा १ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।