निजगढ निर्माण र तीन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन लिन अडानीको चासो, क्यानसँग छलफल

वसन्तराज उप्रेती
२०८० माघ ३ गते १२:४१ | Jan 17, 2024
निजगढ निर्माण र तीन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन लिन अडानीको चासो, क्यानसँग छलफल
Photo : Business Today India

काठमाडौं। भारतीय अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको अडानी समूहले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन लिन चासो देखाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले निजगढ विमानस्थल बनाउने कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न दिने प्रस्ताव अगाडि बढाएपछि अडानी समूहले चासो देखाएको हो।

स्रोतका अनुसार अडानी समूहका अनिल पटानीले मंगलबार क्यानका महानिर्देशक प्रदीप अधिकारीसँग भेट गरेका थिए। भेटमा क्यानले अघि सारेको अवधारणाबारे पटानीले सोधेका थिए।

‘हामीले भारतमा सात वटा विमानस्थलको व्यवस्थापन हेर्दै आएका छौं। यो वर्ष बढाएर २० पुर्‍याउँदैछौं,’ पटानीले अधिकारीसँगको भेटमा भने, ‘हामीसँग व्यवस्थापन हेरेको अनुभव र आवश्यक पुँजी जुटाउन सक्ने क्षमता पनि छ।’

जवाफमा महानिर्देशक अधिकारीले विमानस्थल व्यवस्थापनको विषय प्रारम्भिक चरणमा रहेको बताएका थिए। ‘यो प्रारम्भिक चरणमा छ। धेरै सरकारी प्रक्रिया पूरा गरेर ग्लोबल टेण्डरका आधारमा कम्पनी छनोट होला,’ उनले भनेका थिए।

भेटमा चौधरी समूहबाट सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी सहभागी थिए।

क्यानको प्रस्ताव कस्तो हो ?

नेपाल नागरिक उड्डयन प्राधिकरण

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटीसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको जिम्मा लगाउने प्रस्ताव क्यानको संचालक समितिले पारित गरेर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि मोडालिटीलाई अन्तिम रुप दिइएको हो।

निजगढ निर्माण गर्नेलाई त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर्न दिने क्यानको प्रस्ताव छ। विमानस्थल निर्माणको काम एक वर्षभित्र सुरु गरिसक्ने भनिएको छ।

मोडालिटीमा ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउन प्रस्ताव गरिएको छ। मोडालिटी मन्त्रालयबाट स्वीकृत भएपछि पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा मात्र विमानस्थल बनाइनेछ। यसका लागि सवा १ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।

प्रधानमन्त्रीले उच्च प्राथमिकता दिएकाले फास्ट ट्रयाकमा काम अघि बढाउन भन्दै मन्त्रालयले स्वतन्त्र विज्ञको टोली गठन गर्न लागेको छ। यस्तै निर्माणमा प्रक्रियागत ढिलासुस्ती हुन नदिन आवश्यक व्यवस्था गर्न लागेको मन्त्रालय स्रोतले बताएको छ।

अडानीको एयरपोर्ट व्यवस्थापन कम्पनी कस्तो छ ?

अडानी इन्टरप्राइजेज अन्तर्गतको अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले हाल भारतका सात वटा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सम्हालिरहेको छ।

कम्पनीले अहमदावादको सरदार वल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, गुवाहटीको लोकप्रिय गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थल, जयपुर अन्तर्राष्ट्रिय विमानस्थल, चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थल लखनउ, मङ्गालुरु अन्तर्राष्ट्रिय विमानस्थल, मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल र थिरुवन्थपुरम अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर्दै आएको छ।

कम्पनीले आफूले व्यवस्थापन सम्हालेपछि विमानस्थलको स्वरुप नै परिवर्तन गरेर उत्कृष्ट सेवा दिंदै आएको छ। कम्पनीले भारतको मुम्बईमा निर्माणाधीन नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १ खर्ब रुपैयाँ लगानी गरिसकेको छ।