क्यानले बनायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खाका, प्रधानमन्त्री पनि सहमत

वसन्तराज उप्रेती
२०८० पुष ८ गते १८:०७ | Dec 24, 2023
क्यानले बनायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खाका, प्रधानमन्त्री पनि सहमत

काठमाडौं। नेपाल नागरिक उड्‍डयन प्राधिकरण (क्यान)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खाका बनाएको छ।

Tata
GBIME

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको डेढ महिनापछि क्यानले सबै अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन हेर्न तयार हुने कम्पनीलाई निर्माणको जिम्मा दिने गरी खाका तयार पारेको हो। क्यानले तयार पारेको खाकामा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन्।

निजगढका साथै त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा लिन तयार हुने कम्पनीलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिनुपर्ने खाकाबारे क्यानका महानिर्देशक प्रदीप अधिकारीले दाहालसामु केही दिनअघि ब्रिफिङ गरेका थिए। अधिकारीले प्रधानमन्त्रीसामु टेण्डरमा नै व्यवस्थापनको विषय समावेश गरे विमानस्थलको निर्माण सुनिश्‍चित हुने बताए।

‘महानिर्देशकज्यूले प्रधानमन्त्रीज्यूसामु निजगढ विमानस्थल निर्माणबारे हामीले तयार पारेको खाका पेस गरिसक्नु भएको छ। खाकाप्रति प्रधानमन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ,’ क्यानका एक उच्च अधिकारीले भने।

क्यानका महानिर्देशक प्रदीप अधिकारी। फाइल तस्बिर।

विमानस्थल व्यवस्थापनको विषय नै टेण्डरमा समावेश गरे त्यसले विदेशी लगानीकर्ता आकर्षित हुने क्यानको बुझाइ छ। ‘निजगढमा विमानस्थल बनाउन सरकारको स्रोतले पुग्दैन। विदेशी लगानीकर्ता त्यतिकै तयार हुने कुरा भएन। फेरि बनाएर मात्र भएन। सञ्चालन पनि हुनुपर्‍यो,’ क्यानका ती उच्च अधिकृतले भने, ‘विमानस्थल बन्ने सुनिश्‍चितता कसरी गर्ने भन्ने हो। हामीले कहलिएका विदेशी कम्पनीलाई भित्र्याउन व्यवस्थापन पनि दिन प्रस्ताव गरेका हौं।’

व्यवस्थापन गर्दा हुने कमाइबाट विदेशी कम्पनी विमानस्थल बनाउन तयार हुने ब्रिफिङ क्यानका महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई गरेका छन्। उनले यो प्रस्ताव अनुसार काम भए निजगढ विमानस्थल बन्ने र अरु विमानस्थल सञचालनमा देखिएको समस्या पनि समाधान हुने बताएका थिए।

डेढ वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा सातामा एउटाभन्दा उडान हुन सकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त सञ्चालनमा आएको एक वर्षमा एउटै नियमित उडान भएको छैन। ‘दुई वटा विमानस्थलमा गरेको लगानीको ‍औचित्यमाथि नै प्रश्‍ठ उठ्न थालिसक्यो। त्यसैले विमानस्थल फुल फ्लेजमा चलाउन विदेशीलाई व्यवस्थापन दिनुपर्ने हाम्रो निष्कर्ष हो,’ ती उच्च अधिकृतले भने।

निजगढमा विमानस्थल बन्ने सुनिश्‍चित हुने र अरु विमानस्थल पनि पूर्णरुपमा सञ्चालनमा आउने अधिकारीको ब्रिफिङपछि प्रधानमन्त्री दाहाल सकारात्मक भएका छन्। ‘यो प्रस्ताव निकै राम्रो लाग्यो। म यसमा राष्ट्रिय सहमति जुटाउन प्रयास गर्छु,’ दाहाललाई उद्यृत गर्दै क्यान स्रोतले भन्यो।

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा भएको एक दशक नाघिसकेको छ। तर अहिसलेसम्म ठोस प्रगति छैन। डेढ वर्षअघि सर्वोच्च अदालतले यसअघि चार किल्ला तोक्ने काम भएको क्षेत्रमा वातावरणीय क्षति हुने भन्दै विमानस्थल बनाउन नमिल्ने फैसला गरेको थियो।

त्यसपछि सरकारले हवाई विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा पूर्वअर्थसचिव रामेश्‍वर खनाल, विकास योजनाविद् डा. सुर्यराज आचार्य, सहरी विकासविद् डा. संगीता सिंह लगायत सदस्य रहेको समिति गठन गरेको थियो। त्यो समितिले एक वर्षअघि नै सरकारलाई निजगढमा विमानस्थल बनाउन मिल्ने प्रतिवेदन बुझाएको थियो।

मन्त्रिपरिषद्‍ले गत कात्तिक २३ गते समितिको सुझाव अनुसार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यही निर्णयमा टेकेर क्यानले विमानस्थल निर्माणको खाका तयार पारेको हो।

‘विमानस्थल निर्माणदेखि व्यवस्थापनका लागि हामीले खाका तयार पारेका हौं। खाकाप्रति प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ। हामी अब खाका अनुसार नै अगाडि बढ्छौं,’ क्यानका ती उच्च अधिकृतले भने।

चारकिल्ला तोक्ने तयारी

खाका अनुसार नै विमानस्थल निर्माण गरिने क्षेत्र तोकिंदैछ। क्यानले विमानस्थलको चार किल्ला तोक्ने क्षेत्र यकिन गरिसकेको छ। चार किल्लासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लाने तयारी रहेको क्यानकी आयोजना निर्देशक चाँदमाला श्रेष्ठले बताइन्।

विज्ञ टोलीले बुझाएको प्रतिवेदनअनुसार टाँगिया वस्तीमा विमानस्थल निर्माण कार्य अगाडि बढाउने प्रस्ताव तयार पारिएको उनले जानकारी दिइन्। ‘चार किल्ला घोषणालगत्तै वातावरणीय प्रभाव मूल्यांकन अगाडि बढाउनेछौं,’ उनले भनिन्।

कुल ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउने प्रस्ताव क्यानले तयार पारेको छ। पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा विमानस्थल बनाउने योजना छ। पहिलो चरणको निर्माण कार्यका लागि सवा खर्ब रुपैयाँ लाग्ने हिसाब क्यानले निकालेको छ।

पहिलो चरणमा दुईवटा धावन मार्ग, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको टर्मिनल भवन र आधारभूत सुविधासहितका पूर्वाधार बनाउने प्रस्तावबारे पनि क्यानले प्रधानमन्त्री दाहाललाई जानकारी गराइसकेको छ।