
अहिले भारत राममय भएको छ। छिमेकी देशमा रामलालाको मूर्तिको प्राणप्रतिष्ठा भइरहँदा नेपालमा पनि त्यसको चर्चा छ। जनकपुरबाट उल्लेख्य संख्यामा श्रद्धालु अयोध्या पुगिरहेका छन्। अयोध्यामा रामको मूर्ति प्राणप्रतिष्ठाको दिन पारेर केही स्थानीय तहले विशेष कार्यक्रम नै राखेका छन्।
सोमबार (माघ ८) गते भारतको उत्तर प्रदेशको अध्योध्यामा रामको मूर्ति प्राणप्रतिष्ठा हुँदैछ। यो भारतीय जनता पार्टी (बीजेपी)को दशकौंको ‘हिन्दुत्व’ नाराको शिलान्यास हो। सँगै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘राम राजनीति’ पनि।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद विवाद मुद्दाको अन्तिम सुनुवाई गर्दै उक्त स्थानमा राम मन्दिर नै बनाउन फैसला सुनाएको थियो। त्यसपछि सन् २०२० देखि मन्दिर निर्माणको थालनी भयो। साढे दुई करोड जनसंख्या रहेको सो जिल्लामा केन्द्र सरकारसँगै उत्तर प्रदेश सरकारले पनि अर्बौं लगानी गर्यो। बीजेपी सरकारले अयोध्यालाई ‘ब्राण्डिङ’ गर्दै ‘ग्रयाण्ड लुक’ दिएको छ।
भारतमा उत्सव त्यो बेला भइरहेको छ, जब त्यहाँ लोकसभा निर्वाचन हुने संघारमा छ। सोही निर्वाचनबाट मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने दाउमा छन्। त्यसैले पनि रामको प्राणप्रतिष्ठालाई राजनीतिसँग पनि जोडिएर हेरिँदैछ।
कुनै बेला बाबरी मस्जिद रहेको क्षेत्रमा अहिले राम मन्दिर निर्माण भइरहेको हो। मन्दिरको वरिपरि पूजा पसलहरु लस्करै खोलिएका छन्। भित्ताभित्ता रामसँग सम्बन्धित चित्र कोरिएका छन्। जताततै राम नामको झण्डा, रामको तस्वीर। रामसँग मोदी र बिजेपी नेताका तस्विर पनि टाँगिएका छन्। उत्तर प्रदेश सरकारअन्तर्गत विभागहरु सोमबारको कार्यक्रम भव्य बनाउन दिनरात लागिरहेका छन्।
राम मन्दिरमा रामको मूर्ति प्राणप्रतिष्ठा हुने दिन नजिकिँदा अयोध्यामा व्यापार ‘बुम’ भइरहेको छ। ६ महिना यता व्यापारले उछाल लिइरहेको त्यहाँका व्यापारी बताइरहेका छन्।

गएको एक दशकमा नदेखिएको परिवर्तन त्यहाँ केही महिनामै भइरहेको छ, रामको नाममा। रामको मूर्ति बनाउनेलाई भ्याइनभ्याई छ। हरेक दिन रामका सयौं मूर्ति बनिरहेका छन् अनि बिक्री पनि। मूर्ति मात्रै होइन पूजा सामाग्री, भाडाकुँडा, कपडा लगायतका सामानको माग पनि उच्च छ। व्यापारीहरुलाई ‘डिमान्ड’ अनुसार ‘सप्लाई’ गर्न हम्मेहम्मे परेको छ। मन्दिर क्षेत्र वरिपरि प्रसाद बेच्नेमात्रै ५०० भन्दा बढी पसल छन्।
अयोध्यालाई हिन्दुहरुको नयाँ गन्तव्यको रुपमा ‘ब्राण्डिङ’ गर्न मोदी सरकारसँगै प्रदेशको योगी आदित्यनाथ सरकारले कुनै कसर बाँकी छोडेको छैन। खर्बौं लगानीमा अयोध्यामा अन्तर्राष्ट्रिय विमानस्थल, स्मार्ट सिटी, रेलवे ट्रयाक, चौडा सडक, व्यापारिक मल, रेष्टुरेन्टसँगै सयौं प्रोजेक्टहरु सुरु गर्ने योजना छ।
हिन्दुका लागि नयाँ तीर्थ!
राम मन्दिरले विकासको मानक नै परिवर्तन गरिदिएको छ। एउटा मन्दिर निर्माणले विकासको रफ्तार बढेको हो।
अयोध्या आफैंमा पुरानो व्यापारिक सहर हो। तर, राम मन्दिर निर्माणसँगै उत्तर प्रदेशकै व्यापारिक हब बनिरहेको अयोध्या नयाँ तीर्थस्थलका रुपमा समेत उदाउने लगभग पक्का छ।
सन् २०१९ मा सर्वोच्च अदालतको आदेशपछि अयोध्या पुग्ने मानिसको संख्या ह्वात्तै बढेको छ। सन् २०२३ मा मात्रै करिब दुई करोड मानिस अयोध्या पुगेका थिए। यो वर्ष सो संख्या ४ करोड पुग्ने अनुमान छ। सोमबारको कार्यक्रममा सहभागी हुन विमान र रेलमार्गबाट अयोध्या जानेको घुइँचो छ। सडक मार्गको प्रयोग गरेर पनि हजारौं मानिस प्राणप्रतिष्ठाको साक्षी बन्न पुगिरहेका छन्। नेपालसँगै श्रीलंका लगायतका छिमेकी देशले अयोध्यामा कोसेली पठाइसकेका छन्।
अयोध्याले भारतबाट मात्र नभइ हिन्दु बाहुल्य देशहरुबाटसमेत पर्यटक तान्नेछ। सँगै, अन्य देशका अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि अयोध्या पुग्नैपर्ने ठाउँका रुपमा विकास हुँदैछ। त्यसैले त अयोध्यालाई भारतकै ‘भ्याटिकन सिटी’ का रुपमा समेत प्रचार गरिँदैछ।
हिन्दुवादी समूह विश्व हिन्दु परिषद्का प्रवक्ता भन्छन्, ‘करिब ५०० वर्षपछि भगवान् राम अयोध्या फर्किँदैछन्। यो हाम्रो भ्याटिकन सिटी हो। विश्वकै हिन्दुहरुको पवित्र स्थल।’

अयोध्यालाई ‘भ्याटिकन सिटी’ कै दर्जामा उभ्याउन हिन्दुवादी संघसंगठन लाग्दा मोदी र आदित्यनाथ सरकारसँगै व्यापारिक घराना पनि रामजन्मभूमि पुगेका छन्।
पर्यटकहरुलाई लक्षित गरेर अयोध्या क्षेत्रमा हस्पिटालिटी क्षेत्रको विकास तीव्र गतिमा हुँदैछ। पर्यटकको आवागमन ह्वात्तै बढ्ने सुनिश्चित हुँदा ५० ठूलो होटल बनाउन प्रदेश सरकारले स्वीकृति दिइसकेको छ।
राज्य सरकारका अनुसार हाल अयोध्यामा १७५ वटा साना र ठूला होटल छन्। प्राणप्रतिष्ठामा आउने भीडलाई लक्षित गर्दै राज्य सरकारले ५०० नयाँ गेस्ट हाउस सञ्चालनको अनुमति दिइसकेको छ।
हाल अयोध्यामा पर्यटकलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट र रिक्रिएसनल स्थान बनाउन चाहनेलाई सरकारले २५ प्रतिशत अनुदान पनि दिइरहेको छ। अयोध्याले भारतकै कुल गार्हस्थ उत्पादनमासमेत सकारात्मक छाप छाड्ने अनुमान छ।
गत आर्थिक वर्ष (मार्च २०२३) उत्तर प्रदेशको अर्थतन्त्र १४.३ प्रतिशतले बढेको थियो। यो वर्ष प्रदेशको अर्थतन्त्र १९ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरुको अनुमान छ। यो अयोध्यमा राम मन्दिर निर्माणकै कारण भएको अर्थशास्त्री बताउँछन्।

जग्गाको भाउमा पनि उछाल
राम मन्दिर निर्माणसँगै तीव्र विकासको पथमा अग्रसर अयोध्यामा जग्गाको मूल्य पनि आकासिएको छ। पछिल्लो समय त्यहाँ ठूला रियलस्टेट कम्पनीहरुको प्रवेश भएको छ। व्यापारीदेखि कलाकारहरुले समेत अयोध्यामा प्ल्ट किनेको खबर सार्वजनिक भएका छन्। मन्दिर निर्माण हुनुअघि दुई लाख रुपैयाँ पर्ने जग्गाको अहिले ४० लाख पुगेको स्थानीय बताउँछन्।
उत्तर प्रदेश सरकारले अयोध्या (पहिला फैजावाद) मा सन् २०१७ देखि जग्गाको सरकारी दर बढाएको छैन। यो क्षेत्रमा जिल्ला प्रशासनले तय गरेको ‘स्ट्यान्डर्ड रेट’ कै आधारमा जग्गाको मूल्य तोकिन्छ। यही आधारमा जग्गा खरिद बिक्री गर्नेले सरकारलाई ‘स्ट्याम्प ड्युटी’ तिर्नुपर्छ।
यद्यपि, पछिल्लो ४ वर्षमा अयोध्यामा जग्गाको मूल्य १० गुणाभन्दा बढीले बढेको छ। अहिले अयोध्याको जग्गा खरिद बिक्रीमा ‘ज्वारभाटा’ आएको विश्षेलकहरुको टिप्पणी छ।
लखनउ-गोरखपुर राजमार्गबाट राम मन्दिरसँगै जोडिने सडकका वरिपरिका कमर्सियल प्रपर्टीको मूल्य आकासिएको छ। हाल प्रति वर्ग फिट ५ करोडभन्दा बढी मूल्यमा पनि जग्गा बेच्न जग्गाधनी तयार छैनन्। पहिला ‘बिघा’ मा कारोबार गर्ने किसान अहिले ‘बिस्वा’(वर्ग फिट) मा कारोबार गर्न थालेका छन्।

प्रदेश सरकारले अयोध्यालाई ‘ब्राण्डिङ’ गर्दै विकास गर्न अयोध्या विकास प्राधिकरण नै गठन गरेको छ। सन् २०२२ मा सो प्राधिकरणले ‘अयोध्या महायोजना २०३१’ गुरुयोजना (मास्टरप्लान) सार्वजनिक गरेर काम गरिरहेको छ। सो गुरुयोजना अन्तर्गत १३३ वर्ग किलोमिटर जमिन छ। ती क्षेत्रका जग्गा गुरुयोजनाअन्तर्गत मात्रै खरिदबिक्री गर्न सकिन्छ।
पहिला अव्यवस्थित भनिएको अयोध्या राम मन्दिरसँगै व्यवस्थित बन्दैछ। नक्सा बिना घर बन्ने गरेकोमा अब त्यसो गर्न पाइने छैन। अयोध्याको राम मन्दिरको आसपास क्षेत्रलाई धार्मिक स्थलको रुपमा राखिएको छ। गुरुयोजनाअन्तर्गत आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्र छुट्याइएको छ। मन्दिर नजिकैको करिब ३ हजार एकड जग्गालाई सरकारले ‘ग्रीन बेल्ट’ घोषणा गरेको छ। जहाँ सरकारको स्वीकृति बिना कुनै परिवर्तन गर्न पाइने छैन। जग्गा खरिदबिक्री गर्न चाहनेले मास्टरप्लानअन्तर्गत रहेर नै कारोबार गर्नुपर्छ।
मन्दिर निर्माणसँगै व्यापारीहरु पनि अयोध्यामा आउन थालेका छन्। सडक, विमानस्थल, रेलवे स्टेसन, अस्पताल लगायतका पूर्वाधारमा सरकारको लगानीसँगै निजी क्षेत्र यहाँका जग्गातर्फ आकर्षित भएका हुन्।
सरकारको तर्फबाट १८७ वटा प्रोजेक्ट हाल अयोध्यामा सुरु हुँदैछन्। जसका लागि २६ वटा प्रदेश सरकारका विभाग दिनरात खटिएका छन्। ती सबै प्रोजेक्टको कुल लागत ३० हजार ५७० करोड भारु छ।
सरकारको यही लगानी देखेर अयोध्यामा अवसर खोज्दै ठूला रियल स्टेट कम्पनीहरु पनि भित्रिएका हुन्। व्यवस्थित आवास बनाउनका लागि करिब १ हजार ९०० एकड जमिन किसानलाई मुआब्जा दिएर अधिग्रहण भइसकेको छ।

नाम चलेका लोढा ग्रुप, ताज ग्रुप, हैदरावाद ग्रुप, तिरुपति बालाजी ग्रुपले होटल र टाउनशिपमा लगानी गरिरहेका छन्। मन्दिरको ७ किलोमिटर टाढा लोढा ग्रुपले २५ एकड जमिन खरिद गरेको छ। त्यहाँ उसले प्लटिङ सुरु गरिरहेको छ।
ठूला रियल स्टेट मात्रै होइन अयोध्या धर्मगुरुहरुको पनि ‘हब’ बन्ने देखिएको छ। पछिल्लो समय त्यस क्षेत्रमा कयौं नाम चलेका मठहरुले जग्गा खरिद गरेका छन्।
एकातिर विकासको रफ्तार भएसँगै अयोध्याका स्थानीयबासीले आफ्नै क्षेत्रमा महँगो मूल्यका कारण जग्गा खरिद गर्न सकेका छैनन्। यस्तै, नचाहँदा नचाहँदै पनि जग्गा बेच्नुपरेको दु:ख किसान र स्थानीयलाई छ।
‘राम राजनीति’
भारतमा ‘राम राजनीति’ नयाँ होइन। सयौं वर्षदेखि बाबरी मस्जिद रहेको क्षेत्रमा हिन्दुवादी संगठनले तोडफोड गर्दादेखि भारतमा ‘राम’माथि राजनीति भइरहेको छ। लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, अटल बिहारी बाजपेयी लगायतका नेताहरुले सुरु गरेको यो अभियानलाई अन्तत: नरेन्द्र मोदीले पुरा गरे।
सन् १९९० मा लालकृष्ण आडवाणीले सुरु गरेको रथयात्राले भारतमा ‘हिन्दुत्व’को परिभाषा नै बदलियो। उनीहरुकै स्कुलिङमा हुर्किएका मोदी अहिले ‘राम राजनीति’को सबैभन्दा उचाइमा छन्।

सन् २०१८ मै प्रदेश सरकारले उत्तर प्रदेशको नाम परिवर्तन गरेर अयोध्या राख्ने निर्णय गरेको थियो। त्यसबेला पनि मोदीका सारथी योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री थिए। बाबरी मस्जिदबारे मुद्दा विचाराधीन रहेकै अवस्थामा ‘अयोध्या’ नामकरणले मोदी र योगी त्यहाँ जसरी पनि राम मन्दिर बनाउने पक्षमा थिए भन्ने प्रष्टै बुझिएको थियो। सन् २०१९ मा सर्वोच्च अदालतले उनीहरुलाई त्यहाँ मन्दिर बनाउन बाटो खोलिदियो।
सोमबार भारतीय प्रधानमन्त्री मोदीले बहुप्रचारित राम मन्दिरमा रामको मूर्तिको प्राणप्रतिष्ठा गर्दैछन्। तर, आडवाणी र जोशी जस्ता दिग्गज नेतालाई सो कार्यक्रममा नआउन भन्नुले मोदीले अयोध्यामा ‘वान म्यान सो’ गर्न खोजेको टिप्पणी गर्नेहरु पनि छन्।
विपक्षी दलहरु पनि प्राण प्रतिष्ठामा जाने नजाने दोधारमा छन्। भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले सोमबारको उत्सवलाई आरएसएस र बीजेपीले ‘मोदीको राजनीतिक कार्यक्रम’ बनाएको भन्न भ्याए। उनले प्राणप्रतिष्ठा कार्यक्रम मोदी र आरएसएसलाई केन्द्रित गरेर ‘डिजाइन’ गरेको आरोपसमेत लगाएका छन्।
सन् २०२४ मा भारतमा लोकसभा निर्वाचन हुँदैछ। त्यसैले मोदीले हतारहतारमा राम मन्दिरमा प्राणप्रतिस्था गर्न लागेको आरोप लागिरहेको छ। किनभने – राम मन्दिरको निर्माणको काम सकिएको छैन।
मोदीलाई यो समारोह आयोजना हुँदै गर्दा तब ‘सेटब्याक’ लाग्यो जब शंकाचार्यहरुले प्राणप्रतिष्ठामा नआउने घोषणा गरे। मन्दिरको निर्माणकार्य सम्पन्न नभएको भन्दै उनीहरुले अपूर्ण मन्दिरमा रामको प्राण प्रतिष्ठामा नआउने बताए। शंकराचार्यहरुको अभिव्यक्तिपछि विपक्षी दलहरु मोदीप्रति थप आक्रामक देखिए।
शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले त प्रधानमन्त्रीले धर्मनिरपेक्षताको सपथ लिएको भन्दै मोदीसँग कुनै पनि धर्म कार्यमा सहभागी हुने सिधा अधिकार नहुने टिप्पणी नै गरे। उनले मोदी धार्मिक मान्यता अनुसार मोदी यजमान बन्न नसक्ने समेत बताए।
‘दिव्यांग मन्दिरमा प्राणप्रतिष्ठा हुनै सक्दैन,’ उनले भनेका छन्।

शंकराचार्यहरुको आपत्तिपछि अन्य धर्मगुरुहरुलाई पनि संकट आइलाग्यो। तर पनि, शंकराचार्यहरुको अडानको मान राख्दै आफूहरु भने प्राणप्रतिष्ठामा जाने धेरै धर्मगुरुहरुले बताएका छन्।
मोदी भने प्राणप्रतिष्ठा अघि दक्षिण भारतीय राज्यहरुको दौडाहामा लागे। त्यहाँका मन्दिरहरुमा पूजा गर्न व्यस्त देखिए। भारतीय मिडियाहरुका अनुसार प्राणप्रतिष्ठाका लागि मोदी हाल उपवास (व्रत)मा छन्। प्राणप्रतिष्ठाको ११ दिन अघिदेखि नै मोदीले उपवास राखेका हुन्। यो उपवासका क्रममा उनी तीर्थाटनमा लागेका हुन्। उनको सो यात्रालाई २०२४ को लोकसभा अभियानकै संज्ञासमेत दिइएको छ।
राम मन्दिरको विवादबीच निर्माण र प्राणप्रतिष्ठाले भारतीय राजनीतिमा नयाँ युगको सुरुवातको संकेत भने गरेको छ।
(भारतीय र अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा तयार पारिएको आलेख)