फास्ट ट्रयाकमा सेनाको फाइल बल्ल सदर, ४३ सय ४५ रुख काट्न मन्त्रिपरिषद्ले दियो स्वीकृति



बिजमाण्डू
२०८० पुष १३ गते १९:२८ | Dec 29, 2023
फास्ट ट्रयाकमा सेनाको फाइल बल्ल सदर, ४३ सय ४५ रुख काट्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर

काठमाडौं। काठमाडौं-तराई फास्ट ट्रयाकमा ४ हजार ३४५ वटा रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा नेपाली सेनालाई रुख काट्न स्वीकृति दिएको हो।

Tata
GBIME
Nepal Life

सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको जानकारी दिइन्। ‘वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा काठमाडौं-तराई मधेश द्रुत मार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्त पालना गर्ने गरी मकवानपुर र बाराको राष्‍ट्रिय वनको कुल ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न र त्यो वनमा रहेका ४३ सय ४५ वटा रुख पोल कटान गर्न दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सेनाले रुख काट्ने अनुमतिका लागि गत जेठ २२ गते फाइल वन मन्त्रालयमा पठाएको थियो। प्रधानसेनापति प्रभुराम शर्माले एक साताअघि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रुख काट्ने अनुमति नपाएका कारण फास्ट ट्र्याकको काम सुस्त भएको बताएका थिए। उनले फाइल अड्काइरहने हो भने थपिएको म्यादभित्र पनि आयोजना पूरा नहुने जवाफ दिएका थिए। आयोजनाको म्याद २०८३ चैतसम्म छ।

सरकारले फास्ट ट्रयाक बनाउने जिम्मा साढे ६ वर्षअघि सेनालाई दिएको थियो। ४ वर्षमा पूरा गर्ने गरी दिइएको आयोजनामा अहिलेसम्म ३० प्रतिशत पनि काम भएको छैन।

सरकारले सान्जेन जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि रसुवामा १ हजार २१४ रुख काट्न स्वीकृत दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।