स्टार्टअपलाई प्रोत्साहित गर्ने गरी कार्यविधि बनाइँदै, २५ लाख ऋण ३ प्रतिशत ब्याजदरमा

बिजमाण्डू
२०८० पुष ८ गते १९:०८ | Dec 24, 2023
स्टार्टअपलाई प्रोत्साहित गर्ने गरी कार्यविधि बनाइँदै, २५ लाख ऋण ३ प्रतिशत ब्याजदरमा
तस्वीर: नेपाल उद्योग परिसंघ

काठमाडौं। नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले गरेको नेपाल स्टार्टअप फेष्ट सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुगेका ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएको परिसंघले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन्।

यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानी गर्न इच्छुक भएको विज्ञप्‍तिमा उल्लेख छ।

मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्‍वान गर्दा पाँच सयभन्दा बढी स्टार्टअपको आवेदन परेको थियो। त्यसमध्ये अन्तिम छनोटमा परेका ९ परियोजनालाई प्रस्तुतिको अवसर दिइएको थियो।

फेष्टमा हाम्रो पात्रो हेल्थले स्टार्टअप अफ द इयर, अल्लोइ प्रा.लिले बेष्ट इनोभेसन अफ द इयर, पेट मामाले कस्टुमर एक्सिलेन्स, डोको रिसाइकल्सले ग्रीन स्टार्टअप अफ द इयर र चायो बायोले सोसियल इन्टरप्राइज अफ द इयर अवार्ड पाएका छन्।

यस्तै इन्भेष्ट फर इम्प्याक्ट नेपालले इनेबलर्स अफ आन्टरपेनर्स र डा. प्रतिभा पाण्डेले वमन इन आन्टरपेनर्स अवार्ड पाए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अवार्ड प्रदान गरे।

मन्त्री रिजालले स्टार्टअपलाई प्रवर्धन गर्ने गरी सरकारले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा गरेको जानकारी दिंदै स्टार्टअप उद्यमलाई प्रोत्साहित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बताए।

उनका अनुसार स्टार्टअप उद्यमीलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी कार्यविधि बनाउने काम भइरहेको छ।