पेट्रोल र डिजलको आयात बढ्यो, १ खर्ब १२ अर्बको आयातमा सरकारलाई साढे ४१ अर्ब

बिजमाण्डू
२०८० पुष ८ गते १७:३३ | Dec 24, 2023
पेट्रोल र डिजलको आयात बढ्यो, १ खर्ब १२ अर्बको आयातमा सरकारलाई साढे ४१ अर्ब

काठमाडौं। चालु आर्थिक वर्षको ५ महिनामा पेट्रोल, डिजल र ग्यासको खपत बढेको छ। यो वर्ष साउनदेखि मंसिरसम्म ८ लाख ५४ हजार १५० किलोलिटर पेट्रोल, डिजल र मट्टितेल आयात भएको छ। यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशत बढी हो।

Tata
GBIME
Nepal Life

गत वर्ष साउनदेखि मंसिरसम्म ७ लाख ८२ हजार ५३३ किलोलिटर पेट्रोल, डिजल र मट्टितेल आयात भएको थियो। पेट्रोल, डिजल र मट्टितेलको आयात बढेपनि आयातमा भएको खर्च भने केही कम भएको छ।

मूल्य घटेकाले आयातमा भएको खर्च घट्न पुगेको हो। यसपालि ५ महिनामा ९१ अर्ब ५७ करोड रुपैयाँको पेट्रोल, डिजल र मट्टितेल आयात गरिएको छ। ती वस्तु आयातमा पोहोर ५ महिनामा ९३ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको थियो।

५३ अर्ब ९० करोड रुपैयाँको ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजल, २८ अर्ब ५५ करोड रुपैयाँको २ लाख ८१ हजार ९७० किलोलिटर पेट्रोल, ४५ करोड रुपैयाँको ४ हजार १३२ किलोलिटर मट्टितेल र ८ अर्ब ६६ करोड रुपैयाँको ७८ हजार ११२ किलोलिटर हवाई इन्धन आयात गरिएको हो।

पोहोर ५ महिनाको तुलनामा यसपालि डिजल ६५ हजार ४२६ , पेट्रोल २ हजार ५११ र हवाई इन्धन ३ हजार ८९२ किलोलिटर बढी भित्रिएको हो। मट्टितेलको आयात भने २१२ किलोलिटर घटेको विभागको तथ्यांक छ।

यस्तै एलपी ग्यासको पनि खपत ४ प्रतिशत बढेको छ। भन्सार विभागको तथांक अनुसार गत वर्ष साउनदेखि मंसिरसम्म २० करोड ६३ लाख ९४ हजार ६१६ किलोग्राम एलपी ग्यास आयात गरिएकामा यसपालि ५ महिनामा २१ करोड ४२ लाख ९० हजार ८७० किलोग्राम भित्र्याइएको छ। ग्यास आयातमा यसपालि २० अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ।

१ खर्ब १२ अर्ब २३ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयातमा सरकारले ४१ अर्ब ५४ करोड रुपैयाँ भन्सार संकलन गरेको छ।