
काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन्। जोशी अघि विश्वास ढकाल कम्पनीको अध्यक्ष थिए।
फोनपेको बोर्डमा अध्यक्ष जोशीसहित सिद्धान्त ठकुरी र सम्भव सिरोहिया निर्देशकको रुपमा छन्। जोशी फोनपेको माउ एफवानसफ्ट ग्रुपको स्वतन्त्र निर्देशकसमेत हुन्। फोनपेको स्वतन्त्र निर्देशकको दायित्व पनि जोशीसँगै छ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड आइपीओ जारी गर्ने तयारीमा छ। जसका लागि फोनपेले एनएमबि क्यापिटलसँग सम्झौतासमेत यसअघि नै गरिसकेको छ। आइपीओलगायतका प्राविधिक पक्षमा अब्बल ज्ञान भएका जोशीलाई फोनपेको अध्यक्ष बनाइएको हो।
जोशी नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पनि हुन्। उनी एनआइसी एसिया बैंक हुँदै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका व्यक्ति हुन्। जोशी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको जावलाखेल डिस्टिलरीको कार्यकारी निर्देशकसमेत भएका थिए।
फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र डिजिटल भुक्तानी नेटवर्क हो। सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।