नेप्सेमा ५ महिनायताकै उच्च कारोबार, करिब ५ अर्बको सेयर किनबेच, १५ अंकको गिरावट

बिजमाण्डू
२०८० मंसिर २५ गते १५:५० | Dec 11, 2023
नेप्सेमा ५ महिनायताकै उच्च कारोबार, करिब ५ अर्बको सेयर किनबेच, १५ अंकको गिरावट

काठमाडौं। सेयर बजारमा ५ महिनायताकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जमा सोमबार ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।

Tata
GBIME

यो कारोबार रकम असार १७ यताकै धेरै हो। त्यो दिन ५ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। नाफा बुक गर्नेहरु हावी हुँदा सोमबार उच्च कारोबार भएको हो। आइतबार नेप्से १११ अंकले उकालो लागेको थियो।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार घटाउनुका साथै नीतिगत दरहरु कम गरेपछि त्यसको प्रभावस्वरुप नेप्सेमा आइतबार तीन पटक सर्किट लागेको थियो।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रह्‍यो। यो कम्पनीको २५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। कम्पनीको सेयर मूल्य प्रति कित्ता १० रुपैयाँले बढेको छ।

यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, माउन्टेन इनर्जीको १४ करोड ४० लाख र शिवम् सिमेन्टको १३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

लगानीकर्ताहरु नाफा बुक गर्न सक्रिय हुँदा नेप्से भने घटेको छ। ६० अंकको उतारचढावका बीच नेप्से अन्तिममा १५.४० अंकले घटेको हो। परिसूचक १९४८.५७ बिन्दु कायम भएको छ।

प्रि ओपनिङ सेसनमा २५ अंकले बढेको बजार कारोबार खुलेको ५ मिनेटमै २४ अंकले घटेको थियो। त्यपछि फेरि बढेर १९८२ बिन्दुसम्म पुगेको नेप्से अपराह्‍न १ बजे १९२९ बिन्दुमा झरेको थियो।

लगानीकर्ताले गिरावटलाई सामान्य करेक्सनका रुपमा लिएका छन्। समता घरेलु लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यो कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशत अर्थात प्रति कित्ता ४७ रुपैयाँले घटेर ६१० रुपैयाँमा आइपुगेको छ।

तीन कम्पनीमा सर्किट

समग्र बजार घटेको दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रति कित्ता २४५.३० रुपैयाँ बढेको छ।