काठमाडौं। केही दिनअघि भन्सार विभागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउने गिरोह सक्रिय हुन थालेको सूचना आयो।
दुबईबाट ठूलै परिमाणमा सुन ल्याउने तयारी गरेको सूचना पाएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आफ्नो संयन्त्रलाई चनाखो रहन निर्देशन दिए।
संयन्त्रलाई परिचालन गर्दै सुनको अवैध तस्करी गर्ने गिरोह पक्राउ गर्न पौडेल आफू पनि सक्रिय रहेर अनुसन्धानमा खटिए। झण्डै दुई साता लामो प्रयासपछि बिहीबार राती त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित ४५ वर्षीय चन्द्र घले पक्राउ परेका छन्।
स्रोतका अनुसार उनीमाथि दुबईमा पनि निगरानी राखिएको थियो। दुई साताअघि गोप्य हिसाबले दुबईमै घलेको ‘रेकी’ हुँदै आएको थियो। उनले सुन किनेदेखि नेपाल आउँदासम्म सबै सूचना भन्सारले पाएको थियो। स्रोतका अनुसार घले बिहीबार चाँडैको फ्लाइटमा नेपाल आउने तयारी गरेका थिए। त्यो फ्लाइटमा अर्थसचिव कृष्णहरि पुष्कर पनि थिए।
तर घलेले त्यो फ्लाइटमा आएनन्। त्यसको केही समयपछि फ्लाइ दुबईको विमानमा चढेर घले नेपाल आउँदै थिए। उनी फ्लाइ दुबईबाट आउँदै गरेको सूचना यहाँ त्रिभुवन विमानस्थलका भन्सार कर्मचारीले पाइसकेका थिए।
विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डेसहितको टोली भन्सारमा ‘स्ट्यान्डबाई’ थियो। फ्लाइ दुबईको जहाज विमानस्थलमा अवतरण गरेपछि घलेभने अन्य सबै यात्रु झरिसकेपछि बाहिर निस्किन खोज्दै थिए। त्यहीबेला भन्सार कर्मचारी र प्रहरीले घलेलाई विमानबाटै नियन्त्रणमा लिएको थियो।
‘सुनको ठूलै गिरोह भएकाले सेटिङ हुनसक्ने आशंकामा हामीले विमानबाटै उनलाई नियन्त्रणमा लिएका हौं,’ भन्सारका एक कर्मचारीले भने, ‘विमान अवतरण हुने बित्तिकै फोनमार्फत सूचना चुहिने र सुन छाडेर हिँड्नसक्ने भएकाले भित्रबाटै पक्राउ गरेका हौं।’