भारत बाहिर लगानी गर्दै आईपीएलका टिम, देशाइले भनेझै नेपाली क्रिकेटमा लगानी सम्भव छ?



बिजमाण्डू
२०८० मंसिर २१ गते १६:१२ | Dec 7, 2023
भारत बाहिर लगानी गर्दै आईपीएलका टिम, देशाइले भनेझै नेपाली क्रिकेटमा लगानी सम्भव छ?

काठमाडौं । नेपाली क्रिकेट टोलीले ‘ब्याक टू ब्याक’ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर अनुभव बटुलिरहँदा नेपालमा घरेलु संरचनाको अवस्था ठीक उल्टो छ। पुस महिनामा विवादस्पद नेपाल टी २० लिग आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान)ले त्यसपछि कुनै आधिकारिक राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छैन।

Tata
GBIME
Zonsen

नेपाली क्रिकेटमा लामो संरचनाको प्रतियोगिता प्रधनमन्त्री कप एकदिवसीय प्रतियोगिता हो। एक साताभित्रै सकिने यो प्रतियोगिता पनि नभएको एक वर्ष पुग्न लागेको छ। उसो त क्यान नेतृत्व फेरिएसँगै बसेको बैठकले प्रधानमन्त्री कपलाई केही संरचनागत फेरबदल गर्दै लामो ढाँचामा लैजाने निर्णय गरेको थियो। तर, यसको मिति अझै तोकिएको छैन।

यस्तो परिस्थितिमा राष्ट्रिय स्तरको घरेलु लिग नभइरहँदा राष्ट्रिय टोलीमा पुनरागमन गर्न खोज्ने र स्थान बनाउन खोज्ने नयाँ प्रतिभाहरुमा माथि उठ्न असम्भव जस्तै बनेको छ।

क्यानका सचिव पारस खड्काले केही हप्ता भित्र क्यालेन्डर सार्वजनिक गर्दै योजना अघि सार्ने बताएका छन्। घरेलु प्रतियोगिता बाहेक विभिन्न देशमा फ्रेन्चाइज लिगहरुको ड्राफ्टहरु हुन सुरु गरेका छन्। जसमध्ये भारतीय लिग इण्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन पुस ३ गते हुँदैछ। सबैभन्दा ठूलो फ्रेन्चाइज लिगका रुपमा लिइने आईपीएलमा पनि नेपाली खेलाडी अवसरको खोजीमा छन्।

आईपीएलमा प्रशिक्षणको अनुभव भएका नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ यसका एक कडी हुन सक्छन्। नेपालले टी २० विश्वकपको तयारी राजस्थान रोयल्सको एकेडेमीमा गरेको थियो। नेपालमा फ्रेन्चाइजको दुरावस्थाबीच देशाइले आईपीएलका फ्रेन्चाइजीहरुले नेपालमा लगानी गर्नु राम्रो हुने बताएका छन्।

क्यानको कार्यसमितिको असोज ९ गते बसेको बैठकले सन् २०२४ को मार्च अप्रिल महिनामा आफैँ नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने निर्णय गरेको थियो। यसैबीच भारत पुगेका देशाइले आईपीएलका टिमलाई लगानी गर्नका लागि नेपाल क्रिकेट राम्रो विकल्प भएको बताएका हुन्। प्रशिक्षकको जिम्मवारी सम्हालेयता नेपाली क्रिकेटमा ह्वात्तै सकारात्मक परिवर्तन ल्याउन सफल देशाइले स्पोर्ट्स बुमसँगको अन्तर्वार्तामा नेपाली क्रिकेटको चुनौतीबारे बताएका हुन्।

देशाइले नेपाली खेलाडीमा ‘ट्यालेन्ट’ रहेको र उनीहरूलाई एक्सपोजर चाहिएको भनेका छन्।

‘मलाई थाहा छ यी केटाहरू कच्चा छन्, धेरै राम्रोसँग पोलिस भएका छैनन्,’ देशाइले भनेका छन्, ‘तर मैदानमा आएर प्रदर्शन गर्दा उनीहरूले कस्तो हृदय ल्याएका छन्, तपाईंले हेर्नुपर्छ। थोरै सहयोग, राम्रो पूर्वाधारको साथ अलिकति एक्सपोजर पाए उनीहरू धेरै राम्रो प्रतिभा छन्।’

देशाइले टीयू क्रिकेट मैदानमा ट्रेनिङ उपकरणको कमजोर अवस्थाबारे चर्चा गर्दै बलिङ मेसिनहरुलगायत हरेक प्रदेशमा क्रिकेट मैदानमा आवश्यकता देखिएको बताएका छन्। टेस्ट प्लेइङ नेशनसँगको खेलका लागि पूर्वाधारमा सुधारको आवश्यकता रहेको उनको मत छ।

नेपाल टी २० लिगलाई व्यवसायिक हिसाबले अघि बढाउने हो भने ३ करोड हाराहारी जनसंख्या भएको नेपाली क्रिकेटमा अझ ‘ट्यालेन्ट’हरु अघि आउने उनको विश्वास छ।

नेपालमा क्रिकेटको प्रसिद्धिबारे बुझ्न आईपीएलका फ्रेन्चाइजले नेपालमा आएर मैदानमा खेल र दर्शकको क्रेज हेर्नुपर्ने उनले बताएका छन्। नेपालबाट हालसम्म सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन्। आईपीएलका फ्रेन्चाइजीले भने अमेरिका, वेस्ट इण्डिज लगायतका देशका फ्रेन्चाइजहरुमा लगानी गरिसकेका छन्।

‘आईपीएलका फ्रेन्चाइजीहरूले नेपालमा लगानी गरेमा यो सबैका लागि रोमाञ्चक अवसर हुन सक्छ,’ उनले आईपीएल टोलीसँग नेपालको निकटतामा जोड दिँदै नेपाली क्रिकेटमा महत्वपूर्ण लगानीको सम्भावना रहेको बताउँदै भने।

नेपालको सन्दर्भमा देशाइले भनेजस्तो भारतीय पक्ष इच्छुक भएमा मार्च अप्रिलमा हुने भनिएको फ्रेन्चाइज लिग (एनपीएल) यसका लागि अवसर बन्न सक्छ। यसअघि अघिल्लो वर्ष सम्पन्न नेपाल टी २० लिगमा नेपालले सेभेनथ्री स्पोर्टसलाई साझेदार कम्पनी बनाएको थियो। यो प्रतियोगितामा अधिकांश क्लबका मालिक भारतीय, बेलायती र अमेरिकी नागरिक पनि थिए।

‘आईपीएलका मुख्य फ्रेन्चाइजीहरू अमेरिका पुगेका छन्। उनीहरुले त्यहाँ लगानी गरिरहेका छन्,’ देशाइ भन्छन्, ‘आईपीएलका  फ्रेन्चाइजीहरूले नेपाल भ्रमण गरेर प्रत्यक्ष खेलको अनुभव लिनुपर्छ। नेपालमा किन लगानी नगर्ने भन्ने प्रश्न नै उठ्दैन।’

देशाइले भनेजस्तो आईपीएलका फ्रेन्चाइज क्लबहरुले विभिन्न देशका लिगहरुमा लगानी गर्दै आएका छन्। जस्तै मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सको यूएईको फ्रेन्चाइजमा लगानी छ। त्यस्तै चेन्नइ सुपरकिंग्स, मुम्बई इण्डियन्स, सनराइजर्स हैदराबाद, लखनउ सुपर जायन्ट, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सको साउथ अफ्रिकाको लिगमा लगानी छ। त्यसबाहेक पञ्जाब किंग्स र कोलकत्ता नाइट राइडर्सको क्यारेबियन प्रिमियर लिगमा लगानी छ। तर, इकोनमिक टाइम्सको रिपोर्ट अनुसार बीसीसीआई फ्रेन्चाइजीको विदेशी लिगमा लगानी प्रति खुशी छैन र उनीहरुलाई यसमा प्रोत्साहन गर्ने पक्षमा छैन।

यही वर्ष अमेरिकामा सम्पन्न मेजर लिग क्रिकेटमा पनि आईपीएलको मुम्बई इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सका मालिकहरुले फ्रेन्चाइजी टीम लिएका थिए।

देशाइले यहि परिवेशमा नेपालमा घरेलु लिगहरु व्यवसायिक हिसाबमा अघि बढाएमात्र ‘बेन्च स्ट्रेन्थ’ बढाउन सकिने बताएका छन्। साथै सइद मुस्तख अली ट्रफीजस्ता प्रतियोगितामा सहभागिता मिल्ने हो भने खेलको स्तर बढेर जानेमा उनी विश्वस्त छन्। यसका लागि बीसीसीआईको पनि सहयोग आवश्यक पर्ने उनको मत छ।

क्यानमा आएको नयाँ नेतृत्व अहिले क्रिकेटको वार्षिक क्यालेन्डर बनाउनमा लागेको छ। क्यानका सचिव पारस खड्काले केही हप्तामा क्यानको वार्षिक क्यालेन्डर आउने बताइसकेका छन्।

पहिलो बोर्ड बैठकबाटै घरेलु प्रतियोगिता प्रधानमन्त्री कपको संरचनामा फेरबदल गर्ने निर्णय गरेको क्यानले केही नयाँ योजना अघि ल्याउन सक्छ। साथै एसिया कपको तयारी आईपीएलको फ्रेन्चाइजी राजस्थान रोयल्समा गरेको नेपालका खेलाडीले पनि अवसर पाउने सम्भावना रहन्छ। आईपीएलका सबै क्लबलाई ३० जना विदेशी खेलाडी आवश्यक परेको छ। आईपीएलको अक्सन डिसेम्बर १९ मा हुँदैछ।