बजाज, टीभीएसपछि यामाहाको एसेम्ब्ली प्लान्ट बिहीबार उद्घाटन, पहिलो लटमा एफजेड भीथ्री उत्पादन

शुक्र गिरी
२०८० मंसिर २० गते १२:०५ | Dec 6, 2023
बजाज, टीभीएसपछि यामाहाको एसेम्ब्ली प्लान्ट बिहीबार उद्घाटन, पहिलो लटमा एफजेड भीथ्री उत्पादन


काठमाडौं। बजाज, टीभीएस र रोयल इनफिल्डपछि नेपालमा यामाहाको पनि एसेम्ब्ली प्लान्ट बिहीबारदेखि संचालनमा आउने भएको छ। यामाहा बाइकको नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्क्स(एमएडब्लु)ले नवलपरासीको रामग्राममा निर्माण गरेको एसेम्ब्ली प्लान्ट संचालनमा आउन लागेको हो।

Tata
GBIME
NLIC

तर कम्पनीले भने यसलाई गोप्य राखेको छ। प्लान्ट उद्‍घाटनका लागि जापानबाट यामाहाका प्रतिनिधिहरु पनि नेपाल आएका छन्। स्रोतका अनुसार पहिलो लटमा कम्पनीले यामाहाको एफजेड एफआई भी थ्री मोडल उत्पादन गरेको छ। केही महिना अगाडिदेखि नै कम्पनीले परीक्षण उत्पादन गरिसकेको छ। जापानबाटै आएको प्राविधिक टोलीले बाइकको परीक्षण तथा प्रमाणीकरण गरेको थियो।

यामाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्ब्ली गर्न एमएडब्लु इन्टरप्राइजेजले केही वर्षअघि नै उद्योग विभागमा दर्ता गराएको थियो। यामाहाले डेढ अर्ब लगानीमा यो प्लान्ट स्थापना गरेको हो।

सरकारले सवारी साधन एसेम्बल्ड गर्दा आकर्षक छुट दिएपछि एसेम्ब्ली प्लान्ट लगाउने प्रतिस्पर्धा सुरु भएको थियो। त्यसमा पनि बजारमा प्रतिस्पर्धी कम्पनी बजाज र टीभीएसले नेपालमा एसेम्ब्ली प्लान्ट लगाएपछि यामाहालाई दबाब परेको थियो।

बजाज र टीभीएसले एसेम्ब्ली प्लान्ट लगाएपछि मोरङ अटोवर्क्सले उत्पादक कम्पनी यामाहालाई आग्रह गरेको थियो। यामाहाले सुरुमा एसेम्ब्ली प्लान्टका लागि कम चासो राखेको थियो। यही बीचमा बुलेट बाइक उत्पादक रोयल इनफिल्डले पनि नेपालमा एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याइसकेको छ।

कम्पनीका अनुसार प्लान्ट ८ बिघा जग्गामा निर्माण भएको छ। प्लान्टमा सतप्रतिशत स्वदेशी लगानी छ। प्लान्टबाट वार्षिक मोटरसाइकल ३१ हजार वटा र स्कुटर १९ हजार वटा एसेम्बल्ड हुनेछ। तर अहिले तत्कालको लागि भने एफजेड भी थ्री पहिलो उत्पादन हुनेछ। त्यसपछि विस्तारै अन्य मोडलहरु उत्पादन गर्दै जाने कम्पनी स्रोतले जनाएको छ।

यो उद्योगबाट स्वदेशी तथा विदेशी गरी १ सय ४४ जनाले रोजगारी प्राप्त गर्नेछन्। जसमा दक्ष जनशक्ति धेरै उपयोग भएको स्रोतको दावी छ।

हाल यो कम्पनीले यामाहाका आर-३, आर-१५, फेजर-२५, एफजेड-२५ एफजेडएस भी-३, एफजेडएस भी-२, एमटी-१५, एमटी-१५, बीएस-६, एफजेड भी-२, एसजेड आरआर, स्यालुटो, एक्सटीजेड एफआई लगायत मोडेलका मोटरसाइकल बिक्री गर्दै आएको छ।

यसैगरी, स्कुटर सेग्मेन्टमा फ्यासिनो, रेजर, रेजर स्ट्रिट, रेल्ली एनम्याक्स, फ्यासिनो ११३, रेजर स्ट्रीट रेल्ली ११३ र रेजेड ११३ बिक्री गर्दै आएको छ। कम्पनीले सुरुमा धेरै बिक्री हुने मोटरसाइकललाई नेपालमा एसेम्बल्ड गर्ने योजना छ। कम बिक्री हुने मोडललाई विस्तारै योजनामा समावेश गर्नेछ।