काठमाडौं । २१ औं दोहा फोरममा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमण जाने भएका छन्। दुई दिनसम्म चल्ने सो फोरममा सहभागी हुन उनी मंसिर २३ गते कतार प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा उनले कतारका मन्त्रीहरुसँग ‘साइडलाइन’ वार्तासमेत गर्नेछन्। छलफलका क्रममा उनले हमासको कब्जामा रहेका बिपिन जोशीको रिहाइको लागि पहल गर्ने जनाइएको छ।
यसअघि साउदले नेपाल आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीलाई पनि बिपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।
जोशीको बारेमा उनले इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरासमेत गरेका थिए। साथै, उनले बिपिन जोशीका बुवा र आमासँग पनि भेट गरेका थिए।