काठमाडौं। अहिले सवारीसाधन चलाउन सिक्नेले इलेक्ट्रिक बाइक‚ स्कुटर वा गाडी जे चलाउँछु भने पनि सहज छ। तर‚ यसरी सिक्नेले इलेक्ट्रिकबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन्छु भन्यो भने पाइँदैन। किनकी हाम्रो यातायात व्यवस्था विभाग नै यसमा अपडेट छैन।
सवारीसाधनका प्रणाली र डिजाइन संसारभर अपडेट भइरहन्छन्। नेपालमा आयातित सवारीसाधन पनि अपडेटेड भएर आएका छन्। डिजल‚ पेट्रोल इन्जिन प्रविधि पुरानो भएको छ। हाइब्रिड‚ अटोमेटिक र विद्युतीय गाडीहरुको प्रयोग बढेको छ। तर‚ विभागले दिने सवारीचालक लाइसेन्सका लागि लिने परीक्षा प्रणाली पुरानै प्रविधिको छ।
सरकारले जसरी पछिल्लो समय दुई पाङ्ग्रे सवारीका हकमा स्कुटर र बाइकको वर्ग छुट्याएको थियो‚ त्यसैगरी विद्युतीय सवारी र अन्य सवारीको हकमा वर्ग छुट्याउनु ढिला भइसकेकाे छ। विभागले तयारी गरेकाे देखिँदैन।
बजारमा विद्युतीय र अटोमेटिक गाडीहरु आउने थालेको ५ वर्ष भइसकेको छ। तर लाइसेन्सको लिखित र ट्रायल सिस्टम सबै पुरानै छन्। परीक्षार्थीले ट्रायल दिने गाडीसमेत पुरानै छन्। स्कुटर र बाइकको लाइसेन्स ट्रायल वर्गीकृत गरेजसरी गाडीका प्रविधिका पनि अपडेट हुनुपर्ने बेला आइसकेको सरकारका पूर्वसचिव अर्जुनजंग थापाले बताउँछन्।
‘अपडेट र अपग्रेड दुवै गर्नुपर्ने बेला भएको छ। बजारमा उपलब्ध सवारीसाधन अनुसार लाइसेन्स परीक्षा प्रणाली अपग्रेड गर्नै पर्छ। सरकारको यो दायित्व हो‚’ उनले भने।
स्कुटरबाट ट्रायल पास गरेर लाइसेन्स लिनेले बाइक चलाउन नपाउने व्यवस्था छ। तर बाइकबाट ट्रायल पास गरेका चालकले भने स्कुटर चलाउन पाउँछन्। दुई पांग्रे सवारी मात्रै नभइ गाडीका हकमा पनि वर्गीकरण जरुरी देखिन्छ। पुरानो प्रविधि इन्जिनका गाडी र विद्युतीयका धेरै फङ्सन फरक छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल पनि लाइसेन्स ट्रायल परीक्षा प्रणाली सुधार गरिनुपर्नेमा सहमत छन्। अपग्रेड गर्न ढिला भइसकेको स्वीकार गरेका उनी भन्छन्, ‘परम्परागत तरिकाले नयाँ प्रविधिका गाडीहरुमा कसरी लाइसेन्स प्राप्त गरेर चलाउन सकिन्छ र !’ परीक्षा प्रणालीमा परिवर्तन भने झन्झटिलो भएकाे उनको प्रष्टीकरण छ।
‘यो प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्छ। अहिले यातायात व्यवस्था कार्यालयका सबै काम प्रदेश सरकारमातहत छ,’ उनले भने, ‘प्रदेश सरकारकै ऐेन र कानुनबमोजिम लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) भइरहेका छन्। यसलाई हामीले गाइड गर्ने काम हो। वर्गीकरण हामीले आफूखुसी गर्न मिल्दैन।’
इभी र अटोमेटिक गाडीहरु आइसकेको बेलामा परम्परागत ज्ञान र सीपले नचल्नेमा उनी सहमत छन्। ‘त्यही सिस्टमअनुसार हामी पनि अपग्रेड हुँदै जान ढिला भइसकेको छ। यसमा म सचेत छु तर प्रणालीमा फेरबदलको काम भने एक जनाले चाहदैमा गर्न सकिने होइन,’ उनले भने, ‘यसमा हाम्रो संशोधित ऐन आउनुपर्ने हुन्छ। यसले गर्दा यस्ता कामहरु धेरै रोकिएका छन्। हाम्रो २०४९ सालको ऐन पुरानो भइसकेको छ।’
उक्त ऐनले कल्पना नगरेको प्रविधि सवारीमा विकास भएर आइसकेको छ। ‘अहिले त्यो कानुन र अधिकार क्षेत्रभन्दा बाहिर गएर हामी काम गर्न सक्दैनौं। अधिकार क्षेत्रबाहिर गएर काम गर्न थालेपछि फेरि द्रुत बस संचालनको जस्तै अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले ऐनमा संशोधनको बहस अघि बढाइएका छन्। अपग्रेड भएर आउने कानुनले यस्ता कुराहरुलाई सम्बोधन गर्छ।’
अहिले नेपाल भित्रिएका प्राय सबै गाडीहरु अटोमेटिक गियरका छन्। इभी गाडीहरु नेपाली सडकमा बढिरहेका छन्। जसमा म्यानुअल गियर नै हुदैनन्। कतिपय पेट्रोल भर्सनका गाडीहरु पनि अटोमेटिक आएका छन्।
उकालो, ओरालो, पार्किङ तथा ट्राफिक जाम बस्दा लगाइने ह्यान्ड ब्रेक म्यानुअल छैन। पहिले ह्यान्ड ब्रेक म्यानुअल लगाउन पर्थ्यो भने अहिले ‘अटो होल्ड’ वा ‘हिल असिस्ट’ सिस्टम आइसकेको छ। जसमा स्वचालित रुपमा ह्यान्ड ब्रेक लाग्ने सुविधा हुन्छ।
यस्तै गाडी ब्याक गर्नका लागि अहिलेका मोडलमा साइड मिररको खासै आवश्यकता पर्दैन। पुरानो प्रविधिका गाडीहरुमा साइड मिररको आवश्यकता हुन्थ्यो र त्यही अनुसार ट्रायल परीक्षामा पनि ब्याक गर्दा साइड मिररहरुको प्रयोगलाई जोड दिइएको छ। अहिले आएका सबै गाडीहरुमा ३६० डिग्री क्यमरा भ्यु भएको डिजिटल क्लस्टर हुन्छ। जसले ब्याक गर्दा वा गाडीको मुभमेन्ट डिस्प्लेमा देखाउँछ।
यसैगरी लेन डिपार्चरको लागि पनि त्यही क्यमराले असिस्ट गर्छ। यसमा सेन्सर पनि हालिएको हुन्छ। जसले लेन क्रस गर्दा इन्डिकेटरले असिस्ट गर्छ। साइड लाइटहरु पनि एक पटक अन गरेपछि आफैं अफ हुने सिस्टमहरु आइसकेका छन्।
यस्ता धेरै फङ्सन अहिले र पहिलेका गाडीहरुमा फरक छन्। सवारी उत्पादक कम्पनीहरुले थपेर ल्याएका सुविधाले गाडी चलाउन निकै नै सजिलो बनाइसकेका छन्।
सवारीचालक लाइसेन्सको लिखित परीक्षामा भने पेट्रोल-डिजल इन्जिन गाडीहरुका बारेमा मात्र प्रश्न सोध्ने गरिएको छ। जस्तै- कुन स्पिडमा तुलनात्मक रुपमा इन्धनको खपत कम हुन्छ? प्रश्न इन्धन गाडीहरुमा मात्र लागु हुन्छ। तर‚ इभीका लागि त्यही अनुसार ब्याट्री खपत कसरी जोगाउने र रेन्ज बढाउने भन्ने कुरा महत्त्व राख्छ।
साथै गियर किन परिवर्तन गरिराख्नु पर्छ भन्ने प्रश्न पनि अहिले आएका गाडीहरुमा सान्दर्भिक हुँदैन। अहिलेका गाडीहरु अटोमेटिक गियरयुक्त हुन्छन्। यस्तै ओरालोमा गाडी पार्किङ गर्दा कुन गियरमा राख्नु पर्छ भन्ने प्रश्नमा पनि अहिले भएका गाडीहरुमा धेरै लागु हुँदैन। ‘अटो होल्ड’ र ‘हिल असिस्ट’ हुन्छ‚ जसले पार्किङ मोडमा राख्नेवित्तिकै ह्यान्ड ब्रेकको काम गर्छ।
यसैगरी विभागले राखेको विद्युतीय सवारीमा तलका मध्ये के हुँदैन भन्ने प्रश्नमा साइलेन्सर पाइप मात्र नहुने भनि सही उत्तर टिक लगाउन भन्ने गरिएको छ। तर इभीमा साइलेन्सर पाइपका साथै क्लच पनि हुँदैन।
गाडीको प्रविधिका परिवर्तन आएर सडकमा नयाँ-नयाँ गाडीहरु आइरहँदा चालक अभ्यस्त भइरहेका छन्। तर‚ सरकारी प्रणालीले पुरानै प्रविधि पछ्याउन छाडेको छैन। सवारीचालकको सीप सिकेर लाइसेन्स लिन पुरानै प्रविधिका गाडी चलाउन जान्नु बाध्यकारी बनाइएकाे छ।