न्यूजिल्याण्डको नयाँ सरकारले देशभर लागू गरेको धुम्रपान प्रतिबन्ध हटाउने तयारी गरेको छ। जसिन्डा अर्डेन सरकारले सन् २०२२ मा सन् २००९ पछि जन्मिएका बच्चाहरुलाई धुम्रपानमा प्रतिबन्ध लगाउने कानुन संसदबाट पारित गराएको थियो।
सो कानुन सन् २०२४ को जुलाईबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याउने तयारी थियो। तर अब भने कार्यान्वयन हुनुअघि नै कानुन खारेज गर्ने तयारी भएको छ।
भावी पुस्तालाई कुलतबाट बचाउने भन्दै सो प्रतिबन्ध लागू गरिएको थियो। त्यसको उद्धेश्य धुम्रपानका कारण हुने मृत्यु दर घटाउनुका साथै त्यसबाट स्वास्थ्य क्षेत्रमा खर्च हुने खर्बौं रुपैयाँ जोगाउनु थियो।
अक्टोबरमा भएको निर्वाचनबाट नेशनल पार्टी सत्तामा आएपछि क्रिस लुक्सन प्रधानमन्त्री बनेका थिए। उनको पार्टीले निर्वाचन प्रचारका क्रममा धुम्रपान प्रतिबन्ध हटाउने बताएको थिएनन्।
नयाँ अर्थ मन्त्री निकोला विल्लिसले धुम्रपानबारेको कानुन फेर्ने घोषणा गरेकी हुन्। जनस्वास्थ्य विज्ञहरुले भने सरकारको उक्त कदमको आलोचना गरेका छन्। सो नीतिका कारण नयाँ पुस्ता कुलतमा फस्ने उनीहरुको तर्क छ।
प्रधानमन्त्री लुक्सन आफै पनि यो कानुन परिमार्जन हुनाले संकट बढ्ने बताइरहेका छन्। गठबन्धन सरकार भएका कारण उनलाई धुम्रपान सम्बन्धी नीति परिवर्तन गर्न दबाब छ। हाल नेशनल पार्टीले पपुलिस्ट न्यूजिल्याण्ड फस्ट र लिबरिटियन एक्ससँग मिलेर गठबन्धन सरकार चलाइरहेको छ। ती दलले धुम्रपान नीति फेर्न दबाब दिइरहेका छन्।
निर्वाचनमा जिते पनि गत शुक्रबारमात्रै ती दलसँग मिलेर गठबन्धन सरकार बनाउनेबारे सहमति भएको थियो। नेशनल पार्टीले निर्वाचनमा ३८ प्रतिशत मत ल्याउँदा न्यूजिल्याण्ड फस्टले ६ प्रतिशत मत ल्याएको थियो। ६ प्रतिशत मत ल्याएको सो पार्टीले धुम्रपान कानुन खारेज हुनुपर्ने माग राख्दै आएको छ।
निम्न र उच्च आय भएकाहरुको कर कटौती गर्न धुम्रपानमा प्रतिबन्ध हटाउन लागिएको तर्क नयाँ सरकारले दिएको छ।
सरकारले यो कानुन परिमार्जन गर्न सांसदबाट पारित गराउनुपर्ने हुन्छ। दुईवटा साना दलसँगको गठबन्धनको नेतृत्व गरिरहेको नेशनल पार्टीले सजिलै संसदबाट धुम्रपान सम्बन्धी प्रतिबन्धको कानुन खारेज गर्न सक्छ। संसदमा उनीहरुसँग बहुमत छ।
सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा धुम्रपान प्रतिबन्धको नीतिले न्यूजिल्याण्डको स्वास्थ्य क्षेत्रमा आउने २० वर्षमा खर्च हुने ७९० मिलियन अमेरिकी डलर (१० खर्ब रुपैयाँ भन्दा बढी) बच्ने नतिजा निकालिएको थियो। सन् २०२५ सम्म न्यूजिल्याण्डले धुम्रपान सेवन गर्नेको संख्या ५ प्रतिशतमा झार्ने उद्धेश्य लिएको थियो।