जग्गा कित्ताकाटमा ७७ प्रतिशतको उछाल, सिजन लागेसँगै मन्दीबाट घरजग्गा हुन लागेको हो बाउन्स ब्याक?

उन्नत सापकाेटा
२०८० मंसिर ११ गते ०६:२६ | Nov 27, 2023
जग्गा कित्ताकाटमा ७७ प्रतिशतको उछाल, सिजन लागेसँगै मन्दीबाट घरजग्गा हुन लागेको हो बाउन्स ब्याक?


काठमाडौं। गत आर्थिक वर्षको पहिलो चार महिना साउनदेखि कात्तिकसम्म देशभरका ३९ हजार साविक जग्गालाई टुक्राएर ७७ हजार ३१३ कित्ताकाट गरियो। ठिक एक वर्षपछि अर्थात् चालु आर्थिक वर्षको पहिलो चार महिनामा उक्त संख्यामा व्यापक उछाल देखियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशभरका १ लाख ४९ हजार ३५६ जग्गालाई काटेर ३ लाख ३३ हजार ८५० कित्ताकाट गरिएको छ।

Tata
GBIME
Nepal Life

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट हुने कित्ताकाट करिब ७७ प्रतिशत बढेको देखिन्छ। जग्गा कित्ताकाट बढ्नुको सोझो अर्थ हो घरजग्गा कारोबार पनि बढ्नु।

कित्ताकाटमा देखिएको उछालले घरजग्गा लयमा फर्किने संकेत दिएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन्। अघिल्लो वर्षको तुलनामा चालु वर्ष घरजग्गा क्षेत्रमा सुधार देखिने उनले दाबी गरे।

‘मंसिरदेखि घरजग्गामा पक्कै सुधारका अझ बढी संकेत देखापर्नेछ। कित्ताकाटमा देखिएको सुधारले घरजग्गा कारोबारलाई सघाउ पुर्‍याउँछ,’ लोहनीले भने।

कित्ताकाट संख्यात्मकरुपमा बढी हुनुले तात्विक फरक भने पार्दैन। अर्थात् सस्ता जग्गा कित्ताकाट धेरै हुनुभन्दा महँगा जग्गा बढी हुनुले कारोबारलाई फलदायी बनाउँछ। पर्याप्त राजस्व संकलन नहुँदाको पीडासँग जुधिरहेको सरकारलाई समेत महँगा जग्गा कित्ताकाट तथा कारोबार हुनुले सघाउँछ। बैंकहरुले क्रमश: कर्जाको ब्याजदर घटाउँदै लगेकाले महँगा र प्रिमियम ठाउँका घरजग्गाको कारोबार पनि अब बढ्ने अपेक्षा घरजग्गा व्यवसायीहरुको छ।  

अध्यक्ष लोहनीले पनि ब्याजदर घट्ने क्रम बढ्नु तथा आर्थिक सूचकांकहरुमा देखिएको सुधारले घरजग्गा कारोबारलाई उठाउन थप मद्दत मिल्ने बताए।

त्यसैगरी, नेपाल रियल इस्टेट अर्गनाइजेसन (एनरिओ)का महासचिव विनोद सुवेदीले गत वैशाखमा सरकारले कित्ताकाट खुलाउने निर्णय गरेसँगै कित्ताकाटमा सुधार हुन थालेको बताए। कित्ताकाटमा रोक लाग्दा लामो समयदेखि अड्किएर बसेका जग्गा पनि नीति फुकुवासँगै टुक्रा पार्ने काम बढ्न थालेको छ। यसको असर पनि कित्ताकाट संख्या वृद्धिमा देखिएको हो।

‘कित्ताकाट फुकुवा गरेपछि अड्किएर बसेका जग्गाका काम सकिएपछि त्यसको सन्देश बजारमा गएको छ। ए ल घरजग्गाको कारोबार त हुन पो थालेछ भन्ने विश्वास सबैमा परेको छ। त्यसलाई त मालपोत कार्यालयहरुको तथ्यांकले नै देखाउन थाल्यो। यसले लगानीकर्ताहरुमा पोजेटिभ भाइब्स दिँदै आशा जगाएको छ। बैंक ब्याजदर घटाउने र पहिलो घर खरिदकर्तालाई ऋणको सीमा २ करोड पुर्‍याउने कामले सघाएको छ,’ सुवेदीले भने।

मालपोत कार्यालयहरुका अनुसार मंसिर लागेसँगै भीड लाग्न सुरु भएको छ। दसैंतिहारलगायतका ठूला पर्व सकिएर घरजग्गा किनबचेको सिजन सुरु भएसँगै कित्ताकाट गराउनेदेखि अरु कामका लागि मालपोत पुग्ने बढ्न थालेका छन्। घरजग्गा कम्पनीहरुले हाउजिङ, अपार्टमेन्टसहित जग्गा विकासको योजनासमेत बनाउन थाल्ने समय यही हो।

त्यसैगरी, देशभर संकटमा परेका सहकारी संस्थाहरुले बचतकर्ताको निक्षेपको साटो जग्गा दिने कामले पनि कित्ताकाट बढाउने सघाएको सुवेदी बताउँछन्।

‘सहकारी संस्थाहरुले पैसा फिर्ता दिन नसकेको अवस्था कित्ताकाट खुलेपछि जग्गा नै दिन थालेका छन्। जस्तै अहिले धेरै सहकारीहरुमा कसैले १० लाख रुपैयाँ बचत जम्मा गरेको छ। तर, सहकारीले त्यो निक्षेप फिर्ता गर्न सकिरहेको छैन। सहकारीले सस्तो मूल्यमा जग्गा किन्छ र निक्षेपकर्तालाई केही रकम अझै थपेर आफूसँग भएको जग्गा किन्न आग्रह गर्छ। यसले बचतकर्ताहरुलाई त्यो १० लाख डुबाउनु साटो अलिकति पैसा थपेर जग्गा नै लिन लोभ्याएको छ,’ सुवेदीले भने। देशभर धेरै सहकारी संकटमा परेकाले यो काम लामै समय चल्ने देखिन्छ।