लघुवित्तहरुको अवस्था झन बिग्रिँदै, धेरैको नाफा घट्यो, १५ वटा नोक्सानीमा, लचिलो बन्दै राष्ट्र बैंक

अन्जना सुवेदी
२०८० मंसिर ९ गते १७:४२ | Nov 25, 2023
लघुवित्तहरुको अवस्था झन बिग्रिँदै, धेरैको नाफा घट्यो, १५ वटा नोक्सानीमा, लचिलो बन्दै राष्ट्र बैंक


काठमाडौं। लघुवित्त कम्पनीहरुको वित्तीय अवस्था झन्झन् बिग्रँदै गएको छ। एकातिर मन्दीले ऋणको माग घट्नु र अर्कातिर आफूहरुविरुद्ध अराजक गतिविधि बढ्नुको असर लघुवित्तहरुको वित्तीय विवरणमा देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत ५५ लघुवित्तमध्ये हालसम्म ४७ वटाले वित्तीय विवरण सार्वजनिक गरेकामा अधिकांशको स्थिति बिग्रिएको पाइएको छ।

कर्जा असुलीमा समस्या हुँदा सबैजसो लघुवित्तको निष्क्रिय कर्जा अनुपात बढेको छ। कर्जा नउठ्दा प्रोभिजनिङमा बढी रकम छुट्याउन परेको छ। कर्जा लगानी निकै संकुचित भएको छ।

राष्ट्र बैंकले सेवा शुल्क र ब्याजदरमा गरेको कडाइ, आर्थिक मन्दी र लघुवित्त वित्तीय संस्थाहरुका बारेमा फैलाइएका भ्रमले व्यवसाय निकै प्रभावित भइरहेको माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालका महासचिव रामबहादुर यादवले बताए।

‘अहिले पहिला लगानी गरेको कर्जा रिकभरिमा समस्या छ। त्यसका साथै राष्ट्र बैंकले एउटा ऋणीले एउटा लघुवित्तबाट मात्र कारोबार गर्न पाउने व्यवस्थाले गाउँघरमा कर्जा लगानी नै भएको छैन। हामीले बैंकसँग १२/१३ प्रतिशतमा पैसा लिएर १५ प्रतिशतमा लगानी गर्नु पर्ने अवस्था छ। मार्जिन छैन,’ नेसनल लघुवित्तका सीईओ समेत रहेका यादवले भने, ‘पहिला निक्षेपमा जति ब्याज दिएपनि हुन्थ्यो। अहिले कर्जाको ब्याजको ५० प्रतिशत निक्षेपमा दिनुपर्ने व्यवस्था छ। साथै राष्ट्र बैंकले सर्भिस चार्जमा गरेको कडाइले पनि असर गरेको छ। अहिले सबै माइक्रोफाइनान्स अप्ठ्यारो अवस्थामा छन्।’

राष्ट्र बैंकले समेत लघुवित्तहरु समस्यामा पर्नुमा आफ्नै नीतिलाई कारण ठानेको छ। राष्ट्र बैंकका लघुवित्त विभाग प्रमुख रेवतीप्रसाद नेपालले एक ग्राहक एक संस्था भन्‍ने नीतिका कारण समेत लघुवित्तहरुले कर्जा लगानी गर्न नसकिरहेको बताए।

‘हाम्रो एक ग्राहक एक संस्था भन्‍ने नीति छ। त्यसले लघुवित्तहरुले थप लोन दिन सकिरहेका छैनन्। अहिले लोन रिकभरीको चरणमा छ। ऋण मिनाहा हुन्छ भनेर जुन खालको आन्दोलनहरु भइरहेको छ, त्यसैले पनि केही ऋणीहरुले नतिरिरहेको अवस्था छ,’ उनले भने।

आरम्भ चौतारीका सीईओ जगत पोखरेलले लघुवित्तविरुद्धका अराजक गतिविधिले कर्जाका किस्ता असुलीमा समस्या भइरहेको बताए। चर्को ब्याज लिएर शोषण गरेको र उठीबास लगाएको भन्दै लघुवित्तविरोधी गतिविधि बढेको छ।

लघुवित्तको विरोधमा केही समयअघि कतिपय ऋणीले काठमाडौंमा प्रदर्शन गरेका थिए। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २० लाखभन्दा कमको ऋण मिनाहा हुनुपर्ने माग उठाइ ऋणीहरुलाई उचाल्दै आएका छन्।

अहिलेको अवस्थामा सुधार नआए दोस्रो त्रैमासको रिपोर्ट झनै भयावह खालको आउने यादवको बुझाइ छ।

धेरैको नाफा घट्यो

वित्तीय विवरण सार्वजनिक गरेका ४७ लघुवित्त कम्पनीमध्ये २७ वटाको नाफा घटेको छ। साना किसान, छिमेक, डिप्रोक्स, नेसनल, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एसिया लगायत २७ लघुवित्तको नाफा घटेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसान विकास लघुवित्तले सर्वाधिक नाफा कमाएको छ। लघुवित्तले यसपालि असोजसम्म ३० करोड १४ लाख रुपैयाँ कमाएपनि पोहोरको पहिलो त्रैमासको तुलनामा ६.६२ प्रतिशत कम हो।

दोस्रो धेरै नाफा कमाउने लघुवित्त छिमेक हो। उसले २२ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ। तर यो मुनाफा पोहोर पहिलो त्रैमासको तुलनामा ३२.८० प्रतिशत कम हो। कम्पनीले गत वर्ष असोजसम्म ३२ करोड ९१ लाख खुद मुनाफा आर्जन गरेको थियो।

जीवन विकास लघुवित्तले १२ करोड ५ लाख, डिप्रोक्सले ८ करोड ८२ लाख र नेसनल लघुवित्तले ५ करोड ५० लाख खुद नाफा कमाएका छन्। यी सबैको मुनाफा भने घटेको छ।

लघुवित्त कम्पनीहरुको नाफाको स्थिति

लघुवित्त २०८० को पहिलो त्रैमास२०७९ को पहिलो त्रैमासफरक प्रतिशतमा
साना किसान३०,१४,०८,१६१३२,२७,७९,३४४(६.६२)
छिमेक२२,११,६०,१५५३२,९१,०८,४८५(३२.८०)
जीवन विकास१२,०५,१४,९५०१५,३२,६३,७४९(२१.३७)
डिप्रोक्स८,८२,६५,३११९,९१,३०,९५४(१०.९६)
नेसनल ५,५०,६३,०००१०,२३,६२,०००(४६.२१)
फष्ट माइक्रोफाइनान्स५,०६,८४,३२१६,३७,७१,३१५(२०.५२)
एनआईसी एसिया४,४८,४२,६५१६,५७,९५,२९९(३१.८५)
ग्रामीण विकास ३,४५,६६,०००(११,८३५,०००)
स्वावलम्बन ३,१८,८१,४३८७४,९८५,५५६(५७.४८)
नेष्डो समृद्धि२,६६,७६,०३९५,६४,६२,३१२(५२.७५)
स्वरोजगार १,९६,१६,८२५२,७६,३१,४२१(२९.०१)
नेरुडे १,९०,४६,०१०३,३९,७३,४०५(४३.९४)
माहुली१,५५,४०,८१५५८,२८,५३७१६६.६३
विजय१,४९,२६,३०३६५,९७,२४९१२६.२५
सूर्योदय वोमी१,१७,९२,३८०४,४३,४७,०३५(७३.४१)
महिला १०,८८१,९३६१५,९९९,७५८(३१.९९)
लक्ष्मी९५,३२,५०४(४१,१४,१४६)
साधना ६७,४६,५२११,०९,९०,३५१(३८.६१)
बीपीडब्लू६६,८८,०००(२५,८५,०००)
कालिका ५४,८७,१५५१,३१,६६,७०४(५८.३३)
समता घरेलु४७,९५,०००५३,१६,०००(९.८०)
इन्फिनिटि ३६,६३,९७८६५,०७,५३६(४३.७०)
गणपति२८,८१,१९१६८,९२,६९४(५८.२०)
आरम्भ चौतारी २५,४४,४६३२८,६८,७४४(११.३०)
सीवाइसी १९,०२,०००१,५१,३७,०००(८७.४३)
सपोर्ट १५,९८,०००४,४५,०००२५९.१०
युनिक नेपाल १५,५३,०००(२२,७५,०००)
सबैको१४,७७,०००(२,९६,८८,०००)
हिमालयन १०,८६,६२६७२,८३,९००(८५.०८)
गुराँस९,३३,०००(६०,२२,०००)
मिथिला७,४४,०००४२,६३,०००(८२.५५)
नाडेप५,१०,१८२१,२२,४६,८५५(९५.८३)

१५ लघुवित्त नोक्सानीमा

गत वर्षसम्म राम्रै मुनाफामा देखिएका लघुवित्त यस वर्ष पहिलो त्रैमासमै ऋणात्मक देखिएका छन्। १५ लघुवित्तको मुनाफा ऋणात्मक देखिएको हो।

निर्धन उत्थान लघुवित्त सबैभन्दा धेरै नोक्सानीमा देखिएको छ। पहिलो त्रैमाससम्म यो लघुवित्त १४ करोड ३० लाख नोक्सानीमा छ। गत वर्ष सोही अवधिमा यो लघुवित्त ३ करोड २५ लाख नाफामा थियो।

गत वर्ष ६ करोड ५२ लाख खुद नाफामा रहेको फरवार्ड माइक्रोफाइनान्स यसपालि ११ करोड नोक्सानीमा छ। यस्तै मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड २५ लाख ऋणात्मक देखिएको छ। लघुवित्तले गत वर्ष पहिलो त्रैमासमा २ करोड ५५ लाख खुद नाफा कमाएको थियो।

कुन लघुवित्त कति नोक्सानीमा?

लघुवित्त२०८० को पहिलो त्रैमास२०७९ को पहिलो त्रैमास
विन नेपाल (१५,४८,०००)(२३,७१,०००)
मानुषी (१,१२,८०,७०२)९,४३,३५४
जनउत्थान सामुदायिक(१,२६,९६,०००)(७६,७४,०००)
मनकामना स्मार्ट(१,४२,४९,०००)(४३,५४,०००)
जाल्पा सामुदायिक (१,६४,६१,६५९)(१०,३०,६५८)
आशा(२,६४,१८,६३२)१,८६,१३,५५१
अभियान(२,८३,५८,३७९)३,१५,६४३
सामुदायिक(२,९४,५२,०००)९६,७४,०००
उपकार (३,३७,५१,०००)४२,९६,०००
मिर्मिरे(३,९९,६७,०१९)२,८२,६४,६३६
किसान (४,२१,१९,६७६)(४,३७,०१,३५४)
एमएमबी माइक्रोफाइनान्स(४,७३,४१,३२०)(८५,७२,००९)
मेरो माइक्रोफाइनान्स (६,२५,४७,३०८)२,५५,८५,६१०
फरवार्ड (११,०९,८५,९७६)६,५२,१३,२८४
निर्धन उत्थान(१४,३०,१०,९५९)३,२५,५०,५८२

खुद ब्याज आम्दानी पनि घट्दो

लघुवित्त कम्पनीहरुको प्रमुख आयस्रोत खुद ब्याज आम्दानी हो। तर यो आम्दानीमा नै गिरावट आएको छ। अधिकांश कम्पनीको खुद ब्याज आम्दानी घटेको छ।

पहिलो त्रैमासमा ४७ लघुवित्तले ५ अर्ब ५० करोड खुद ब्याज आम्दानी गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १०.१५ प्रतिशत कम हो।

खुद ब्याज आम्दानी धेरै गर्ने कम्पनी छिमेक लघुवित्त हो। उसले पहिलो त्रैमासमा ७२ करोड ८४ लाख खुद ब्याज आम्दानी गरेको छ। उसको यो आम्दानी गत वर्षको पहिलो त्रैमासको तुलनामा भने १.५६ प्रतिशतले कम हो।

निर्धन उत्थान लघुवित्तको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले घटेको छ।

केही लघुवित्तको खुद ब्याज आम्दानी भने बढेको छ। विजय लघुवित्तले यस्तो आम्दानी २२.१० प्रतिशतले बढाएको छ। लघुवित्तले यसपालि पहिलो त्रैमासमा ८ करोड ४४ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ।

आरम्भ चौतारी, इन्फिनिटी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त लगायतको पनि खुद ब्याज आम्दानी बढेको छ।

लघुवित्त कम्पनीको खुद ब्याज आम्दानीको स्थिति

लघुवित्त२०८० को पहिलो त्रैमास२०७९ को पहिलो त्रैमासफरक प्रतिशतमा
छिमेक७२,८४,१०,७३४७३,९९,८८,९५०-१.५६
साना किसान विकास ५१,६५,०३,४९८४३,०९,३३,९९९१९.८६
निर्धन उत्थान ४३,००,७९,८२४४८,००,७६,१२८-१०.४१
जीवन विकास ३८,४०,१४,९१४४१,४३,१०,६०३-७.३१
स्वावलम्बन ३४,४६,५७,११४३९,३७,५७,५१३-१२.४७
डिप्रोक्स ३३,४२,४२,८३७३३,२४,६४,०६७०.५४
फरवार्ड माइक्रोफाइनान्स२६,९५,२३,३२७२९,५५,५१,४१८-८.८१
एनआईसी एसिया २५,०५,८१,३६८२९,०२,५७,१६५-१३.६७
ग्रामीण विकास २१,१९,३९,०००२१,९८,२४,०००-३.५९
मेरो माइक्रोफाइनान्सल१५,९३,११,२९९२०,१६,५५,५६८-२१
नेसनल १४,९१,०१,०००१५,८९,६५,०००-६.२१
सूर्योदय वोमी १३,५४,२१,९३२१७,५०,५८,६३२-२२.६४
नेरुडे १२,६०,००,१७०१४,२१,२७,३७२-११.३५
विजय ८,४४,४६,७९५६९,१६०,९५३२२.१
फर्ष्ट माइक्रोफाइनान्स ८,०१,९६,८१५१२,०१,७९,१८६-३३.२७
लक्ष्मी ७,८९,०९,४४९१०,८२,६७,०६९-२७.१२
स्वरोजगार ७,८३,९२,८३७९,६६,३६,४९५-१८.८८
महिला ७,१४,३५,४९७७,७५,३५,८४४-७.८७
आरम्भ चौतारी ६,४९,०९,०७९६,१२,१८,८१५६.०३
कालिका ६,२२,९५,९७५७,११,५३,७०३-१२.४५
आशा ६,२१,२१,६४५६,५९,१४,६४३-५.७५
माहुली६,११,१०,१६६७,३३,०५,०२९-१६.६४
नेष्डो समृद्धि६,००,६०,२४२१०,०८,०७,५९१-४०.४२
जाल्पा सामुदायिक५,८६,२१,४७१९,४५,११,५५०-३७.९७
इन्फिनिटि ५,८५,६०,०६१५,५६,६७,५३८५.२
साधना ५,७७,१८,६३५६,६०,६९,४४६-१२.६४
एमएमबी माइक्रोफाइनान्स ५,७४,२३,७१३८,७२,०६,१४९-३४.१५
सीवाइसी ५,६३,७६,०००६,०४,३८,०००-६.७२
हिमालयन ५,५३,११,३३६५,६५,१६,११९-२.१३
नाडेप ५,१९,२२,७७२७,१४,०२,०४०-२७.२८
किसान ५,०८,५८,९५२४,०३,५३,७२९२६.०३
सबैको ४,८४,८७,०००१,६१,०८,०००२०१.०१
युनिक नेपाल ३,८९,५७,०००५,८९,३८,०००-३३.९
मिर्मिरे ३,७१,१५,१९८१२,६१,६१,६४६-७०.५८
समता घरेलु ३,३९,२२,०००५,१०,५५,०००-३३.५६
गणपति२,८४,२४,५९५३,५६,३४,३५९-२०.२३
मिथिला२,७६,१३,०००२,३१,२७,०००१९.४
उपकार१,७५,८३,०००३,५५,७३,०००-५०.५७
मानुषी १,५५,००,४८६२,३९,६३,८३०-३५.३२
सपोर्ट माइक्रोफाइनान्स१,४४,८५,०००१,३५,७१,०००६.७३
गुराँस १,२९,७५,०००५९,२७,०००११८.९१
अभियान १,१२,१०,७१४१,८९,९६,२७७-४०.९८
सामुदायिक १,०७,२८,०००२,१८,७६,०००-५०.९६
जनउत्थान सामुदायिक ८०,८४,०००२,९२,९७,०००-७२.४१
मनकामना स्मार्ट ५२,५६,०००१,०९,२९,०००-५१.९१
बीपीडब्लू ४९,४९,०००२०,०८,०००१४६.४६
विन नेपाल३६,१२,०००७५,४८,०००-५२.१५

लघुवित्तप्रति लचिलो बन्दै केन्द्रीय बैंक

राष्ट्र बैंक लघुवित्त वित्तीय संस्थाप्रति लचिलो बन्‍ने भएको छ। बैंकका लघुवित्त विभाग प्रमुख नेपालले लघुवित्त संस्थाहरुले महँगोमा पैसा ल्याएर १५ प्रतिशतभन्दा बढीमा लगानी गर्न नपाउने व्यवस्थामा केही संशोधन गर्ने लागेको बताए।

‘अहिलेको व्यवस्थाले लघुवित्तहरुलाई मर्का परेको छ। कस्ट अफ फन्ड बढेको छ। बाहिरैबाट १०/१२ प्रतिशतमा ल्याएर १५ प्रतिशतमा लगानी गर्दा प्रशासनिक खर्च बढेको छ। त्यसैले हामीले पुस मसान्तभित्र संशोधन गर्ने गरी आन्तरिक छलफलमा छौं,’ उनले बिजमाण्डूसँग भने, ‘अहिले वाणिज्य बैंकहरुको बेस रेट १० प्रतिशत हाराहारीमा छ, त्यो घटेर ५/७ प्रतिशतमा आउने वित्तिकै लघुवित्तहरुको ब्याजदर पनि १५ प्रतिशतभन्दा कममा आउँछ। मार्केट चल्नेखालको मेकानिज्ममा जान सकिन्छ कि भनेर छलफल गरिरहेका छौं।’

उनका अनुसार, बैंकले अराजक ऋणीलाई कारबाहीको दायरामा ल्याउने विषयमा लघुवित्त एसोसिएसनका पदाधिकारीहरुलाई बोलाएर प्रस्ताव मागेको छ।

‘अहिले भइरहेको अराजकतालाई नियन्त्रण गर्न नसके संस्थाहरु धरापमा पर्छन्। एनपीएल र प्रोभिजनिङ बढ्दै जान्छ। बैंकिङ सिस्टमप्रति नै नकारात्मक धारणा बढ्छ। त्यसैले हामीले ऋणीहरुलाई कसरी सहज गर्ने र अराजक ऋणीलाई कारबाहीको दायरामा ल्याउने भन्‍ने विषयमा प्रस्ताव गर्न भनेका छौं,’ उनले भने।