राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

बिजमाण्डू
२०८० मंसिर ५ गते २१:१६ | Nov 21, 2023
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास क्षेत्रमा पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने


काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी सूचनामा ३० दिनसम्म उक्त क्षेत्रमा पाँच जनाभन्दा बढीको समूह भेला हुन रोक लगाइएको छ।

Tata
GBIME

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम उक्त आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

सूचना अनुसार शितल निवासको पूर्वमा पवित्र वर्कशप, पश्चिममा सामाखुसी निस्कने नाला, उत्तरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पतालसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ।

यस्तै, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको पवित्र वर्कशप चोकबाट बालुवाटार राष्ट्र बैंक चोक तथा सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम एक सय मिटरसम्म निषेधित क्षेत्र कायम गरिएको छ।

मंगलबार नै जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री क्वार्टर आसपासको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिसकेको छ।

मंसिर ७ गते नेकपा (एमाले) र विवादित व्यवसायी दुर्गा प्रसाईंले विरोध प्रदर्शनको कार्यक्रम राखेपछि स्थानीय प्रशासनले सिलसिलावद्ध रुपमा विभिन्न क्षेत्रमा निषेधाज्ञा जारीको क्रम सुरु गरेको हो। यसअघि माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी भइसकेको छ।

माइतीघरमा निषेधाज्ञा जारी भएपछि एमालेका दुई भातृ संगठनले तिनकुनेमा विरोध कार्यक्रम तय गरेका छन्।