अल्टम्यानको समर्थनमा ओपनएआईका कर्मचारी, ५०० बढीले दिए राजीनामा दिने चेतावनी

बिजमाण्डू
२०८० मंसिर ५ गते ०९:४२ | Nov 21, 2023
अल्टम्यानको समर्थनमा ओपनएआईका कर्मचारी, ५०० बढीले दिए राजीनामा दिने चेतावनी
शाम अल्टम्यान । तस्विर : रोयटर्स


च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख कार्यकारी अधिकृत शाम अल्टम्यानलाई हटाइएको विरोधमा कम्पनीका सयौं कर्मचारीले राजीनामा दिने चेतावनी दिएका छन्।

Tata
GBIME
NLIC

ओपनएआईले बर्खास्त गरेका अल्टम्यानलाई माइक्रोसफ्टले नियुक्त गरिसकेको छ। आन्दोलित कर्मचारीहरुले अल्टम्यानलाई पूर्वाग्रह राखेर हटाइएको भन्दै राजीनामा दिने चेतावनी दिएका हुन्।

सीएनएनका अनुसार ५०० भन्दा बढी कर्मचारीले ओपनएआईको बोर्डले अल्टम्यानलाई हटाउन गलत नियतले कार्य गरेको आरोप लगाएका छन्। अल्टम्यानले बोर्डले भनेको कुरा नमानेको कुनै प्रमाण उपलब्ध गराउन बोर्ड असफल भएको पनि भनिएको छ। गलत मनसाय राखेर कम्पनीको प्रमुख कार्यकारीसँग बोर्डले सौदाबाजी गरेको आरोपसमेत लगाइएको छ।

‘हामी योग्यता नभएको, निर्णय गर्ने क्षमता नभएको र कर्मचारीको रेखदेख गर्न असमर्थ व्यक्तिसँग काम गर्न सक्दैनौं,’ ५०५ जना कर्मचारीहरुले एक पत्रमार्फत कम्पनीलाई भनेका छन्।

उनीहरुले अल्टम्यानसँगै ओपनएआईका पूर्व अध्यक्ष ग्रेग ब्रोकम्यानलाई हटाउने निर्णय फिर्ता नभए तत्काल राजीनामा दिने चेतावनी दिएका हुन्।

ओपनएआईका सहसंस्थापक ब्रोकम्यानलाईसमेत माइक्रोसफ्टले नियुक्त गरेको छ। शुक्रबार अल्टम्यान बर्खास्तीमा परेपछि ब्रोकम्यानले पनि ओपनएआई छोड्ने घोषणा गरेका थिए।

माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नडेलाकाअनुसार अल्टम्यान र ब्रोकम्यानले कम्पनीको नयाँ एड्भान्स एआई रिसर्च टिममा बसेर काम गर्नेछन्।

यता ओपनएआईका कर्मचारीहरुको चेतावनीसहितको पत्र सार्वजनिक भएसँगै कम्पनीभित्रको विवाद छताछुल्ल भएको छ। सो पत्रमा हस्ताक्षर गर्नेमा बोर्डले अल्टमायानको अन्तरिम उत्तराधिकारी नियुक्त गरेकी मिरा मुरातीसमेत छिन्। राजीनामा दिने चेतावनी दिनेहरुमा ओपनएआईका सहसंस्थापक, प्रमुख वैज्ञानिक र केही बोर्ड सदस्यहरुसमेत छन्।