माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म सभा र जुलुसमा प्रशासनको प्रतिबन्ध

बिजमाण्डू
२०८० मंसिर ४ गते १९:३१ | Nov 20, 2023
माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म सभा र जुलुसमा प्रशासनको प्रतिबन्ध


काठमाडौं। विवादित व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) को भातृ संगठन युवा संघले मंसिर ७ गते एकै स्थानमा विरोध प्रदर्शनको कार्यक्रम तय गरेपछि स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। ३० दिनको लागि उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

Tata
GBIME

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै पाँच जनाभन्दा बढीको सामूहिक उपस्थितिमा रोक लगाएको छ। प्रसाईं र युवा संघसँग सोमबार छलफल गरेको प्रशासनले साँझ निषेधाज्ञाको सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम स्थानीय प्रशासनले आदेश जारी गरेको हो।

सूचना अनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम मिति २०८०/०८/०४ देखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’