५ जिल्लाका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि करिब डेढ अर्ब निकासा

बिजमाण्डू
२०८० मंसिर ४ गते १६:५२ | Nov 20, 2023
५ जिल्लाका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि करिब डेढ अर्ब निकासा

काठमाडौं। सरकारले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ।

Tata
GBIME
NLIC

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास बनाउन पहिलो किस्तामा सोमबार १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको हो।

प्राधिकरणले रकम पाँच जिल्लामा पठाएको छ। उसले जाजरकोट, रुकुम पश्‍चिम, सल्यान, बझाङ र बाजुरामा रकम पठाएको हो।

जाजरकोट र रुकुम पश्‍चिममा ५०/५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा गरेको जानकारी प्राधिकरणले गृह मन्त्रालयलाई दिएको छ।

मन्त्रालयका अनुसार कात्तिक १७ गतेको भूकम्पका कारण जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण र २७ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ। यस्तै रुकुम पश्‍चिममा १६ हजार ५७० घर पूर्ण र ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ। सल्यानमा १ सय ५१ घर पूर्ण र ५१२ घरमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ।

बाजुरा र बझाङमा भने असोज तेस्रो साता भूकम्पले घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन रकम निकासा गरिएको हो।

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय सरकारले एक साताअघि गरेको थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले आवास निर्माण सम्बन्धी कार्यविधि कात्तिक २६ गते स्वीकृत गरेको थियो। प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरुलाई उपलब्ध गराएको रकम स्थानीय तहमार्फत भूकम्प प्रभावित परिवारले पाउनेछन्।