बोइङ बिक्रीका लागि एनएसीको चौथो टेण्डर, इन्जिन स्पेनमा, आइबेरियाले माग्यो १४ करोड

वसन्तराज उप्रेती
२०८० मंसिर २ गते ०६:५२ | Nov 18, 2023
बोइङ बिक्रीका लागि एनएसीको चौथो टेण्डर, इन्जिन स्पेनमा, आइबेरियाले माग्यो १४ करोड


काठमाडौं। नेपाल वायुसेवा निगमले बोइङ ७५७ ‘गण्डकी’ बिक्रीका लागि चौथोपटक टेण्डर आह्‍वान गरेको छ। निगमले सार्वजनिक बिदाको दिन कात्तिक २५ गते शनिबार जहाज बिक्रीका लागि टेण्डर आह्‍वान गरेको हो।

Tata
GBIME

निगमले यसअघि ट्वीनअटर जहाज खरिदका लागि दसैं बिदामा टेण्डर आह्‍वान गरेको थियो। जहाज किन्न र बेच्न बिदाका दिन सूचना निकालिनुलाई संयोगभन्दा पनि शंकास्पदरुपमा लिइएको छ।

निगमले इच्छुक कम्पनीलाई जहाज खरिदका लागि टेण्डरमा भाग लिन मंसिर ५ गतेसम्मको समय दिएको छ। टेण्डर अनुसार इच्छुक कम्पनीले जहाज, पाटपुर्जा र इन्जिन किन्नुपर्नेछ। जहाजको इन्जिन स्पेनको आइबेरिया मेन्टिनेन्स कम्पनीमा छ।

जहाज २०७६ असारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ। सन् १९८८ मा बनेको यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ। बोइङ किनेपछि निगमले लण्डन, पेरिस र फ्र्याङ्कफर्ट पनि उडान गरेको थियो।

बोइङ बिक्रीका लागि निगमले ४ वर्षअघि अमेरिकाको सीएसडीएस कम्पनीसँग सम्झौता गरेको थियो। ६५ करोड रुपैयाँमा बिक्रीको सम्झौता भएको थियो। तर कोभिडका कारण प्रक्रिया अगाडि बढेन।

आइबेरियामा रहेको इन्जिन जगेडा हो। निगमले इन्जिन मर्मतका लागि केही वर्षअघि स्पेन पठाएकामा आइबेरियाले निकै महँगो रकम मागेपछि त्यतिकै राखिएको हो। चार वर्षअघि निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले इन्जिन झिकाउने प्रक्रिया अगाडि बढाएकामा कोभिड लगायत कारण रोकिएको थियो।

निगमका एक उच्च अधिकृतका अनुसार आइबेरियाले इन्जिन राखिदिएबापत निगमसँग १४ करोड रुपैयाँभन्दा बढी रकम मागेको छ। यो कम्पनीले वाइडबडी जहाजको आईआई र न्यारोबडी जहाजको पीटीई-१६ इन्जिन पनि बेलायती कम्पनी ए जे वाल्टरको नेपाल प्रतिनिधि कोलोससमार्फत लुफ्थान्साको रोहवरमा मर्मत गर्दै आएको छ।

निगमले ३५ वर्षअघि दुईवटा बोइङ खरिद गरेकामा कर्णाली नाम दिइएको बोइङ गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले ५ वर्षअघि किनेका थिए। उनले १४ करोड ६० लाख रुपैयाँमा किनेको जहाज पनि विमानस्थलमै थन्क्याएर राखिएको छ।