११ खर्ब बराबरको कम्पनी डाबरको बर्मन परिवार कानुनी उल्झनमा‚ परम्परागत व्यवसायबाहिर जान खोज्दा संकट



बिजमाण्डू
२०८० मंसिर १ गते १२:५४ | Nov 17, 2023
११ खर्ब बराबरको कम्पनी डाबरको बर्मन परिवार कानुनी उल्झनमा‚ परम्परागत व्यवसायबाहिर जान खोज्दा संकट

भारतमा १४० वर्ष पुरानो विरासत बोकेको एक व्यापारिक परिवार कानुनी समस्यामा फसेको छ। अधिग्रहण गर्न खोजेको वित्तीय सेवा कम्पनीको बोर्डसँगको द्वन्द्वका बीच बर्मन परिवार कानुनी उल्झनमा फसेको इकोनोमिक टाइम्सले उल्लेख गरेको हो।

Tata
GBIME
Zonsen

फास्ट-मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) क्षेत्रको प्रमुख कम्पनी डाबर सञ्‍चालक बर्मन परिवार भारतका पुराना व्यावसायिक घरानामध्येको एक हो। बर्मन परिवारको व्यवसाय १८८४ मा सुरु भएको थियो।

हैजा, मलेरिया र प्लेग जस्ता रोगहरू निको पार्न प्राकृतिक औषधिहरू बनाएर डा. एसके बर्मनले कोलकातामा व्यापार सुरु गरेका थिए। आफूलाई बोलाइने लोकप्रिय नाम ‘डाक्टर बर्मन’बाट उनले डाबर नामक कम्पनी स्थापना गरेका थिए।

दुर्गम गाउँका मानिसहरूलाई सस्तो मूल्यमा प्रभावकारी औषधि उपलब्ध गराउने उद्देश्यका साथ बर्मनले उक्त कम्पनीको स्थापना गरेका थिए। हाल आयुर्वेदिक उत्पादन तथा एफएमसीजी कम्पनी डाबरको भ्यालू ११ अर्ब डलर भन्दा बढी पुगेको छ। यो कम्पनीले डाबर च्यवनप्राश र वाटिका तेल लगायतका वस्तु उत्पादन गर्छ।

हाल पाँचौँ पुस्ताको नेतृत्वमा रहेको डाबर परिवारले आफ्नो परम्परागत एफएमसीजी र आयुर्वेदिक व्यवसायभन्दा बाहिर आफ्नो पहुँच पुर्‍याउन खोजेसँगै यो परिवार कानुनी समस्यामा परेको छ। हालै मुम्बई प्रहरीले महादेव बेटिङ एपको मुद्दामा पेस गरेको एफआईआरमा डाबरका अध्यक्ष मोहित बर्मन र निर्देशक गौरव बर्मनको नाम पनि मुछिएको छ। यद्यपि, दुवैले अवैध सट्टेबाजी प्रकरणमा आफूहरुको कुनै पनि संलग्नतालाई अस्वीकार गरेका छन्।

डाबरका अध्यक्ष मोहित बर्मन (बायाँ) र निर्देशक गौरव बर्मन (दायाँ)।

एफआईआरमा नाम आउनुको कारण

यस वर्षको अगस्टसम्ममा बर्मन परिवारले विभिन्‍न संस्थाहरूमार्फत रेलिगेयर इन्टरप्राइजेज लिमिटेड (आरईएल)को २१.५ प्रतिशत सेयर किनेको थियो। सेप्टेम्बरमा सर्वसाधारणबाट थप २६ प्रतिशत सेयर किन्‍ने अनिवार्य खुला प्रस्तावसहित पुनः बर्मन परिवारले अर्को ५.२७ प्रतिशत सेयर किन्यो। सोही महिना २६ प्रतिशत सेयर किन्‍ने खुला प्रस्तावसँगै उक्त परिवारले साढे २५ करोड डलर लगानी गरेर आरईएलमा आफ्नो हिस्सेदारी बढाउने योजनाको घोषणा समेत गर्‍यो।

तर, लगभग एक महिनापछि आरईएलका स्वतन्त्र निर्देशकहरूले आरबीआई, सेबी र इन्स्योरेन्स वाचडग जस्ता नियामकहरूलाई पत्र लेखेर बर्मन्सविरुद्ध ठगी र अन्य कानुनी उल्लंघनको आरोप लगाए। निर्देशकहरूले मुद्दालाई ‘ब्रोड-बेस्ड’ बनाउन खोजेका थिए। आरईएलको नियमनमा सञ्‍चालित कम्पनीहरूको स्वामित्वलाई जोड दिँदै व्यवसाय प्राप्त गर्न खोज्‍ने पक्षलाई इजाजतपत्र धारकहरूमा लागू हुने ‘फिट एण्ड प्रोपर’ मापदण्डको लागि छानबिन गरिनु पर्ने निर्देशकहरुको तर्क थियो।

आरईएलको अधिनमा चार प्रमुख व्यवसायहरू सञ्‍चालनमा छन्। जसमा साना व्यवसायहरूलाई ऋण दिने रेलिगेयर फिनभेस्ट, केयर हेल्थ इन्स्योरेन्स, घर कर्जा प्रदान गर्ने रेलिगेयर हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेसन र रिटेल स्टक ब्रोकरेज कम्पनी रेलिगेयर ब्रोकिङ रहेका छन्।

आरईएलको स्थापना रानब्याक्सी र फोर्टिसका सञ्‍चालक सिंह भाइहरू मालविन्दर र शिविन्दरले गरेका थिए। २०१८ सम्म कम्पनीको नियन्त्रण उनीहरुको हातमा थियो। तर, कम्पनीबाट रकम ठगीमा जेल सजाय भोग्नुपरेपछि उनीहरूले आरईएलको नियन्त्रण गुमाए।

कम्पनीलाई सुरक्षित गर्न र लुटेको रकम फिर्ता गर्न स्वतन्त्र निर्देशकहरू सम्मिलित बोर्ड खडा गरियो। कार्यकारी अध्यक्ष रश्मी सलुजाको संयोजकत्वमा गठित सञ्‍चालक बोर्ड सफल सावित भएको छ भने बजारले राम्रो प्रतिक्रिया दिएको छ।

आरईएलका स्वतन्त्र निर्देशकहरूले बर्मन परिवारले फर्मलाई हानी पुऱ्याउन सक्ने नियामक दायित्वहरूको भौतिक उल्लंघन गरेको आरोप लगाएका छन्।

आरईएलका स्वतन्त्र निर्देशकहरूको पत्रमा पूर्व सञ्‍चालक सिंह भाइहरूसँग मिलेर काम गरेको, डाबर इन्डियाका अध्यक्ष मोहित बर्मनविरुद्ध ठगीको मुद्दा चलिरहेको, अधिग्रहणको लागि प्रयोग गरिने पैसाको स्रोत बारे प्रश्नहरू उठेको तथा सेयर बजार हेरफेरमा संलग्‍नतालगायत आरोपहरू समावेश छन्। पत्रमा उल्लेख भएअनुसार बर्मन समूह विभिन्‍न ‘ठगी तथा आर्थिक अनियमितता’मा संलग्‍न देखिएको र जसमा विभिन्‍न वैधानिक अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

बर्मन परिवारले आरईएल निर्देशकहरूका आरोपहरूलाई एक अनिर्दिष्ट कार्यकारीले केही ट्रेडहरूमा बर्मन्सको ध्यानाकर्षण गर्न गरिएको प्रतिक्रिया भएको दाबी गरेको छ।

‘यस चरणमा, आरईएलमा चासो राख्‍ने व्यक्तिहरूद्वारा झूटो रूपमा आरोप लगाइएकामा हामी चिन्तित छौँ… यीमध्ये केही आरोपहरू आरईएलका एक निश्‍चित वरिष्ठ कार्यकारीले हाम्रो खुला प्रस्तावलगत्तै केही सेयर ट्रेड गरेसँगै हामीले अक्टोबर २६, २०२३ मा बोर्डलाई पत्र लेख्दै कम्पनीको ध्यानाकर्षण गराएपछि आएका हुन्,’ बर्मन परिवारको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अक्टोबर २६, २०२३ को पत्रमा उठाइएका वैध प्रश्‍नहरू सम्बोधन गर्नुको सट्टा नियामक निकायहरू/बोर्ड/सार्वजनिक सेयरधारकहरूको ध्यान झुटा कुराहरूमा केन्द्रित गरिएको प्रति हामी चिन्तित छौँ।’

नोभेम्बर ८ मा सेबीलाई पठाइएको इमेलमा आरईएलमा सामूहिक रूपमा २१.२४ प्रतिशत हिस्सा राख्‍ने डाबर परिवारका चार संस्थाहरूले आरईएल अध्यक्ष रश्मी सलुजाले एक बैठकलगत्तै फर्ममा रहेको आफ्नो व्यक्तिगत सेयरको एक भाग बेचेको उल्लेख छ।

प्रतिनिधिहरुले सलुजालाई कम्पनीको अधिग्रहण गर्न खुला प्रस्ताव गर्ने बर्मनको मनसायबारे जानकारी गराएका थिए। रेलिगेयरका प्रवक्ताले बर्मनका प्रतिनिधिसँगको बैठकको सलुजाको सैयर बिक्रीसँग कुनै सम्बन्ध नभएको बताए।

त्यसको केही दिनपछि डाबरका अध्यक्ष मोहित बर्मन र निर्देशक गौरव बर्मनको नाम महादेव एप बेटिङ केसको एफआईआरमा मुछिएको थियो। उक्त एफआईआर बर्मन परिवारले रेलिगेयर इन्टरप्राइजेज अधिग्रहण गर्ने प्रक्रियामा रहेको समयमा आएको जालसाझी पूर्ण आरोप भएको बर्मन परिवारले बताएको छ।

प्रवर्तन निर्देशनालयले महादेव बुक बेटिङ एप र यसका प्रवर्धकहरूमाथि मनी लन्ड्रिङको लागि छानबिन गरिरहेको छ। केन्द्रीय एजेन्सीले घोटालाको आकार ५ हजार करोड भारु भएको अनुमान गरेको छ। यस महिनाको सुरुमा एक प्रेस विज्ञप्तिमार्फत एजेन्सीले छत्तीसगढका मुख्यमन्त्री भुपेश बघेलले अवैध सट्टेबाजी एपका फरार प्रवर्धकहरूबाट ५०८ करोड भारु लिएका छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको बताएको थियो।

बर्मन परिवारको लगानी

डाबरको प्रमुख हिस्सेदार रहेको बर्मन फ्यामिली होल्डिङ्स डाबर पब्लिक कम्पनी भएको केही समयपछि १९९५ मा स्थापित भएको थियो। यसका लगानी र साझेदारीहरू डीएमआइ फाइनान्स जस्ता घरेलु स्टार्टअपहरूदेखि यम ब्रान्ड्स इंकको टाको बेल र अभिभा जस्ता ग्लोबल कम्पनीहरुसम्म छ।

भारतमा टाको बेल सञ्‍चालन गर्नु बाहेक बर्मन्सको स्वामित्वमा खाना रिटेलिङ कम्पनी लाइट बाइट फुड्स पनि छ‚ जसले पञ्‍जाब ग्रिल र जाम्बर जस्ता रेस्टुरेन्ट ब्रान्डहरू सञ्‍चालन गर्छ। बर्मन परिवारको साझेदारी ठूलो जापानी स्वास्थ्य सेवा कम्पनी एमथ्रीसँग पनि छ।

बर्मन परिवारले अमेरिकामा कफी व्यवसायमा पनि लगानी गरेको छ। उक्त घरानाले आईपीएलको टिम पञ्‍जाब किंग्सका साथै खो-खो र पोकरमा पनि लगानी गरेको छ। उक्त परिवारले हेल्थकेयर एट होम र बर्मन हस्पिटालिटी जस्ता धेरै व्यवसायमा पनि लगानी गरेको छ।

गत वर्ष बर्मन परिवार कोलकाताको फ्ल्यासलाइट र ब्याट्री निर्माता कम्पनी एभरेडी इन्डस्ट्रिजको पनि प्रवर्द्धक बनेको छ। २०२२ को जुनमा खुला प्रस्ताव पूरा भएपछि घरानाले कम्पनीको ३८.३८ प्रतिशत स्वामित्व लिएको थियो। छ महिनाभन्दा कम अवधिमा बर्मन्सको पारिवारिक कार्यालयले एभरेडी इन्डस्ट्रिजमा ठूलो परिवर्तन ल्याउन सफल भयो।

बर्मन परिवार लामो समयदेखि वित्तीय सेवामा लागिरहेको भए पनि रेलिगेयर इन्टरप्राइजेज लिमिटेडमा हिस्सेदारी बढाउने योजना यस्तो समयमा आएको हो जब वित्तीय सेवा क्षेत्रमा बढ्दो अनलाइनको प्रयोग हुन थालेको छ। रिलायन्स इन्डस्ट्रिजको जियो फाइनान्सियल सर्भिसको प्रवेशपछि बर्मन्सले थप प्रतिस्पर्धाको महसुस गरेको थियो।

बर्मन परिवारका यी विविध कदमहरू उसका परम्परागत आयुर्वेदिक व्यवसायभन्दा धेरै परका हुन् जुन व्यक्तिगत हेरचाहमा विस्तार भए।

बर्मन परिवारले घरेलु र दक्षिणपूर्व एसियामा कब्जा जमाउन खोजीरहेको छ। उसले चर्को घरेलु प्रतिस्पर्धाको बीचमा नयाँ विदेशी बजारमा आफ्नो उपस्थिति स्थापित गर्न काम पनि गरिरहेको छ। गत वर्ष उसले मसला उत्पादक बादशाह मसालालाई ७ करोड १० लाख डलरमा किनेको थियो।

विश्‍वव्यापी उपभोक्ता टाइटन युनिलिभर पीएलसी लगायतले प्रतिस्पर्धालाई तीव्र बनाएपछि विस्तारका योजनाहरूलाई डाबरले तीव्र बनाएको हो। एसियाका दुई धनी व्यक्तिहरू मुकेश अम्बानी र गौतम अडानीले पनि घरेलु रिटेल स्पेसमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेका छन् भने टाटा कन्ज्युमर प्रोडक्ट्स लिमिटेडले पनि अधिग्रहणहरूमार्फत आफ्नो पोर्टफोलियोलाई ठूलो मात्रामा बढाउन खोजिरहेको छ।