कुनैबेला दर्शकले भरिभराउ हुन्थ्यो कटारीको चन्द्र टाकिज, कोरोनापछि किन संचालन हुन सकेन हल?

बिजमाण्डू
२०८० कात्तिक २० गते १२:४९ | Nov 6, 2023
कुनैबेला दर्शकले भरिभराउ हुन्थ्यो कटारीको चन्द्र टाकिज,  कोरोनापछि किन संचालन हुन सकेन हल?

काठमाडौं । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल संचालकलाई हम्मेहम्मे पर्थ्यो। उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्यो।

Tata
GBIME
Nepal Life

करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो। पछिल्लो समय कोभिड- १९ को महामारी पछि हल बन्द भयो। त्यसपछि यो हल संचालनमा आउन सकेको छैन।

लामो समय कोरोनाका कारण बन्द भएपछि हल संचालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताउँछन्।

कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र संचालन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुनःसंचालन गर्न नसकिएको उनको भनाइ छ। हल मर्मत गर्न आवश्यक रकमको अभावमा संचालनमा ल्याउन नसकिएको उनले बताए।

हल संचालक प्रयास कार्की हलमा थप लगानी गर्ने सोचमा छैनन्।

‘पाँच सात लाख रुपैयाँ लगानी गरेर नाफा आउने अवस्था छैन्’, कार्की भछन्, ‘एक्लो प्रयासले लगानी गर्दा अब हलबाट नाफा कमाउन सकिन्दैन।’

कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो। कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछि संचालनमा आउन सकेको छैन।

गाईघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोनाअघिदेखि नै बन्द छ।

बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ। बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको संचालक जगदिश साह बताउँछन्।

‘लगानी गरेर के गर्ने हिन्दीफिल्म चलाउन महँगो पर्छ। नेपाली फिलिमले लगानी पनि उठाउँदैन’, उदयपुरका कलाकार मिथुन ठाकुर भन्छन्, ‘जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन्।’

जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै संचालनमा आउन सकेको छैन। पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुनेहुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन्।