
काठमाडौं । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायांकन सुरु भएको छ।
४५ दिनको छायांकन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए।
उनले भने, ‘काठमाडौंबाहेक जनकपुरमा छोटो छायांकन हुनेछ। हामीले शृङखला थप्न हतार गरेनौं। कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौं।’
अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय रहनेछ।
जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीनरूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचकरूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन्। यसमा जीतबहादुर रुवालीले एशोसिएट निर्देशक, पुरुषोत्तम प्रधानले छायांकन, कुमार महर्जनले द्वन्द्व निर्देशन, कविराज गहतराजले नृत्य निर्देशन, आशीष अविरलले संगीत सिर्जना, शम्शेर लामाले शृङ्गार, रूपकप्रताप अधिकारीले प्रोडक्सन डिजाइनरको रूपमा काम गर्नेछन्।