
काठमाडौं। सूचीकृत भए लगत्तै निरन्तर सर्किट लेभलमा घटिरहेको सोनापुर मिनरल्सको बुधबार १४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कम्पनीको सेयर मूल्य भने ८ प्रतिशतले घटेर प्रति कित्ता २३४.८ रुपैयाँमा आइपुगेको छ। सोनापुर मिनरल्सले सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँमा आईपीओ बेचेको थियो।
५० रुपैयाँमा आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्टको सेयर भने प्रति कित्ता ३२२ रुपैयाँ पुगेको छ। नेप्से सूचक घटेपनि यो कम्पनीको सेयरको भाउ प्रति कित्ता ४ रुपैयाँ बढेको छ। हाथवे इन्भेष्टमेन्टको झन्डै २ करोडको सेयर किनबेच भएको छ।
जलविद्युत समूहको सूचक ०.४७ प्रतिशतले घट्दा सयपत्री हाइड्रोको सेयर सर्किट लेभलमा बढेको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८ रुपैयाँले बढेको हो। रावा इनर्जीको भाउ पनि प्रति कित्ता २५ रुपैयाँ बढेको छ।
नेप्से भने ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा छ। मंगलबारको तुलनामा कारोबार रकममा भने सुधार भएको छ। मंगलबार कारोबार रकम ५७ करोडमा सीमित भएकामा बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।