
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले तत्व फार्म्समा लगानी गरेको छ। सो फण्ड ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको हो।
लगानी रकम फार्मले चिनी मिलको उत्पादन क्षमता अभिवृद्धि गर्न उपयोग गर्ने जनाइएको छ। साथै अन्तर्राष्ट्रिय मापदण्डको खाद्य पदार्थ उत्पादन गर्न अत्याधुनिक प्रणालीमा पनि लगानी गर्नेछ।
तत्व फार्म्स कृषि प्रशोधन तथा खाद्य उत्पादन कम्पनी हो। सो कम्पनीले हाल उखु प्रशोधन गर्दछ। साथै परम्परागत स्न्याक्स, चिप्स र रोस्टेड उत्पादनहरू सहित धेरै खाद्य उत्पादनहरूमा विस्तार गर्ने प्रक्रियामा छ।
कम्पनीले नवलपरासीमा नयाँ परिष्कृत प्लान्ट स्थापना गरेको छ। जसले स्थानीय सयौं किसानहरूबाट उखु प्रशोधन गर्ने र बाली भुक्तानी चक्र घटाउने अनुमान छ।
बारम्बार हुने चिनीको अभाव र मूल्यवृद्धिलाई पनि समाधान गर्ने कम्पनीको लक्ष्य छ। हाल नेपाल चिनीमा आत्मनिर्भर नभएकाले हरेक वर्ष भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा मनिष थापाले बताए।
थापाका अनुसार नेपालमा कुनै पनि ब्राण्ड चिनी छैन। जसले गर्दा चिनीको गुणस्तर बारेमा कसैलाई जवाफदेही नहुने गरी खुलेआम बिक्री गरिने गरिएको उनको दाबी छ। त्यसैले तत्व फार्म मार्फत् सबैभन्दा पहिलो चिनी, ब्राउन सुगर र गुड पाउडर जस्ता स्थानीय उत्पादनहरूको माग पूरा गर्ने उनले बताए।
कार्बन उत्सर्जनलाई कम गर्ने र उत्पादन हुने फोहोरलाई पनि उचित व्यवस्थापन गर्ने कम्पनीको दाबी छ।