
काठमाडौं। दसैं बिदापछि खुलेको सेयर बजारमा दोस्रो दिन नेप्से ३ अंकले बढेको छ। आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार अन्तिम समयमा बढेको हो। नेप्से परिसूचक १८७८.७ को विन्दु कायम भएको छ।
बजारमा धेरै पछि नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ घटे पनि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख रुपैयाँको कारोबार भएको हो।
जीवन बिमा समूह उचालिँदा समूहका प्राय: सबै कम्पनीको सेयरको भाउ बढेको छ। तर नेपाल लाइफको सेयर मूल्य भने घटेको छ।
निर्जीवन बिमा कम्पनीमा खरिदकर्ताको चाप सबैभन्दा बढी देखियो। बजारले ठूलो अंकको फड्को नमारे पनि निर्जीवन बिमा समूहको सूचक ०.८६ प्रतिशतले बढ्यो। यो समूहका सबैजसो कम्पनीको सेयर मूल्य बढेको छ।
फाइनान्स, विकास बैंक जस्ता भोलाटाइल सेक्टर पनि उचालिएका छन्। व्यापार समूहमा पनि खरिदकर्ता बढे।
दसैंअघि दैनिक एक अर्बभन्दा बढीको कारोबार हुँदै आएकामा सोमबार कारोबार रकम ६९ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ।