संस्थापकहरु नै सेयर बेचेर धमाधम कम्पनीबाट बाहिरिंदै, वाणिज्य बैंकबाट अलग हुने लहर

बिजमाण्डू
२०८० कात्तिक १० गते १०:०० | Oct 27, 2023
संस्थापकहरु नै सेयर बेचेर धमाधम कम्पनीबाट बाहिरिंदै, वाणिज्य बैंकबाट अलग हुने लहर


काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सुरेन्द्र महतो बैंकबाट बाहिरिन चाहेका छन्। उनी आफ्नो नाममा रहेको १०.९५ प्रतिशत सेयर सबै बेचेर बैंकबाट अलग हुन चाहेका हुन्।

Tata
GBIME
NLIC

बैंकको १ करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्रीका लागि उनले निवेदन दिएका छन्। बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व हुने उनै हुन्।

बैंकबाट अलग हुन चाहने उनी पहिलो संस्थापक भने होइनन्। पोहोर मंसिर २९ गते सानिमा बैंकका संस्थापक निरजगोविन्द श्रेष्ठ आफ्नो सम्पूर्ण स्वामित्त्व बिक्री गरी बैंकबाट बाहिरिए। उनले ५१ लाख कित्ता सेयर बिक्री गरेका थिए।

उनले १३१.४३ रुपैयाँका दरले ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेका थिए। उनको सेयर सन नेपाल लाइफ इन्स्योरेन्सले खरिद गर्‍यो।

गत आर्थिक वर्ष सानिमा बैंकको ५६ लाख १५ हजार कित्ता संस्थापक सेयर खरिद बिक्री भयो। जसमध्ये ५६ लाख १० हजार कित्ता सन नेपाल लाइफ इन्स्योरेन्सले किनेको वार्षिक प्रतिवेदनमा देखिन्छ। इन्स्योरेन्सले बैंकको साढे ४ प्रतिशत सेयर स्वामित्त्व खरिद गरेको हो।

श्रेष्ठ निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका तत्कालीन स्थानीय साझेदार हुन्। उनी अधिकतम समय मुलुक बाहिरै बस्छन्। बैंकको सेयर बिक्री गर्ने हाइप्रोफाइल मध्येका श्रेष्ठ उदाहरण मात्रै हुन्।

पोहोर बैंक वित्तीय संस्थाबाट संस्थापकहरु बाहिरिने लहड नै चल्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार गत आर्थिक वर्ष मात्रै ५ करोड ९५ लाख कित्ता संस्थापक सेयर किनबेच भयो। साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबारमा ४ अर्ब ३० करोडको सेयर वाणिज्य बैंकको हो।

गत वर्ष सबैभन्दा बढी सेयर बिक्री गर्नेमा प्रभु बैंकका संस्थापक अगाडि रहे। उनीहरुले झन्डै एक करोड कित्ता सेयर बेचे। जसको मूल्य एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरै हो। बैंकका प्रमुख सेयरधनी मध्येको गणपति वनस्पति प्रालिले आफ्नो पूरै हिस्सेदारी बिक्री गर्‍यो।

बैंकमा १.२६ प्रतिशत होल्डिङ रहेको सो कम्पनी उद्योगपति शतिश कुमार मोरको लक्की ग्रुप अन्तर्गतको हो। कम्पनीले सेयर बिक्रीका लागि बारम्बार निवेदन दिएको थियो। तर त्यति ठूलो रकमको सेयर सहजै खरिद गर्न कोही राजी भएन।

पछि एक सय रुपैयाँमै बेचेर कम्पनी उम्कियो। त्यस्तै वागमती ग्रुपका मनोज राठी पनि ठूलो परिमाणमा रहेको सेयर बेचेर बैंकबाट निस्किए।

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई गाभेपछि संस्थापकबाट २ ठूला हिस्सेदार बाहिरिए। कुमारीको १.६९ प्रतिशत सेयर भएकी विमलादेवी अग्रवालले २४ लाख ८५ हजार कित्ता सेयर बिक्री गरिन्। साथै नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्त्वको ७ लाख ५७ कित्ता अक्सनमार्फत् बिक्री गर्‍यो।

गाभिनुअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट पनि संस्थापकहरु बाहिरिए। पछिल्लो समय दीपकरत्‍न शाक्यले ३ लाख १५ हजार र कोषराज वन्तको ४ लाख २६ हजार कित्ता बेचे।

त्यसैगरी सिद्धार्थ बैंकका १.१७ प्रतिशत सेयरधनी मदनलाल केडियाले डेढ लाख कित्ता सेयर बिक्रीमा राखेका थिए।

वाणिज्य बैंकको गत आर्थिक वर्षको संस्थापक सेयर कारोबारको स्थिति 

कम्पनीको नामकारोबार भएको संस्थापक सेयर संख्या कारोबार रकम (१० लाख रुपैयाँमा)
प्रभु बैंक९९,४५,६२३ ११७८.१७
सानिमा बैंक५६,१५,०००७४५.०२
कुमारी बैंक४२,८३,६०५ ४८२.३
ग्लोबल आईएमई बैंक३१,९२,२८३ ३४८.९४
प्राइम कमर्सियल बैंक२७,४९,२८९ ३७०.४१
एनसीसी बैंक२६,४४,३०३३१५.३६
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक१५,९१,३११ ६७६.६५
सिद्धार्थ बैंक१०,१५,९५० १६९.४२
सिटिजन्स् बैंक इन्टरनेसनल८,०१,५६४ ९१.५
मेगा बैंक३,९५,५२४ ४९.०४
एनएमबी बैंक२९७,६९६ ४२.९८
एनआईसी एसिया बैंक२,७५,७४१ १०३.०२
माछापुच्छ्रे बैंक२,४७,६६३ ३१.५१
नबिल बैंक१,७८,५८९ ६४.८३
सिभिल बैंक१,५८,१०५ २०.५५
लक्ष्मी बैंक१,२५,००० १२.९१
सेञ्चुरी कमर्सियल बैंक१७,८५२ १.८४
सनराइज बैंक१२६ ०.०२
जम्मा३३,५३५,२२४४३०४.४७