
काठमाडौं। नेपालमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मध्यपूर्वका देशमा पनि प्रदर्शन भएको छ। यो फिल्म आजबाट कतार, यूएई र बहराइनका हलमा रिलिज भएको निर्माण टिमले जनाएको छ।
अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यस फिल्मलाई यी देशहरुमा रिलिज गरेको हो। मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस लगायतका हलमा फिल्म रिलिज भइरहेको छ।
गत शनिबार फूलपातीको दिन रिलिज भएको यस फिल्मले पहिलो दिन २ करोड ४० लाखको व्यापार गरेको थियो। छैटौँ दिनसम्म पनि हलहरुमा दर्शकहरुको उपस्थिति उत्साहजनक रहेको वितरक करण श्रेष्ठ बताउँछन्।
‘पहिलो दिनदेखि नै भष्मे डनलाई दर्शकहरुको साथ छ। अहिलेपनि नेपालभरिका हलहरुमा दर्शकको उपस्थिति बाक्लो छ। जसले हलहरुले राम्रो शो दिनुभएको छ। पहिलो दिनको कलेक्सन सार्वजनिक गरेपनि दसैंले गर्दा बाँकी व्यापारको तथ्यांक भने आउन सकेको छैन। अब एकसाताकै तथ्याङ सार्वजनिक गर्ने छौँ,’ उनले भने।
यो फिल्म साढे ७ वर्षअघि रिलिज भएको पशुपति प्रसादको सिक्वेल हो। समीक्षात्मक हिसाबले सफल फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र भष्मे डनमाथि निर्माण भएको फिल्मले राम्रो कमाइ गरिरहेको छ।
खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। यस फिल्ममा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, वर्षा शिवाकोटी, प्रकाश घिमिरे र माओत्से गुरुङको अभिनय रहेको छ।