
काठमाडौं । विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद-२: भष्मे डन’ प्रदर्शनमा आएको छ। फूलपातीको अवसरमा आजदेखि रिलिज भएको फिल्मले मल्टिप्लेक्स हलहरुमा आक्रामक शो पाएको छ।
देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शनिबार यस फिल्मलाई उपत्यकामा ३३ शो दिँदा उपत्यकाबाहिर भने ३७ शो उपलब्ध गराएको छ। त्यस्तै, बिग मुभिजले ९ शो, एफ क्युबले १० शो र वान सिनेमाजले नयाँ बानेश्वरसहित कालीमाटीको हलमा १३ दिएको छ।
यो फिल्म ‘पशुपति प्रसाद’ को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण भएको हो। खगेन्द्र लामिछानेको निर्माण र लेखन रहेको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्।
फिल्ममा विपिनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल,रवीन्द्र सिंह बानियाँ, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, माओत्से गुरुङको अभिनय छ। फिल्मको ट्रेलरमा स्वस्तिमाको देवीको रुपको गेटअपलाई दर्शकले रुचाएका छन्।
आजबाट दसैं बिदा सुरु भएको र चाडपर्वको अवसर पारेर रिलिज भएको यो फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। हाल उपत्यकासहित मोफसलका हलहरुमा फिल्मको राम्रो बुकिङ भएको छ।