
काठमाडौं। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ। गत वैशाख १ गते सिनेमाहलमा प्रदर्शन गरिएको यो फिल्म दसैंको अवसरमा ओटीटीमा रिलिज गरिएको हो।
सिनेमाघर एपमा ‘जारी’को सर्वाधिक माग गरिएको थियो। सोही दर्शकको डिमान्डलाई मध्यनजर गर्दै ‘जारी’ रिलिज गरिएको सिनेमाघरका सीइओ सागर खरेलले बताए।
यस वर्षको सर्वाधिक हिट फिल्म ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो। उपेन्द्र सुब्बा निर्देशित फिल्ममा दयाहाङ र मिरुनाका साथै रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ।
यसअघि, यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन्। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्।
एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ । ‘जारी’ हेर्न २०० रुपैयाँ रकम तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।