
काठमाडौं। राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएपनि नेप्सेमा गिरावट कायमै रहेको छ। सेयर धितो कर्जा बढाइएपछिको दुई कारोबार दिनमा नेप्से सूचक ४८ अंकले घटिसकेको छ।
राष्ट्र बैंकले बिहीबार साँझ १२ करोडको सीमालाई व्यक्तिगततर्फ १५ र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको थियो। त्यसयता दुवै कारोबार दिन नेप्से घटेको हो। आइतबार ३६ अंकले घटेको नेप्से सोमबार १२.५८ अंकको गिरावटपछि १ हजार ९०८ विन्दुमा आइपुगेको छ।
उत्पादन प्रशोधन र व्यापारबाहेक सबै समूह राताम्मे भएका छन्। बैंकिङ समूहको सूचक करिब एक प्रतिशतले घट्यो। जीवन बीमा र होटल समूह पनि एक प्रतिशतले घटे।
कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार कारोबार रकम १ अर्ब १७ करोडमा सीमित भएको छ। यो रकम आइतबारको तुलनामा करिब ६३ करोड कम हो। नबिल बैंकको सर्वाधिक ३ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सेयर धितो कर्जाको सीमा खारेज गरे बजार बढ्ने लगानीकर्ताको विश्वास थियो। तर राष्ट्र बैंकले सीमाको व्यवस्था खारेज गर्न मानेन। उसले सीमा केही वृद्धि गर्यो। आफूले भनेअनुसार नभएपछि लगानीकर्ताको मनोबल थप घटेको देखिन्छ।
सेयर ब्रोकरहरुले भने सेयर धितो कर्जाको सीमा वृद्धि लगायत नयाँ व्यवस्थालाई राष्ट्र बैंक बजारप्रति लचिलो भएको रुपमा अर्थ्याइरहेका छन्। उनीहरुले सेयर बजार अब बढ्नुको विकल्प छैन भनिरहेका छन्।