
काठमाडौं। एक साताको अन्तरालमा नेप्से १४.१८ अंक ओर्लिएको छ। साताभर जारी भारी उतारचढावका बाबजुद सूचक न्यून दरमा घटबढ भएको हो।
सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको १२ करोडको सीमा परिमार्जन हुने अनुमानमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। तीव्र रुपले हुने गरेको कारोबार बिहीबार जम्मा एक अर्बमा सीमित छ। यसले बजार गतिविधि ह्वात्तै सुस्ताएको प्रष्ट हुन्छ।
आइतबार नै सर्कुलर जारी हुने चर्चा भएपनि साता सकिँदासम्म निर्णय भएको छैन। गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महतसहित अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यक्रममा सहभागी हुन शनिबार मोरोक्को जाँदैछन्।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको २०२३ को वार्षिक बैठक अक्टोबर ९ देखि १५ सम्म मोरक्कोमा हुँदैछ।
चर्चा अनुसार त्यसैले शुक्रबार १२ करोडको सीमामा केही निर्देशन जारी हुन सक्ने सम्भावना छ। शुक्रबार राष्ट्र बैंकको बोर्ड बैठक डाकिएको पनि छ। नभए गभर्नर अधिकारी असोज नाघिसकेपछि मात्रै नेपाल फर्किनेछन्। दसै अघि अगामी १२ दिन मात्रै कार्यालय खुला रहनेछन्।
गभर्नर अधिकारी एउटा नीति खुकुलो पार्ने र अर्को बाट चेप्ने गर्ने प्रवृत्तिका छन्। जसले गर्दा उनका पछिल्ला निर्णयमा निजी क्षेत्रले आपत्ति पनि जनाएको थियो।
अर्कापट्टी अर्थमन्त्री डा महतको बारम्बार पहलका बाबजुद अधिकारीले सो व्यवस्थामा आफ्नो अड्डी छाडेका छैनन्। अर्थमन्त्री महतले सार्वजनिक रुपमा आफूले पहल गरेपनि नियामकले निर्णय नगर्दा सेयर बजार प्रभावित भएको बताएका छन्।
केही दिनअघि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले १२ करोडको सीमा परिमार्जनका लागि गभर्नर अधिकारीलाई आग्रह गरिसकेका छन्।
गभर्नरको निर्णयको व्यग्र प्रतिक्षा हुँदा सेयर बजारले आधारभूत पक्षलाई पत्याउनै छाडेको छ। दुई वर्षपछि लयमा फर्किएको बाह्य क्षेत्र र पर्याप्त तरलताले कुनै महत्त्व नै राख्न छाडेको जस्तै छ।
गत साता १९७१ बन्द भएको नेप्से सूचक यो साता १९५७ को विन्दुमा ओर्लियो। बिहीबार नेप्से ११ अंकले घटेको छ।म्युचुअल फण्ड समूहबाहेक अधिकांश समूह राताम्ये छन्। अघिल्लो दिन डेढ प्रतिशतको वृद्धि लिएको होटल समूह १.१७ प्रतिशतका दरले घटेको छ।