मनसुन बाहिरिन अझै एक हप्ता लाग्न सक्ने, ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

रासस
२०८० असोज १५ गते १४:०९ | Oct 2, 2023
मनसुन बाहिरिन अझै एक हप्ता लाग्न सक्ने, ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि देशभर अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए। उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए।

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले देशभर बदली छ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए। ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं। दुई-तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं’, उनले भने।

उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ। भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ। आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुने पूर्वानुमान छ। घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए।

जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय अक्टोबर २ लाई अनुमान गरेको थियो। त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो। हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ। पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ। मनसुन भित्रिन पनि ढिला भइरहेको छ। यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको हो।

यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो। तर त्यसको ९ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो। सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो। यसपाली मनसुनको सुरुवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको थियो।

यसपाली १२ लाखभन्दा बढी मानिस मनसुनका कारण प्रभावित हुने अनुमान थियो। मनसुनका समयमा औसतभन्दा कम पानी पर्ने आंकलनसमेत गरिएको थियो। औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ।