प्रिमियम आइपीओ निष्कासन गर्नेहरुको सेयर दोस्रो बजारले डिस्काउन्ट गर्दै, ‘प्रिमियम’ जस्टिफाइ गर्न सकेनन्

बिजमाण्डू
२०८० असोज १४ गते ०९:१८ | Oct 1, 2023
प्रिमियम आइपीओ निष्कासन गर्नेहरुको सेयर दोस्रो बजारले डिस्काउन्ट गर्दै, ‘प्रिमियम’ जस्टिफाइ गर्न सकेनन्

काठमाडौं। यस अघिको वियरिस चक्रमा चरम निराशाले नेप्से ११ सयको न्यूनतम विन्दुलाई परीक्षण गर्ने क्रममा थियो। सोही बखत प्रिमियम आइपीओ निष्कासन गर्ने केबल एउटै कम्पनी शिवम् सिमेन्ट बन्यो।

Tata
GBIME
Nepal Life

प्रति कित्ता ३०० रुपैयाँको प्रिमियम दरको आइपीओ महिना दिनमै ७३३ रुपैयाँ नाघ्यो। बजारको प्रतिकूल अवस्थाका बाबजुद सेयरको मूल्य ५९ प्रतिशत वृद्धि भयो। नेप्सेले दिएको ओपनिङ रेन्जको माथिल्लो सीमा ४८५ भन्दा लगभग डेढ गुणा बढ्यो सेयर मूल्य। बजार वियरिस लयले थलापेको बेला पनि मूल्य आकासियो।

प्रिमियममा आइपीओ जारी गर्न बलियो डिमान्डको प्रतीक्षा गर्ने परम्परागत शैलीलाई शिवमले तोडेको थियो। जसले गर्दा नेपाली सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रिमियम दिने जग नै बस्यो। नभए कम्पनीहरु बुलसिस साइकलमा मात्रै आइपीओ जारी गर्ने गर्थे।

तर पछिल्लो समय लगानीकर्ताले प्रिमियम असुल्ने कम्पनीलाई दिने प्राथमिकता ह्वात्तै गुमेको छ। प्रिमियम कम्पनीलाई सामान्यभन्दा माथिल्लो वरीयतामा राख्ने मान्यतामा ह्रास आएको देखिन्छ। जुन यस पटक प्रिमियममा आइपीओ जारी गरेका कम्पनीको सेयर मूल्यले स्पष्ट पार्छ।

कुनै समय सर्वसाधारणदेखि बजारका नामी लगानीकर्तामा प्रिमियमका सेयर पोर्टफोलियोमा जम्मा गर्ने प्रतिस्पर्धा नै चल्थ्यो। नेपाल टेलिकम र शिवम् सिमेन्ट प्रत्येक लगानीकर्ताको रोजाइमा पर्ने सेयर थिए। कम्पनीको बलियो व्यवसायी ट्रयाक रेकर्ड र लाभांशले प्रिमियम आइपीओ ब्लू चिप नै मान्ने चलन पनि बस्न थालेको थियो।

तर प्रिमियम असुलेर आइपीओ जारी गरेका पछिल्ला कम्पनीको मूल्य गतिविधि ठिक विपरीत छ। सेयरहरु ओपनिङ रेन्जको माथिल्लो सीमा कि त छुनै सक्दैनन्। छोइहाले भने पनि बिक्रेताको दबाबले मूल्य समायोजन हुन थालिहाल्छ।

४३५ रुपैयाँमा आइपीओ जारी गरेको घोराही सिमेन्टले प्रिमियम मूल्य टिकाइ राख्ला या राख्दैन भन्ने शंका पैदा भएको छ। प्रिमियम दरका इन्स्योरेन्सको सेयर पनि औसत मूल्यभन्दा बढी छैन। बढी मूल्य चुकाउन लगानीकर्ता इच्छुक नभएको प्रष्ट छ। आइपीओ प्रिमियम भए पनि दोस्रो बजारले सेयर मूल्य डिस्काउन्ट गर्न थालेको छ।

‘प्रिमियम सेयरहरुको कारोबार मूल्यले किन ‘प्रिमियम’ भनेर जस्टिफाइ गर्न सकिरेहको छैन,’ एक विश्लेषकले भने,’ महंगो आइपीओको दोस्रो बजार मूल्य पनि उच्च हुनुपर्ने मान्यतालाई चुनौती दिएको छ। वित्तीयरुपमा सबल र संस्थागत सुशासन भएका कम्पनी पनि आफ्नो मूल्य धेरै माथि टिकाइराख्न सकिरेहका छैनन्।’

उनका अनुसार बजारमा कम्पनीको सेयरको माग बाहेक, विभिन्न अन्य तत्वहरूले आइपीओ मूल्यलाई प्रभाव पार्छ। ‘जस्तै सम्बन्धित उद्योगको वृद्धि सम्भावना, र कम्पनी स्वयंको ट्रयाक रेकर्डले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ,’ उनले भने।

गत आर्थिक वर्ष धितोपत्र बोर्डले सात कम्पनीलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासनको स्वीकृति दियो। जसमध्ये आइपीओ बेचेर लिस्टिङ भइसकेका चारवटा मात्रै छन्। उनीहरुको सेयर मूल्य ओपनिङ रेन्जको माथिल्लो सीमा हाराहारी मात्रै छ।

गत आर्थिक वर्ष धितोपत्र बोर्डले सात वटा कम्पनीलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासनको स्वीकृति दियो। जसमध्ये आइपीओ बेचेर लिस्टिङ भइसकेका चारवटा मात्रै छन्। उनीहरुको सेयर मूल्य ओपनिङ रेन्जको माथिल्लो सीमा हाराहारी मात्रै छ। मूल्य त्यो सीमाभन्दा माथि जानै सकिरहेको छैन। गइहाल्यो भने पनि तुरुन्तै नाफा बुकिङ हुन थाल्छ।

अर्कोपट्टि बुलिस बजारमा जसरी १० औँ दिनसम्म सर्किट लागेर हालै सूचीकृत सेयरको मूल्य बढ्ने गर्छ। त्यो सिद्धान्त बियरिस बजारमा लागू हुँदैन। नयाँ स्टकमा आकर्षण त हुन्छ, तर केही समय मात्र। दुई अथवा तीन दिनमै सेयर मूल्य पुनः सर्किट लेभलमै घटेर कारोबार हुन थाल्छ। बजारको आपूर्तिले मूल्यलाई निकै छिटो समायोजन गर्छ।

‘धेरै प्रतिकूल बजार अवस्था जहाँ सुरुवाती माग नै कमजोर छ त्यस्तो अवस्थामा नयाँ सेयरप्रतिको रुचि कम हुन्छ,’ ती विश्लेषकले भने,’ त्यस माथि इन्फ्लेटेड प्राइसमा किन्ने इच्छा कमैमा हुन्छ।’

आम लगानीकर्ता मात्रै नभएर पछिल्लो समय म्युचुअल फण्डहरु पनि छिटैछिटै प्रोफिट बुकिङमा केन्द्रित छन्। पछिल्लो समय धेरैजसो आइपीओ लिस्टिङ भएकै दिन घट्न थालेका छन्। अलिकति मूल्य आयो कि त फ्याकेर उम्किने चलन बढेको छ। ‘संस्थागत लगानीकर्ता नै होल्ड गर्ने पक्षमा छैनन्। यस्तो बेला खुद्रे लगानीकर्ताबाट मागको अपेक्षा गर्नै सकिँदैन,’ उनले भने।