तिब्बतबाट दोलखा हुँदै काठमाडौँ सुन ल्याउने क्रममा समातिए तस्कर, समातिनेको संख्या पाँच पुग्यो



बिजमाण्डू
२०८० असोज ११ गते २०:४७ | Sep 28, 2023
तिब्बतबाट दोलखा हुँदै काठमाडौँ सुन ल्याउने क्रममा समातिए तस्कर, समातिनेको संख्या पाँच पुग्यो

काठमाडौँ। दोलखाको विगु गाउँपालिकाबाट बरामद भएको सुन तस्करीमा समातिनेको सङ्ख्या पाँच पुगेको छ। बुधबार राति प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा थप दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले जानकारी दिए।

Tata
GBIME
Zonsen

प्रहरीले बुधबार पेम्बा तामाङ, केशर तामाङ र माधव मगरलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट अवैध रूपमा ल्याएको ४ किलो सुन बरामद गरिएको थियो। उनीहरूले सुन चीनको तिब्बत क्षेत्रबाट ल्याएको अनुसन्धानमा देखिएको छ।

‘चीनको फलाक भन्ने ठाउँ हुँदै सुन ल्याएको देखिएको छ। आज म्याद थप गरेर अनुसन्धान गरेपछि अरू कुरा खुल्दै जानेछ,’ डिएसपी खड्काले भने।

उनीहरूले चीनबाट ल्याएको सुन दोलखा हुँदै काठमाडौँ ल्याउने तयारी गरेका थिए। विदेशबाट अवैध रूपमा आउने सुन काठमाडौँबाट भारतसम्म पुग्ने गरेको देखिन्छ। चीनसँग जोडिएको दोलखा जिल्लाका दुई नाका आइतबारदेखि खुल्ला गरिएको थियो।

चीनबाट नेपालमा पनि सुन तस्करी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। चीनसँग सिमाना जोडिएका रसुवा, सिन्धुपाल्चोक, दोलखाका नाकाबाट सुन तस्करी हुने गरेको देखिन्छ। भुकम्पछि बन्द भएको सिन्धुपाल्चोक नाका भने गत भदौको दोस्रो साताबाट सञ्चालनमा आएको थियो। त्यस्तै लामो समयदेखि बन्द भएको रसुवागढी नाका पनि सञ्चालनमा आएको केही महिना मात्र भएको छ।

प्रहरीले भदौको पहिलो साता रसुवामा दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको थियो। उनीहरू पनि पनि चीनबाट ल्याएको सुन काठमाडौँ लैजान लागेको अवस्थामा समातिएका थिए।

प्रत्येक वर्ष देशभरबाट औसत ७५ जनाभन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन्। यसरी समातिनेमा नेपालीसँगै विदेशी नागरिक पनि छन्। सुन विदेशबाट जहाजको प्रयोग गरेर मात्र नभएर चीनबाट स्थलमार्गबाट पनि तस्करी हुने गरेको छ। गएको पाँच वर्षमा १ सय ८४ किलो सुन प्रहरीले बरामद गरिसकेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ३१ किलो ३८३ ग्राम सुनसहित प्रहरीले ८८ जनालाई पक्राउ गर्न सफल भएको थियो। जसरी प्रहरीले बरामद गरेको सुन जफत गरेर राज्य कोषमा ९७ करोड ४७ लाख ३९ लाख रुपैयाँ जम्मा भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८ मा ५५ जना मानिस समातिँदा उनीहरूको साथबाट ३८ किलो सुन फेला परेको थियो। जसबापत २७ करोड १५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा ३४ किलो ३०० ग्राम तस्करीको सुन फेला परेको थियो।