हेलिकोप्टर उडानमा श्री र फिस्टेलको चरम लापरबाही, प्राधिकरणले लगायो प्रतिबन्ध

बिजमाण्डू
२०८० असोज ११ गते १६:३१ | Sep 28, 2023
हेलिकोप्टर उडानमा श्री र फिस्टेलको चरम लापरबाही, प्राधिकरणले लगायो प्रतिबन्ध

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेल एयरलाई कारबाही गरेको छ। प्राधिकरणले गम्भीर लापर्बाही गरेको पाइएपछि  श्री र फिस्टेल एयरको हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ।

Tata
GBIME
NLIC

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा भीएफआर ‘भिजुअल फ्लाइट रुल्स’ अन्तर्गतको मापदण्ड पालना नगरेका कारण दुवै कम्पनीलाई हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका एक कर्मचारीले बताए।

‘लुक्लामा भीएफआर उडान गर्दा एउटै हेलिप्याडमा घना बादल लागेको समयमा सँगै उडान गरेको पाइएको छ। दुवै कम्पनीको हेलिकोप्टर पटक पटक टेकअफ र ल्याण्डिङ गरेको जानकारी आएको छ’, प्राधिकरणका ती कर्मचारीले भने, ‘१५ सय मिटर उचाइ भिजिब्लिटी र ५ किलोमिटर लम्बाइ भिजिब्लिटी नभएको अवस्थामा पनि बलजफ्ती उडान गरेको पाइएको छ।’

यसलाई प्राधिकरणले गम्भीर लापर्बाहीका रुपमा लिइ दुवै कम्पनीका एएस-३५० सिरिजका हेलिकोप्टर ग्राउण्डेड गराएको छ। ती कर्मचारीका अनुसार प्राधिकरणले फिस्टेलका २ र श्री एयरको १ हेलिकोप्टर सञ्चालनमा प्रतिबन्ध लगाएको हो।

यी दुवै कम्पनीले केही समयअघि मौसमी प्रतिकूलतामा पनि लुक्लामा यात्रुसहित उडान गरेका थिए। ‘प्राधिकरणले आफ्‍नै कर्मचारीको लापरवाहीमा त कारवाही गर्दै आएको छ भने यात्रुको सुरक्षामा लापरबाही गर्ने कम्पनीसामु चुप लागेर बस्ने कुरै भएन नि’, उनले भने।