काठमाडौं। नेपालमा ग्रीन क्याल्सियम एमोनियम नाइट्रेड मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ।
लगानी बोर्ड र रिनिकोला एसडीएन बीएचडी (मलेसिया)बीच समझदारीमा पत्रमा हस्ताक्षर भएको हो। लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले मल कारखाना स्थापना सम्बन्धी विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ।
रिनिकोलाले विजुली प्रयोग गरेर मल उत्पादन गर्न ०७९ पुस २४ गते प्रस्ताव पेश गरेको थियो। सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार कम्पनीले प्रस्ताव गरेको हो।
सो प्रस्तावका आधारमा बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै, प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०८० भदौ ८ मा भएको बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो।
समझदारीपत्रको प्रावधान बमोजिम अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नुपर्नेछ।
तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यो परियोजनाले ईलक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र ग्रीन क्याल्सियम एमोनियम मल तयार पार्ने अवधारणा राखेको छ।
करिब २६० मिलियन अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६ सय टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९७५ टन ग्रीन क्याल्सियम एमोनियम मल उत्पादन गर्ने प्रस्ताव गरिएको छ।
बोर्ड सीईओ भट्टले परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।