काठमाडौं। नेपाल वायुसेवा निगमले साढे ८ करोड रुपैयाँ अमेरिकी डलर भित्र्याएको छ। विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालयले गत वर्ष धेरै विदेशी मुद्रा भित्र्याउने पहिलो कम्पनीका रुपमा निगमलाई सम्मान गरेको हो।
मन्त्रालयले सन् २०२२ अगष्टदेखि २०२३ अगष्टलाई आधारमा धेरै विदेशी मुद्रा ल्याउने कम्पनीहरुलाई सम्मान गरेको हो।
निगमपछि सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउनेमा एमएस समूह अन्तर्गतको एभरेष्ट हस्पिटालिटी एण्ड होटल रहेको छ। यो कम्पनीले ५० लाख अमेरिकी डलर भित्र्याएको छ। एभरेष्ट हस्पिटालिटी अन्तर्गत नक्सालमा पाँच तारे होटल मेरियट र ठमेलमा मेरियट फेयरफिल्ड होटल संचालनमा छ।
होटलका संचालक शशिकान्त अग्रवालले कोभिड नियन्त्रणपछि पर्यटक आगमनसँगै विदेशी मुद्रा आर्जन बढेको बताए। उनले अन्तर्राष्ट्रिय चेनले होटलको व्यापार राम्रो भएको जिकिर गर्दै चेन होटललाई दिइएको पाँच प्रतिशत मुनाफा लैजाने पाउने व्यवस्था पुर्नविचार गर्न आवश्यक रहेको बताए।
अग्रवालले क्यासिनोका कारण पनि व्यापार राम्रो भएको बताउँदै भारतबाट आउने पर्यटकले २५ हजार रुपैयाँ मात्रै ल्याउन पाउने व्यवस्था परिमार्जन आवश्यक रहेको बताए। ‘पर्यटन उद्योगमा क्यासिनोको महत्वपूर्ण भूमिका छ। त्यसैले दुवईमा क्यासिनो सिटीनै बनाउन लागिएको छ,’ उनले भने।
मन्त्रालयले पर्वतारोहण र ट्रेकिङमार्फत ४३ लाख अमेरिकी डलर भित्र्याउने सेभेन समिट ट्रेक्स, ट्राभल टुर मार्फत साढे ३३ लाख अमेरिकी डलर भित्र्याउने सीता वर्ल्ड ट्राभल, साहसिक खेलमार्फत ४४ हजार अमेरिकी डलर भन्दा बढी भित्र्याउने पोखराको अल्ट्रालाइट लगायत कम्पनीलाई सम्मान गरेको छ।
यो अवसरमा मन्त्रालयले कपिलवस्तुमा रहेको लुम्बिनी ग्रीन रिसोर्ट, चितवनको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे, नर्वे र नेपालका पर्वतारोही क्रिष्टिन हेरिला र तेन्जेन शेर्पालाई सम्मान गरेको छ।