कुशकुमार जोशीले भने-‘उद्योग नचाहिने हो भने हामी बन्द गरेर मान्छे निर्यात गर्ने कम्पनी खोल्छौं’



बिजमाण्डू
२०८० असोज ९ गते १५:३९ | Sep 26, 2023
कुशकुमार जोशीले भने-‘उद्योग नचाहिने हो भने हामी बन्द गरेर मान्छे निर्यात गर्ने कम्पनी खोल्छौं’

काठमाडौं। नेपाल व्यवसायिक पहल(एनबिआई)का अध्यक्ष कुशकुमार जोशीले औद्योगिक वातावरण नबनाउँदा मान्छे निर्यात गर्ने मुलकको रुपमा स्थापित भएको बताएका छन्।

Tata
GBIME
Zonsen

 ‘विश्वमा हाम्रो परिचय भनेको मान्छे निर्यात गर्ने देश हो। हामीमा अझै पनि चेत खुलेको छैन,’ नेपाल एलपी ग्यास उद्योग संघको वार्षिक साधारणसभामा उनले भने, ‘केही वर्षमा यो देशनै रित्तिनेछ। त्यति बेला बल्ल हाम्रो चेत खुल्नेछ।’

उनले मुलुकमा श्रम र अर्थ मन्त्रालयले मात्रै काम गरिरहेको बताउँदै भने-‘श्रम मन्त्रालयले विदेशमा मान्छे पठाइरहेको छ। अर्थ मन्त्रालयले आयात गर्न दिएर राजस्व उठाइरहेको छ। श्रम गर्न गएका मान्छेले रेमिटेन्स पठाएर हामी खुशी भइरहेका छौं।’

उनले मञ्चमा रहेका उद्योगमन्त्री रमेश रिजाललाई इंगित गर्दै भने-‘तपाईँले उद्योग खोल्ने वातावरण किन बनाइरहनुभएको छैन ? हामीले पाएका पिडा संवोधन गर्न किन ढिलाई गर्नुभएको छ ?’ जोशीले उद्योग खोल्नका लागि कसैले पनि सहयोग नगरेको बरु उल्टै निरुत्साहित गरेको समेत जिकिर गरे।

‘बैंक तथा वित्तीय संस्थाले पनि जोखिम भएको क्षेत्र भनेर उद्योगलाई राखेको छ। त्यसैले ब्याज पनि १४/१५ प्रतिशत पुर्‍याइरहनुभएको छ,’ उनले भने, ‘कोही पनि उद्योग खोलेको हेर्न चाहिरहनुभएको छैन।’ जोशीले उद्योगीले आफ्नो समस्या सुनाउने ठाउँ नपाएको गुनासो गर्दै सडकमा आउने परिस्थिति भएपनि आउन नसकेको धारणा राखे। ‘हामी सडकमा आउन पनि सक्दैनौं। त्यही भएर मन्त्रीज्यू हासेर तपाईँलाई हामीले आफ्नो समस्या सुनाइरहेका छौं।’

जोशीले ५० वर्ष अघिको २० प्रतिशत मुनाफा लिएमा कालोबजारी हुने ऐन कार्यान्वयन गरिरहेको बताउँदै भने-‘मन्त्रीज्यू आयल निगमले कति मुनाफा खाइरहेको छ ? नेपाल विद्युत प्राधिकरणको नाफा कति छ ? सरकारी संस्थाले जति नाफा लिएपनि हुने तर व्यवसायीलाई भने २० प्रतिशत भन्दा बढी लियो भन्दै कारवाही गर्ने ?’

जोशीले सरकार र सरकारी निकाय उद्योगी व्यवसायीप्रति अनुदार रहेको बताउँदै सरकारलाई उद्योग व्यवसाय नचाहिने घोषणा गर्न समेत चेतावनी दिए। ‘सरकारको यस्तै सोच हो भने हामी उद्योग व्यवसाय बन्द गरेर मान्छे निर्यात गर्ने कम्पनी खोल्छौं। हामी पनि त्यही काम गर्छौं,’ उनले भने।