चीनमा प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता: मित्रताको अधिक चर्चा, उपलब्धि के?

विधुर ढकाल
२०८० असोज ८ गते २२:२४ | Sep 25, 2023
चीनमा प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता: मित्रताको अधिक चर्चा, उपलब्धि के?


सांघाई। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त छन्। बेइजिङमा सोमबार समकक्षी ली छियाङ्सँग भेटवार्ता गरे। भेटहरुमा दुई देशबिचको मित्रताको अधिक चर्चा भए पनि प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि गरेको वाचा अनुसारका एजेन्डामा भने खासै छलफल भएको देखिन्न।  

Tata
GBIME
NLIC

सोमबार बिहान उनले चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लचीसँग भेट गरे। लगत्तै ग्रेट हल अफ पिपल परिसरमा गार्ड अफ अनरको सम्मान प्राप्त गरेका प्रचण्ड नेतृत्वको नेपाली टोली र चिनियाँ समकक्षी ली नेतृत्वको चिनियाँ टोलीबिच द्विपक्षीय वार्ता भयो। वार्तापछि दुई देशबिच विभिन्न १३ वटा समझदारीमा हस्ताक्षर भयो।

दुवै देशका प्रतिनिधिहरूले अर्थतन्त्र तथा व्यापार, कृषि, विज्ञान तथा प्रविधि, संस्कृति, प्रकाशन, डिजिटल अर्थतन्त्रलगायतका १३ विषयमा हस्ताक्षर गरेका छन्।

न्युयोर्क हुँदै पूर्वी चीनको हाङ्चउमा पुगेका उनले काठमाडौंबाट उड्नु अगाडि दुई देशबिच थप नाका खोल्ने तथा पूर्वाधार निर्माणमा सहयोग माग्ने बताएका थिए। तर, सम्पन्न समझदारी अनुसार त्यसतर्फ ठोस् प्रगति भएको देखिँदैन।

विशेषगरी दुई देशबिच २०१७ मा हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क अन्तर्गतका परियोजनाका बारेमा पनि खासै प्रगति हुन सकेन्। यता बेइजिङमा रहँदा दुई देशबिच संयुक्त वक्तव्य जारी गर्ने कार्यतालिका रहे पनि संयुक्त वक्तव्य जारी भइसकेको छैन।

चीन सरकारले आफ्नो आधिकारिक वेबसाइटमा भेटवार्ताको समाचार सार्वजनिक गरे पनि नेपालको तर्फबाट भेटवार्तामा भएका छलफलबारे अहिलेसम्म आधिकारिक रूपमा वक्तव्य सार्वजनिक भइसकेको छैन। 

मित्रताको चर्चा धेरै उपलब्धि के?

प्रधानमन्त्री हाङ्चउमा ओर्लिएसँगै चीनले उनलाई विशेष महत्त्व दियो। हाङ्चउमा विमानस्थलमै सलामी पाएका उनले बेइजिङमा पनि सलामी पाए। हाङ्चउमा चिनियाँ राष्ट्रपतिसँग प्रतिनिधि स्तरमा वार्ता गरेका उनले बेइजिङमा पनि प्रतिनिधिस्तरमा वार्ता गरे। यी भेटमा अधिक चर्चा दुई देशबिचको मित्रताकै विषय रह्यो।

चिनियाँ राष्ट्रपति सिले हाङ्चउमा भएको भेटमा चीन र नेपाल हिमाल र नदीले जोडिएका र पुस्तौँदेखि मित्रवत् रहेको भन्दै मित्रताको चर्चा गरे।

‘६८ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तको पालना गर्दै साना ठूला मुलुकबिच समान व्यवहार र विन–विन सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्,’ उनले भनेका थिए, ‘चीन र नेपाल राष्ट्रिय विकास र समृद्धिको मार्गमा एकर्काका साझेदार र अवसर हुन्। चीनले चीन-नेपाल सम्बन्धलाई निकै महत्त्व दिएको छ र नेपालसँग विकास रणनीतिलाई मजबुत बनाउन र चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढवा दिन इच्छुक छ।’

चिनियाँ राष्ट्रपति सिले दुवै पक्षले एकर्काका मुख्य हित र प्रमुख चासोका विषयमा एक अर्कालाई सधैं बुझ्नुपर्नेमा जोड दिए।

‘बेल्ट एन्ड रोड’ निर्माणमा चीन-नेपाल सहकार्यले निरन्तर सकारात्मक परिणाम हासिल गर्नेमा पनि उनले विश्वास व्यक्त गरेका छन्। नेपाल भूपरिवेष्टितबाट भूजडित मुलुकमा छिटोभन्दा छिटो रूपान्तरण गर्न सहयोग पुर्‍याउन ध्यान केन्द्रित गर्नुपर्ने पनि उनले बताएका छन्।

बेइजिङमा भएको भेटवार्तामा पनि दुवै चिनियाँ नेताले मित्रताकै कुरा दोहोर्‍याए। प्रधानमन्त्री लिले करिब ७० वर्षअघि चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै एक अर्कालाई सधैं सम्मान, विश्वास र सहयोग गरेको भन्दै चर्चा गरे।

द्विपक्षीय सम्बन्ध स्वस्थ र स्थिर रूपमा विकसित भएको, विभिन्न क्षेत्रमा सहकार्यमा नयाँ उपलब्धि हासिल भएको उदाहरण उनले प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री लिले नेपालसँग दुई देशबिच राजनीतिक पारस्परिक विश्वासको बलियो आधारशिला निर्माण गर्न चीन इच्छुक रहेको समेत दोहोर्‍याए।

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न र नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्ग अवलम्बन गर्न नेपाललाई चीनले सदाझैं दृढतापूर्वक साथ दिनेछ,’ उनले बताए।

अर्कोतर्फ प्रधानमन्त्री हाङ्चउ र बेइजिङमा रहँदा भएका छलफलमा चर्चा भएको विषय हो बेल्ट एन्ड रोड इनिसिएटिभ। तर ठोस उपलब्धि भएको संकेत भने देखिएको छैन।

नेपालले वार्ताबारे सार्वजनिक वक्तव्य जारी गरिसकेको छैन। चीनले चिनियाँ भाषामा जारी गरेको वक्तव्यमा पनि ठोस योजना अगाडि बढेको संकेत देखिएको छैन।

भेटवार्ताहरूमा प्रचण्डले चिनियाँ नेतृत्वको प्रशंसा गरे। एक चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्‍याए। नेपाललाई अहिलेसम्म पुर्‍याएको सहयोगमा धन्यवाद दिए।

प्रचण्डले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड’ पहललाई समर्थन गरेको, पूर्वाधार कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, पर्यटन, र अन्य क्षेत्रमा चीनसँग सहयोग आदानप्रदानको पनि चर्चा गरे।

जीसीआई, जीसीसीमा अड्किएको छलफल

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा चिनियाँ राष्ट्रपति सिले चीनले अगाडि सारेका पहलहरूको बारेमा चर्चा गरेका थिए। चिनियाँ विदेश मन्त्रालयले चिनियाँ भाषामा जारी गरेको वक्तव्यमा नेपालले राष्ट्रपति सिले अगाडि सारेका पहलहरू; ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीसीआई), ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा नेपालले समर्थन गरेको उल्लेख छ।

‘नेपाल राष्ट्रपति सी चिनफिङले अघि सारेका महत्त्वपूर्ण विचार र पहलहरूको शृङ्खलालाई समर्थन गर्दछ,’ चिनियाँ भाषामा जारी वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई अझ न्यायपूर्ण र उचित दिशामा प्रवर्द्धन गर्न, विकासशील देशहरूको साझा हितको रक्षा गर्न र मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्न चीनसँग मिलेर काम गर्न इच्छुक छ।’

बीआरईमा नेपाल सक्रिय सहभागी हुने पनि वक्तव्यमा भनिएको छ।

‘नेपाल बेल्ट एन्ड रोडको संयुक्त निर्माणमा सक्रिय रूपमा भाग लिनेछ र हिमालयपार त्रिआयामिक कनेक्टिभिटी नेटवर्कको निर्माणलाई बढवा दिनेछ,’ चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा प्रचण्डको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘जसले नेपालको आर्थिक विकासलाई व्यापक रूपमा बढवा दिने विश्वास लिएको छु।’

अर्कोतर्फ प्रधानमन्त्रीको सचिवालयले भेटपछि सार्वजनिक गरेको सूचनामा प्रचण्डले कुनै पनि सुरक्षा पहलहरूमा सहभागी नहुने स्पष्ट रूपमा बताएको दाबी गरिएको छ।

यससम्बन्धी आधिकारिक वक्तव्य प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेका छैनन्।

प्रधानमन्त्रीको निजी सचिवालयका तर्फबाट सार्वजनिक गरेको सूचनामा बेल्ट एन्ड रोड इनिसिएटिभमा भने सक्रिय सहभागी जनाउने प्रतिबद्धता जनाएको बताइएको छ।