दसैं बिदामा विदेश घुमघामको प्याकेज: सस्ता गन्तव्यमा धमाधम बुकिङ

वसन्तराज उप्रेती
२०८० असोज ८ गते १६:५७ | Sep 25, 2023
दसैं बिदामा विदेश घुमघामको प्याकेज: सस्ता गन्तव्यमा धमाधम बुकिङ


काठमाडौं। दसैंतिहार बिदामा विदेश घुम्न चाहनेका लागि ट्राभल एजेन्सीहरुले विभिन्न प्याकेज ल्याएका छन्। तर हवाइ भाडा वृद्धि लगायत कारण प्याकेज निकै महँगो बनेकाले घुम्न रुचाउनेहरुले सस्ता गन्तव्यमा बढी जोड दिएका छन्।

Tata
GBIME

दसैं बिदा नजिकिएसँगै घुम्न रुचाउनेहरुले ट्राभल एजेन्सीसँग प्याकेजबारे बुझ्न थालिसकेका छन्। इण्डोनेसिया, थाइल्याण्ड, दुबई, सिंगापुर, मलेसिया, माल्दिभ्स, इजिप्ट लगायत विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमणका लागि बुकिङ सुरु भइसकेको टुर तथा ट्राभल कम्पनीले जनाएका छन्।

गन्तव्य अनुसार प्याकेज ७७ प्रतिशतसम्म महँगो बनेको छ। त्यही कारण सस्ता गन्तव्यमा बढ्ता चासो देखिएको छ।

मेगा बाइट ट्राभलका सञ्चालक चित्र गुरुङले बिदामा विदेश भ्रमणका लागि बुकिङ सुरु भइसकेको बताए। उनका अनुसार कोभिड पहिले सामान्य अवस्थामा जस्तै प्याकेजबारे चासो आइरहे पनि बुकिङ भने अपेक्षितरुपमा हुन सकेको छैन। ‘धमाधम बुकिङ हुन थालेको त छ। तर प्याकेजबारे चासो राख्‍ने सबैले भने बुकिङ गरिरहेका छैनन्। धेरैले सस्ता गन्तव्य रुचाएका छन्’, गुरुङले भने।

हवाइ टिकटको भाउमा वृद्धिले प्याकेज महँगो बन्न पुगेकाले घुमघामका लागि विदेश जान चाहने कतिपय हच्किएका छन्। हवाइ टिकट महँगो हुनुको एउटा कारण भ्याट र बिलासिता कर हो। यसबाहेक हवाइ सेवा प्रदायक कम्पनीले लागत बढेको कारण देखाएर भाडा बढाएका छन्।

बोन ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोदराज पौडेलले आउटबाउण्डको माग कोभिड अगाडिको अवस्थामा आए पनि महँगो हवाइ भाडा र डलरको भाउमा वृद्धिका कारण बुकिङ भने अपेक्षितरुपमा नभएको बताए। उनका अनुसार कोभिड अगाडि ६० हजार रुपैयाँको प्याकेज अहिले १ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

हवाइ भाडा त महँगो भएको छ नै, कतिपय गन्तव्यमा भिसा शुल्कले पनि प्याकेज महँगो बन्न पुगेको छ। जस्तो कि नेपालीहरुले घुम्न रुचाउने गन्तव्यमध्ये एउटा इण्डोनिसियाको बाली हो। तर इण्डोनेसियाले भिसा शुल्क बढाएर २ सय अमेरिकी डलर पुर्‍याएको छ।

एकातिर शुल्कमा वृद्धिका साथै अर्कातिर भिसा लाग्न पनि दुई साताभन्दा बढी लाग्ने गरेको छ। जसका कारण नेपालीहरु इण्डोनेसियाबाट अब भियतनाम र माल्दिभ्सतिर डाइभर्ट भइरहेको घुमघाम प्याकेज बिक्रेता कम्पनीहरुले जनाएका छन्।

उनीहरुका अनुसार सिंगापुरको प्याकेज सबैभन्दा महँगो बन्न पुगेको छ। त्यहाँको प्याकेज कोभिड अगाडिको तुलनामा अहिले ७७ प्रतिशतसम्म महँगिएको छ। कोभिड अगाडि सिंगापुरमा बिदा मनाउन जानेले ७४ हजार रुपैयाँको प्याकेज पाएका थिए। अहिले त्यही प्याकेजको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ।

कम्पनी र गन्तव्य अनुसार प्याकेज फरक फरक भएपनि मूल्य २९ देखि ७७ प्रतिशतसम्म बढेको देखिन्छ। हवाइ भाडा लगायत कारण प्याकेज महँगो भएपछि युरोपको माग भने ह्‍वात्तै घटेको छ। सी लिंक ट्राभलका कार्यकारी निर्देशक विशिष्ट कोइरालाले युरोपको प्याकेज निकै कम बुकिङ भइरहेको बताए। ‘विदेश घुम्न जानका लागि प्याकेजबारे धेरैले बुझिरहेका छन्। तर बुकिङ सोचे अनुसार भइरहेको छैन। युरोपको प्याकेजमा बुकिङ निकै कम छ’, उनले भने।

पेरिस र स्वीजरल्यान्डको प्याकेज कोभिडअघि ३ लाखमा बेचेका कम्पनीले अहिले त्यो मूल्य ५ लाख रुपैयाँ पुर्‍याएका छन्।यो पाँच रात ६ दिनको प्याकेज हो। ‘युरोपको प्याकेज निकै महँगो भएकाले घुमघाम रुचाउनेहरु मलेसिया, बैंकक र दुबईतर्फ मोडिएका छन्’, कोइरालाले भने।

भ्रमण गन्तव्य चार वर्षअघिको प्याकेजको मूल्य(रुपैयाँमा)अहिलेको प्याकेजको मूल्य (रुपैयाँमा)
युरोपेली देश (स्वीटजरल्याण्ड र फ्रान्स)३ लाख ५ लाख
मलेसिया७४ हजार१ लाख
दुबई६० हजार१ लाख
थाइल्याण्ड५५ हजार८० हजार
सिंगापुर७४ हजार१ लाख ३० हजार
इण्डोनेसिया७५ हजार१ लाख २० हजार
माल्दिभ्स१ लाख ४० हजार१ लाख ८० हजार
ट्राभल एजेन्सीहरुले उपलब्ध गराएको मूल्यमा आधारित

त्यसो त दुबईको प्याकेज पनि ६७ प्रतिशतसम्म महँगो बनेको छ। कोभिडअघि दुबई जान ६० हजारको प्याकेज थियो। तर अहिले त्यही प्याकेजका लागि १ लाख रुपैयाँ तिर्नुपर्छ। मलेसिया र बैंककको प्याकेज शुल्क वृद्धि तुलनात्मकरुपमा कम देखिन्छ।

ट्राभल एजेन्सीहरुले अहिले मलेसियाको प्याकेज १ लाख र बैंककको प्याकेज ८० हजार रुपैयाँमा बेचिरहेका छन्। कोभिडअघि यही प्याकेज निकै कम थियो। मलेसियामा बिदा मनाउन गएकाहरुले ७४ हजार र बैंकक गएकाहरुले ५५ हजार रुपैयाँ तिरेका थिए।

लक्की ट्राभलका प्रबन्ध निर्देशक शनम शाक्यले डलरको भाउ बढ्दा र हवाइ भाडाका कारण प्याकेज महँगो बन्न पुगेको र बुकिङ अपेक्षा अनुसार नभएको बताए।

‘अहिले हवाइ भाडादर नै वृद्धि भएको अवस्था छ। यसमा पनि थाइल्याण्ड, इन्डोनेसिया, इजिप्ट लगायत गन्तव्यमा भिसा प्रक्रियाले निकै अप्ठ्यारो छ। दसैंका लागि अहिले भिसा अपोइन्टमेन्ट लिन सक्ने अवस्था छैन‚’ प्रबन्ध निर्देशक शाक्यले भने, ‘अरु ठाउँको तुलनामा दुबईका लागि बुकिङ आइरहेको छ।’

माल्दिभ्सको ५ रात ६ दिनको बिदा प्याकेज अहिले १ लाख ८० हजार रुपैयाँमा बिक्री भइरहेको छ। यो मूल्य कोभिडअघिको तुलनामा २९ प्रतिशत बढी हो। माल् त्यसो त माल्दिभ्स जानका लागि अहिले दुईतर्फी हवाइ भाडा नै ७० हजार रुपैयाँभन्दा बढी छ।

भ्रमण गन्तव्यचार वर्षअघिको दुईतर्फी हवाइ भाडादर (रुपैयाँमा)अहिलेको दुईतर्फी हवाइ भाडादर (रुपैयाँमा)
दुबई४० हजार५२ हजार
मलेसिया३९ हजार ६० हजार
सिंगापुर४० हजार ७० हजार
इजिप्ट५० हजार ८० हजार
इण्डोनेसिया५५ हजार७५ हजार
माल्दिभ्स५५ हजार ७० हजार
थाइल्याण्ड३५ हजार ५७ हजार
ट्राभल एजेन्सीहरुले उपलब्ध गराएको मूल्यमा आधारित

इण्डोनेसिया, थाइल्याण्ड, दुबई, सिंगापुर, मलेसिया, माल्दिभ्स, इजिप्ट लगायत गन्तव्यमा दुईतर्फी हवाइ भाडा ७५ प्रतिशतसम्म बढेको छ। डलरको भाउमा वृद्धि हवाइ भाडा महँगिनुको एउटा कारण हो।