चाडपर्व नजिकिँदा पोखरामा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान बेच्ने पसललाई जरिवाना

बिजमाण्डू
२०८० असोज ८ गते १०:०९ | Sep 25, 2023
चाडपर्व नजिकिँदा पोखरामा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान बेच्ने पसललाई जरिवाना
तस्बिर : जिल्ला प्रशासन कार्यालय, कास्की

कास्की। ठुला चाडपर्व नजिकिएसँगै पोखरा महानगरमा बजार अनुगमन सुरु भएको छ। अनुगमन टोलीले म्याद सकिएको सामान बिक्री गरेको पाइएका पसल तथा व्यापारिक फर्मलाई कारबाही सुरु गरेको छ।

Tata
GBIME
NLIC

जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुंगामा रहेको भागिरथ स्टोर्सलाई जरिवानाको कारबाही गरेको छ। अनुगमन गर्दा म्याद गुज्रिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र आठ लिटर हेलो तेल गरी २१ पोका खानेतेलसहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहिएको नरिवल फेला परेको थियो। ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ।

स्टोर्समा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा, प्रतिकिलो ९७ रुपैयाँमा खरिद गरेको चिनी १ सय २० रुपैयाँमा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

उनका अनुसार समितिले स्टोर्सका सञ्‍चालक विवेककुमार गुप्तालाई ३ दिनभित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ।

त्यसैगरी समितिले पोखरा-५ पर्स्याङमा रहेको केसी स्टोर्सलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ। स्टोर्सले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि ३ दिनभित्र प्रशासनमा हाजिर हुन सञ्‍चालक तेजबहादुर केसीलाई निर्देशन दिएको छ।

त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको छ।

पोखराका २ दर्जन खाद्य स्टोर्सको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको बताइन्छ। मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ। रासस