एनएसीले अनुमति नपाएपछि प्राधिकरणको प्रतिशोध, कोरियन एयरको काठमाडौं उडानमा प्रतिबन्ध

वसन्तराज उप्रेती
२०८० असोज ७ गते १६:१० | Sep 24, 2023
एनएसीले अनुमति नपाएपछि प्राधिकरणको प्रतिशोध, कोरियन एयरको काठमाडौं उडानमा प्रतिबन्ध

काठमाडौं। नेपाल नागरिक उड्‍डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

सरकारी ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई कोरियाको नागरिक उड्‍डयन निकायले उडान अनुमति नदिएको प्रतिशोधमा प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्धको निर्णय लिएको हो।

प्राधिकरणले प्रतिबन्ध कहिलेदेखि लगाउने भन्‍ने चाहिँ खुलाएको छैन। उसले प्रतिबन्धको निर्णय गरी कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न पत्र पठाइसकेको छ।

प्राधिकरणका उपमहानिर्देशक जगन्‍नाथ निरौलाले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरे। ‘हो, हामीले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने निर्णय अनुसार टिकट बिक्री नगर्न उसको नेपालस्थित जीएसएलाई पत्र पठाइसकेका छौं’, प्राधिकरणका प्रवक्ता समेत रहेका निरौलाले भने।

सम्झौता अनुसार कोरियन एयरले केही वर्षयता नेपालमा उडान गर्दै आएको छ। निगमले भने ५ वर्षभन्दा पहिलेदेखि सिओलमा उडानका लागि प्रयास गरेपनि उडानको अनुमति पाएको छैन।

Image: koreanair.com

कोरियन एयरले नेपालमा हाल सातामा ५ वटा उडान गर्दै आएको छ। रोजगारीका लागि कोरिया जाने नेपाली श्रमिकले कोरियन एयर प्रयोग गर्दै आएका थिए।

काठमाडौं-सिओल उडानमा अहिले कोरियन एयरको एकाधिकार छ। जसका कारण उसले यात्रुसँग महँगो भाडा लिंदै आएको छ। यात्रुले १० घण्टाको काठमाडौं-अष्ट्रेलिया भन्दा ६ घण्टाको काठमाडौं-सिओल उडानमा बढी भाडा तिर्दै आएका छन्।

नेपाल र कोरियाबीच २००४ सेप्टेम्बर ४ मा द्विपक्षीय हवाइ सम्झौता भएको थियो। सम्झौतामा दुवै देशका हवाइ सेवा प्रायक कम्पनीले सातामा ८ सयका दरले वर्षमा ४१ हजार यात्रुलाई सेवा दिन पाउने उल्लेख छ।

सम्झौता अनुसार कोरियन एयरले केही वर्षयता नेपालमा उडान गर्दै आएको छ। निगमले भने ५ वर्षभन्दा पहिलेदेखि सिओलमा उडानका लागि प्रयास गरेपनि उडानको अनुमति पाएको छैन।

कोरियाको कोरिया अफिस अफ सिभिल एभिएसन (कोका)ले निगमलाई अनुमति दिन विभिन्‍न बहानाबाजी गरी आलटाल गर्दै आइरहेको छ। ‘कोरियाले हाम्रो ध्वजाबाहकलाई विभिन्‍न बहानाबाजीमा अनुमति दिइरहेको छैन। कहिले अडिट गर्न आउँछु भन्छन्। कहिले के भन्छन्। अनुमति दिंदैनौं पनि भन्दैनन्। झुलाउने काम मात्र भयो’, उपमहानिर्देशक निरौलाले भने, ‘हवाइ सम्झौता अनुसार हामीले उडान गर्न नपाएपछि उसलाई एकाधिकार कायम गरिरहन दिने कुरा त भएन नि।’

निगमका तत्कालीन अध्यक्ष सुगतरत्‍न कंसाकारले कर्मचारी सञ्‍चय कोष र नागरिक लगानी कोषसँग २४ अर्ब ऋण लिएर २०७५ असारमा २ वटा वाइड बडी जहाज किनेपछि कोरियामा उडानका लागि पहल थालेका थिए। निगमले त्यतिखेर कोरियामा कार्यालय खोल्ने तयारी नै गरेको थियो। तर कोकाले उडान अनुमति दिन आलटाल गरेपछि निगम कार्यालय खोल्न हच्किएको थियो।

कोकाले निगमलाई उडान अनुमति नदिएका कारण कोरियन एयरको एकाधिकार भइ काठमाडौं-सिओल भाडा महँगो भएको निष्कर्षमा पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीले गत फागुनमा नै उडान स्थगत गराउन निर्देशन दिएका थिए।