
सांघाई। चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाललाई भूपेरिवेष्ठित राष्ट्रबाट भू-जडित राष्ट्रमा परिणत गर्न चीनले हरसम्भव सहयोग गर्ने बताएका छन्। चीनको चचियाङ प्रान्तको राजधानी हाङ्चउमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र सि नेतृत्वको टोलीबिचको द्विपक्षीय भेटवार्ताका क्रममा उनले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन्।
१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार बिहान प्रचण्ड नेतृत्वको नेपाली टोली हाङचउ पुगेको थियो। अपराह्न भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल छिट्टै भू-जडित राष्ट्रमा परिणत हुने राष्ट्रपति सिले बताएका हुन्।
हाङचउस्थित वेस्ट लेक स्टेट गेस्ट हाउसमा भएको भेटवार्ताका क्रममा राष्ट्रपतिले चीन र नेपाल हिमाल र नदीले जोडिएका तथा पुस्तौँदेखि मित्रवत् सम्बन्ध रहेको स्मरण गरे। ६८ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै दुई देशले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त पालना गरेको पनि सिले बताए। उनले चीन र नेपालले साना ठूला मुलुकबिच समान व्यवहार र विन-विन सहकार्यको उदाहरण प्रस्तुत गरेको पनि बताए।

उनले चीन र नेपाल राष्ट्रिय विकास र समृद्धिको मार्गमा एकर्काका साझेदार भएको बताए। चीनले चीन-नेपाल सम्बन्धलाई निकै महत्त्व दिएको भन्दै राष्ट्रपति सिले नेपालसँग विकास रणनीतिलाई मजबुत बनाउन र सम्बन्धमा बढवा दिन इच्छुक रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
चिनियाँ राष्ट्रपति सिले दुवै पक्षले एकर्काका मुख्य हित र प्रमुख चासोका विषयमा एक अर्कालाई सधैँ बुझ्नुपर्ने र सहयोग गर्नुपर्नेमा जोड दिए। द्विपक्षीय सम्बन्धको राजनीतिक जगलाई निरन्तर मजबुत बनाउनुपर्नेमा उनले जोड दिए। उनले ‘बेल्ट एन्ड रोड’ निर्माणमा चीन-नेपाल सहकार्यले निरन्तर सकारात्मक परिणाम हासिल गरेको बताए।
‘हिमालय वारपार त्रिआयामिक अन्तरसम्बन्ध सञ्जालले आकार लिन थालेको छ। दुवै पक्षबाट पूर्वाधार कनेक्टिभिटी, पारवहन यातायात सहयोग विस्तार भइरहेको छ,’ उनले अगाडि भनेका छन्, ‘नेपाललाई भूपरिवेष्टित मुलुकबाट ‘भू-जडित मुलुक’मा छिटोभन्दा छिटो रूपान्तरण गर्न सहयोग पुर्याउन ध्यान केन्द्रित गर्नुपर्छ।’

चिनियाँ उद्यमीलाई नेपालमा लगानी गर्न र चीनमा नेपालको निर्यात प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने प्रतिविद्धतासमेत राष्ट्रपति सिले जनाएका छन्। उनले नेपालसँग शासनमा अनुभवको आदानप्रदानलाई मजबुत बनाउन र नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग प्रदान गर्न चीन इच्छुक रहेकोसमेत बताए।
‘चीन र नेपालबिच अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा व्यापक साझा चासो छ। चीन नेपालसँगको बहुपक्षीय सहयोगलाई मजबुत बनाउन, दुई देश र विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न र मानव जातिको साझा भविष्यसहितको समुदायको निर्माणलाई बढवा दिन इच्छुक छ,’ उनले भने।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ एक दूरदर्शी विश्व नेता र सम्पूर्ण नेपाली जनताको असल मित्र भएको बताएका थिए।

‘राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले विकास उपलब्धि हासिल गरेको छ जसले विश्वव्यापी ध्यान आकर्षित गरेको छ र निश्चित रूपमा चिनियाँ विशेषता र चिनियाँ राष्ट्रको कायाकल्पसहितको समाजवादको मार्गमा ठूलो उपलब्धि हासिल गर्नेछ,’ उनले भने, ‘नेपाल र चीन एक अर्कालाई बुझ्ने, निर्भर गर्ने र सहयोग गर्ने मित्र र साझेदार हुन्।’
प्रचण्डले महामारीविरुद्ध चीनले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन पनि गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा दृढतापूर्वक अडिग रहेको धारणा दोहोर्याएका छन्।
‘नेपालले कुनै पनि शक्तिलाई चीनको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्ने गतिविधिमा संलग्न हुन नेपालको भूमि प्रयोग गर्न दिने छैन,’ भेटवार्तामा प्रचण्डले प्रतिबद्धता जनाए।

उनले नेपाल ‘बेल्ट एन्ड रोड’को संयुक्त निर्माणमा सक्रिय रूपमा भाग लिनेसमेत प्रतिबद्धता जनाए।
‘नेपाल बीआरआईको संयुक्त निर्माणमा सक्रिय सहभागी हुनेछ र हिमालयपार त्रिआयामिक कनेक्टिभिटी नेटवर्कको निर्माणलाई बढवा दिनेछ, जसले नेपालको आर्थिक विकासलाई व्यापक रूपमा बढवा दिने विश्वास लिएको छु,’ उनले भने।
प्रचण्डले राष्ट्रपति सिले अघि सारेका महत्त्वपूर्ण पहलहरूको शृङ्खलालाई समर्थन गर्ने प्रतिबद्धता पनि जनाए।
यसैबिच प्रधानमन्त्री प्रचण्ड हाङ्चउमा शनिबार साँझ उद्घाटन भएको एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन्।