ती दुई कम्पनी‚ जसको सेयर कारोबार छ नेटवर्थभन्दा निकै कम मूल्यमा, समायोजनमा गर्दैछन् जाेडबल

अन्जना सुवेदी
२०८० असोज ६ गते १४:२१ | Sep 23, 2023
ती दुई कम्पनी‚ जसको सेयर कारोबार छ नेटवर्थभन्दा निकै कम मूल्यमा, समायोजनमा गर्दैछन् जाेडबल


काठमाडौ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये २३३ वटा हाल दोस्रो बजारमा कारोबार योग्य छन्। ती कम्पनीमध्ये अधिकांश कम्पनीको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा माथि छ। केही कम्पनी यस्ता पनि छन् जसको दोस्रो बजारको सेयर मूल्य बुक भ्यालु भन्दा निकै तल छ।

Tata
GBIME

ती कम्पनी हुन् नेपाल ल्युब आयल लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था। यी दुवै कम्पनीको सेयर कारोबार हाल दोस्रो बजारमा नेटवर्थभन्दा निकै कममा भइरहेको छ।

जसका कारण नेपाल ल्युब आयल लिमिटेडका लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज(नेप्से) र कम्पनीमा मूल्य समायोजन गरी वास्तविक मूल्यका आधारमा कारोबार गराउन निवेदन नै दिएका छन्। तर नेटवर्थका आधारमा मूल्य समायोजन गरिएको छैन।

समाज लघुवित्त

समाज लघुवित्तले २०७७ भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ निष्कासन तथा बिक्री गरेको हो। २०७७ असोज ८ गते यो लघुवित्तको २ लाख २८ हजार ५०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भयो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ७२ रुपैयाँदेखि २०६ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको थियो। तर नेप्सेमा सूचीकृत भएपनि स्वस्तिक लघुवित्तसँग मर्जरका कारण लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउन सकेन।

स्वस्तिक लघुवित्तसँग मर्जर प्रक्रिया भंग भएपछि यो लघुवित्तका आधारभूतबाहेक सेयरधनीको सेयर कारोबार गत साउन १ गतेदेखि खुलेको थियो। पहिलो कारोबार प्रतिकित्ता ७२.१० रुपैयाँमा १० कित्ता सेयर कारोबार भएको थियो। यो मूल्य प्रतिसेयर नेटवर्थका आधारमा निकै कम हो।

कारोबार खुलेको केही दिनमै अर्थात साउन १० गते लघुवित्तले ०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा आह्‍वान गर्‍यो। बोनस सेयर प्रस्तावपछि मूल्य समायोजन भएर ६५.५६ रुपैयाँमा झर्‍यो। त्यसपछि कम्पनीको सेयर मूल्य ६४ रुपैयाँसम्म आइपुग्यो।

यस लघुवित्तको अन्तिम कारोबार मूल्य अहिले ७४ रुपैयाँ छ। जुन मूल्य लघुवित्तको हालको प्रतिसेयर नेटवर्थ भन्दा ६७ प्रतिशतले कम हो। लघुवित्तको गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ २२४.३१ रुपैयाँ छ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोर महतोका अनुसार कम्पनीको भ्यालुभन्दा निकै कम मूल्य भएकाले लगानीकर्ताले सेयर बिक्री गरिरहेका छैनन्।

‘हामीले आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार गर्न नेप्सेसँग सम्झौता गरेलगत्तै स्वस्तिक लघुवित्तसँग मर्जरका कारण कारोबार रोक्का भयो। मर्जरमा जान सकेनौं। गत साउनमा कारोबार खुलेपछि एकजना लगानीकर्ताले नेप्सेले तोकेको न्यूनतम ओपनिङ रेञ्जकै मूल्यमा १० कित्ता सेयर बेचिदिनु भयो। मूल्य त्यही रहन गयो’, सीईओ महतोले बिजमाण्डूसँग भने, ‘हामीले सेयरको बारेमा केही थाहा पाएनौं। बोनस सेयर र नगद दिने घोषणापछि मूल्य समायोजन भएर झन तल आइपुग्यो। मूल्य अहिले फेसभ्यालु भन्दा कम छ। मूल्य समायोजन हुन्छ कि भनेर बिक्री प्रबन्धकसँग कुरा गरिरहेका छौँ।’

नेपाल ल्यूब आयल लिमिटेड

नेपाल ल्यूब आयल लिमिटेड चानचुने कम्पनी होइन। उसले १० वर्षदेखि लगानीकर्तालाई मोटो लाभांश वितरण गर्दै आइरहेको छ। चौधरी ग्रुपअन्तर्गतको नेपाल ल्यूब आयल नेप्सेमा सूचीकृत पुरानो कम्पनी हो।

यस कम्पनीको पनि नेप्सेमा ४ लाख ८६ हजार १६३ कित्ता सेयर सूचीकृत छ। तर यस कम्पनीको पनि दोस्रो बजारमा कहिलेकाहिं मात्र सेयर कारोबार हुने गरेको छ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेपाल ल्युब आयल लिमिटेड वित्तीय हिसाबले राम्रो नै छ। तथापि दोस्रो बजारमा कम्पनीले आफ्नो भ्यालु अनुसारको मूल्य पाउन सकेको छैन। यस कम्पनीको गत मंगलबार प्रतिकित्ता २७१ रुपैयाँका दरमा १० कित्ता सेयर कारोबार भएको थियो।

कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपाल ल्यूब आयलको प्रतिसेयर नेटवर्थ ५८३.६५ रुपैयाँ थियो। यस्तै २०७६/०७७ मा ९०३.५८, ०७७/०७८ मा १०८०.८९ र २०७८/०७९ मा ९१६.३१ रुपैयाँ प्रतिसेयर नेटवर्थ थियो। गत आरु्थिक वर्षको विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ७३९.१ रुपैयाँ छ। नेटवर्थका हिसाबले कम्पनी अब्बल छ।

‘जति लगानीर्कतासँग हाम्रो कम्पनीको सेयर छ ती लगानीकर्ताले वास्तविक भ्यालु अनुसारको मूल्य नपाउँदा बेच्न चाहानु भएन। वर्षेनि लाभांश दिइरहेको कम्पनीको सेयर किन बेच्ने भनेर लगानीकर्ताहरुले बेच्नु भइरहेको छैन। त्यसैले कारोबारमा नआउनुका साथै मूल्य घटबढ नभएको हो’, कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईले भने।  

नेप्सेले मूल्य समायोजन गर्न सक्छ ?

कुनै पनि कम्पनीको सेयर मूल्य समायोजन गर्ने मिल्ने व्यवस्था छ। नेप्सेका प्रवक्त मुराहरि पराजुलीले दुई महिनासम्म कुनै कारोबार नभएको खण्डमा नेप्सेले मूल्य समायोजन गर्ने बताए।