क्यानका महानिर्देशक अधिकारीको एउटा निर्णय जसले हेलिकोप्टर कम्पनीको गुम्दैछ दैनिक ६५ लाख

वसन्तराज उप्रेती
२०८० असोज ४ गते १८:१३ | Sep 21, 2023
क्यानका महानिर्देशक अधिकारीको एउटा निर्णय जसले हेलिकोप्टर कम्पनीको गुम्दैछ दैनिक ६५ लाख


काठमाडौं। पर्यटकीय सिजन सुरु भएपछि विदेशी पर्यटक नेपाल आउन थालिसकेका छन्। अमेरिका, युरोप, चीन, जापान लगायत देशका पर्यटक हिमाल आरोहणदेखि ट्रेकिङका लागि धमाधम आउन थालेका हुन्।

Tata
GBIME

खर्च गर्ने पर्यटकले हेलिकोप्टर चार्टर गरेर माउन्टेन फ्लाइट गर्न खोजिरहेका छन्। केहीले विदेशबाटै माउन्टेन फ्लाइटको बुकिङ गर्न चाहेका छन्।

तर, यहाँका टुर तथा ट्राभल एजेन्ट, ट्रेकिङ कम्पनी र एक्सपिडिसन कम्पनीले बुकिङ लिन सकेका छैनन्। उनीहरुले मुलुकभित्र आइसकेका पर्यटकलाई पनि माउन्टेन फ्लाइटको योजना रोकेर अन्य योजना दिइरहेका छन्। यता हेलिकोप्टर कम्पनी भने व्यवसाय नपाएर बसेका छन्।

आर्थिक मन्दीले समग्र व्यवसाय सुस्त रहेका बेला देशभित्रै आउने पर्यटकले खर्च गर्न नपाउने अवस्था किन आयो ? हेलिकोप्टर कम्पनी किन कामविहीन भएर बसेका छन्? यसको सिधा जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जोडिन्छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मनसुनमा हेलिकोप्टर दुर्घटना भएको भन्दै माउन्टेन फ्लाइटदेखि सिलिङ उडानमा प्रतिबन्ध लगाए। मनसुन सकिएको महिना दिन पुग्न लाग्दा पनि अधिकारी आफूखुशी लगाएको प्रतिबन्ध हटाउन तयार छैनन्।

निजी क्षेत्रप्रति अत्यन्तै अनुदार रहेका अधिकारीको सनकले हेलिकोप्टरबाट हुने दैनिक आम्दानी झण्डै ६५ लाख रुपैयाँ गुमिरहेको छ। मुलुकभित्र १० वटा हेलिकोप्टर कम्पनी छन्। यी कम्पनीले यो सिजनमा दैनिक १० वटा माउन्टेन फ्लाइट गर्थे।

कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले माउन्टेन फ्लाइट रोकिँदा कम्तीमा पनि ५० हजार अमेरिकी डलर(६६ लाख रुपैयाँ) गुमिरहेको बताए। ‘सेप्टेम्बर दोस्रो साता माउन्टेन फ्लाइटसँगै ट्रेकिङमा जाने पर्यटकले हेलिकोप्टर माग गर्ने समय हो। प्राधिकरणको नयाँ मापदण्डका कारण माग आएको छैन,’ पाण्डेले बिजमाण्डूसँग भने। सिलिङ उडान समेत रोकिँदा ठूला जलविद्युत आयोजनाको काम समेत प्रभावित भएको छ।

सिम्रिक एयरका महाप्रबन्धक मुरली जोशीले माउन्टेन फ्लाइट लगायतमा लगाइएको प्रतिबन्धले हेलिकोप्टर कम्पनीको व्यापार चौपट भएको बताए। ‘पर्यटकीय सिजन सुरु भएपनि माउन्टेन फ्लाइट सुरु हुन सकेको छैन। अब खुल्ने आशामा छौं’ महाप्रबन्धक जोशीले भने, ‘महानिर्देशकज्यूले छलफल गरेर पुन: खोल्ने अपेक्षा छ।’

उनका अनुसार गोसाईंकुण्डतर्फको उडान समेत हुन सकेन। जोशीले प्रतिबन्धका कारण आफ्नो कम्पनीले गोसाईंकुण्डतर्फ मात्र एक करोड आम्दानी गुमेको बताए। विगतमा हेलिकोप्टर कम्पनीले गोसाईंकुण्डको प्याकेज ल्याउने गरेका थिए।

प्राधिकरणले दुई महिनाअघि सेप्टेम्बरसम्म लागू हुने गरी माउन्टेन फ्लाइट, पुष्पवृष्टि, सिलिङ लगायत उडानमा प्रतिबन्ध लगाएको थियो। त्यति मात्रै होइन अधिकारीले कुनै नयाँ ठाउँमा उडान गर्न हवाइ विभागबाट अनुमति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेका थिए।

बोल्यो कि पोल्यो

प्राधिकरणका महानिर्देशक अधिकारी निजी क्षेत्रप्रति यति अनुदार छन् कि कुनै व्यवसायीले बोल्नेवित्तिकै विभिन्न नीति नियम ल्याएर न्याक्ने काम गर्छन्।

उनी निरकुंश बनेकै कारण प्राधिकरणका कतिपय अव्यवहारिक प्रावधानका बारेमा व्यवसायीले सार्वजनिकरुपमा अभिव्यक्ति दिन छाडेका छन्। ‘राजनीतिक शक्तिका आडमा निजी क्षेत्रप्रति अधिकारी निरकुंश बनेका छन्। व्यापार चौपट हुँदा पनि बोल्न सक्ने कोही छैन्’, एक हवाइ कम्पनीका संचालकले बिजमाण्डूसँग भने, ‘कसैले बोल्नेवित्तिकै केही न केही खोट निकालेर कम्पनीलाई भिक्टिमाइज गरिहाल्छन्।’

ती संचालकका अनुसार पर्यटनमन्त्री सुदन किरातीलाई समेत राजनीतिक घेराबन्दीमा पारेर आफ्नो वशमा पारेपछि अधिकारीमा दम्भ झनै बढेको छ। ‘कुनै कम्पनीको समस्या भए हवाइ ऐन नियमभित्र रहेर कारवाही गर्न सकिन्छ। तर उनी ऐन नियमभन्दा माथि रहेर थर्काउँछन्। कसैले उनले भनेको क्रस गरेमा कारवाही गरिहाल्छन्,’ ती सञ्चालकले भने, ‘उनको मैमत्त बढ्दो क्रममा छ। यसले उड्डयन क्षेत्रलाई तहसनहस बनाउँदैछ।’