
काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारतमा निर्यात गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो।
साउन र भदौमा निर्यात गरिएको बिजुलीको प्रतियुनिट औसत बिक्री दर क्रमश: ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ। दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा हो।
प्राधिकरणले वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। अहिले ६ सय ३२ मेगावाट विद्युत निर्यात भइरहेको छ।
५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट बिजुली महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको बताए। ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न पूर्वाधार सुधारको काम गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, उनले भने।
प्राधिकरणले वर्षायाममा निर्यात गरे पनि हिउँदमा भने देशभित्रको माग धान्न भारतबाट आयात गर्दै आएको छ।