कर संकलनका लागि टास्कफोर्स बनाउँदै भरतपुर महानगर, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने अभियान



बिजमाण्डू
२०८० असोज २ गते १४:४० | Sep 19, 2023
कर संकलनका लागि टास्कफोर्स बनाउँदै भरतपुर महानगर, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने अभियान

चितवन । भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रुपमा अघि बढाएको छ। महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो।

Tata
GBIME
Zonsen

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन उद्देश्यसहित अभियान सुरु गरिएको हो। महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ।

साथै राजस्वको दायरा आउनेलाई स्टिकर प्रदान गरिँदैछ। महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक फरक स्टिकर तयार गरेको छ। व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रंगका स्टिकर टाँसिने उनले बताए।

उनले भने, ‘करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरुको फार्ममा सोही स्टिकर टाँस्ने छौं।’

त्यसपछि टोल-टोलसम्म पुगेर अनुगमन गरिने उनले बताए। अहिले नै वडा र टोल विकास समितिहरुलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ।

महानगरपालिकाले कर संकलनका लागि टास्कफोर्ससमेत बनाउँदै छ। यसले कर संकलनमा सहयोग गर्नेछ। सोही समितिमार्फत अनुगमन समेत गरिने छ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताए।

उनले भने, ‘महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन। कर तिरौँ र विकास गरौँ भन्ने अभियानका साथ हामी अघि बढेका छौं।’

महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उनले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताए। चालु आर्थिक वर्षमा महानगरले एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ। उनले चालु आर्थिक वर्षमा दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए।

गत आर्थिक वर्षमा एक अर्ब २५ करोड रुपैयाँ हाराहारी मात्रै राजस्व संकलन भएको थियो।

अधिकारीले भने, ‘करै नतिरी व्यवसाय गर्छु भन्नु भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन्।’

अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने भन्दै उनले दायरा बढाएर कर संकलन गर्न लागिएको बताए। महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर संकलन अभियानलाई अघि बढाएको छ। महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो।

चालु आर्थिक वर्षमा हालसम्म १२ करोड कर संकलन भएको महानगरले जनाएको छ। कर सकंलनका लागि महानगरपालिकाले आइतबार दैनिक १०० जना लाई मोबाइलमा म्यासेज पनि पठाउन पनि सुरु गरेको छ। यससँगै सिनेमा हल, संचार माध्यमहरु, माइकिङलगायतका माध्यमबाट प्रचारप्रसार भइरहेको छ।

महानगर प्रमुख रेनु दाहालले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिइन्। विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताइन्।

महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ। महानगरमा संकलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ। महानगरभित्र ७४४ वटा टोल विकास संस्था छन्। महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रुपमा अघि बढाएको उनले बताए।

विगतका वर्षहरुमा घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएकामा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ। वडा कार्यालयमार्फत टोलटोलमा प्रचार अभियान अघि बढाइएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उनले बताइन्। उनले विज्ञहरुको सहभागितामा करसम्बन्धी छलफल संचालन गर्न लागिएको पनि बताइन्। रासस